शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टीकापुरमा तीन बालिका बलात्कार प्रकरण : सँगै गएका युवक भन्छन्, ‘हामी पहिले पनि सँगै बसेका थियौँ’

आरोपितलाई हुनसक्छ १७ देखि १९ वर्षको जेल सजाय
बिहीबार, २९ जेठ २०७७, १४ : ०८
बिहीबार, २९ जेठ २०७७

जेठ २६ गते राति (बिहान) २ बजेतिर जिल्ला प्रहरी कार्यालय कैलालीको कन्ट्रोल रुममा एक किशोरीको फोन आयो । ‘सर हामीलाई ५ जना केटाहरुले कुटपीट गर्दै बलात्कार गरे, प्रहरी पठाइदिन पर्यो ।’

धनगढीमा रहेको कन्ट्रोल रुममा रहेका प्रहरीले घटनास्थल कहाँ हो भनेर सोधे । यताबाट फोन गर्ने किशोरीले टीकापुरको रानीकुलास्थित केराबारी भएको बताइन् ।

घटना टीकापुर नगरपालिकामा भएको कारण धनगढीस्थित कन्ट्रोल रुमले टीकापुर प्रहरीलाई सुचना सर्कुलर गर्दै तत्काल घटनास्थलमा जान निर्देशन दियो । डिएसपीको कमाण्डमा रहेको टिकापुर प्रहरी पीडक र पीडित खोज्न घटनास्थल पुग्यो ।

तर प्रहरीलाई अभियुक्त र पीडित खोज्न लामो समय लाग्यो । किनभने प्रहरी घटनास्थल नजिक पुग्दा पीडित किशोरीले फोन उठाइनन् । त्यसपछि लामो प्रयास गरेर प्रहरीले टीकापुर नगरपालिकाका वडा नम्बर–२ मा पर्ने सीतापुरस्थित रानीकुलो किनारमा रहेको केराबारीबाट ४ युवक र ४ किशोरीलाई नियन्त्रण लियो । यद्यपि घटनामा संलग्न भनिएका एक युवक भने फरार भए । अहिले पीडितलाई संरक्षणमा राखिएको छ भने पीडकलाई अनुसन्धानका लागि जिल्ला अदालत कैलालीबाट ७ दिनको म्याद लिइएको छ ।

यस्तो छ घटनाको फेहरिस्त :

टीकापुर नगरपालिका वडा नम्बर १ मा रहेका युवकहरु र वडा नम्बर २ मा रहेका बालिकाहरु (उमेर १४ देखि १५ वर्ष)को माबाइलमा सम्पर्क हुँदै भेटघाट हुन्छ । बालिकाहरुको त्यसभन्दा अगाडि पनि स्थानीय युवा तथा किशोरहरुसँग बाक्लै भेटघाट भएको थियो । नियमित सम्पर्क र भेटघाट भएपछि किशोरकिशोरी र केही स्थानीय युवाहरु पनि नजिकिएका थिए ।

घटनाको केही दिनअघि ती बालिकाहरु स्थानीय केही युवाहरुसँग रात बसी रमाइलो गरेको विषय घटनामा संलग्न भएका केही युवाहरुले थाहा पाए । यस विषयमा जानकारी पाएपछि स्थानीय किशोर तथा युवाहरुले ती बालिका तथा किशोरीहरुलाई ब्ल्याकमेल गर्न थाले । आफूहरुसँग नबसे बेइज्जत गरिदिने धम्कीसमेत दिएको पीडित किशोरीहरुले प्रहरीलाई दिएको बयानमा उल्लेख छ । त्यसपछि ती किशोरी तथा बालिकाहरुको भेटघाट स्थानीय युवा तथा किशोरहरुसँग झनै बाक्लिन थाल्यो ।

राति नै फर्कने युवकको बयान ‘हामी पहिले पनि बसेका थियौँ’

त्यसै क्रममा घटनाको एक दिनअघि अर्थात् जेठ २५ गते पनि स्थानीय ३ जना युवक र ३ जना किशोरीहरु राती ९ बजे घरबाट निस्किए । वडा नम्बर १ मा रहेका युवकहरु ४ किलोमिटर टाढा रहेको बालिका तथा किशोरीको घरभन्दा एक किलोमिटर टाढा पुगे । अनि उनीहरुलाई स्कुटरमा राखेर टीकापुर नगरपालिकाको वडा नम्बर २ मा रहेको सीतापुरस्थित रानीकुलो किनारमा रहेको खेतमा गए ।

त्यहाँ युवक तथा बालिका र किशोरीहरुले चुरोट पिए भने युवकहरुले घरबाट लगेको मदिरा पनि पिए । त्यसपछि उनीहरु करिब ३ घण्टा त्यहीँ ‘रमाइलो’ गरे र त्यस रात घर फर्किए । त्यही रमाइलो भेटघाटमा भोलि फेरि भेट्ने कुरा भयो र बालिकाहरुले थप ‘केटी’ ल्याउने कुरा पनि गरे । तर खुवाउने र रमाइलो गर्ने खर्चचाहिँ केटाहरुले नै गर्नुपर्ने कुरा राखे । त्यसपछि युवकहरु आ–आफ्नो घरमा गए भने किशोरी तथा बालिकाहरुको केही एक किशोरीको घरमा गएर सुते ।

भोलिपल्ट अर्थात् जेठ २६ दिनभर बालिका र युवकहरुको मोबाइलमा कुराकानी भइरह्यो । बेलुका ६ बजे बालिकाहरुले आफूहरु ६ जना ‘केटी’ आउन लागेकाले ६ जना केटाहरु आउन भने । साथै आउँदा चुरोट, मासु र रक्सी पनि लिएर आउन भने ।

यता युवकहरुले थप ३ जना युवकहरु खोजी गरे । बेलुका ९ बजे आफूहरुलाई लिन आउन भनेपछि एक युवकले आफ्नो स्कुटरबाट ती बालिकाहरुलाई २–२ जनाको दरले घटनास्थलमा पुराए । युवकहरु पनि दुई वटा मोटरसाइकलमार्फत् घटनास्थलमा पुगे । तर ‘केटी’हरुले ६ जना बोलाएकामा केटाहरुको सङ्ख्या ८ जना पुग्यो । त्यसपछि दुई जना केटाहरुलाई तत्कालै फिर्ता पठाइयो र ६ जना केटी (बालिका तथा किशोरी) र ६ जना केटा भएर रमाइलो गर्न थाले ।

केटीहरुले चुरोट, रक्सी र मासु मगाएको भएपनि राति भएकाले रक्सी र मासु नपाइएको र चुरोट मात्रै किनेर लगिदिएको घटना भएको दिन भेटघाट गरी चाँडै फर्किएका एक किशोरले रातोपाटीलाई बताए ।  

राति करिब १० बजेदेखि उनीहरुको रमाइलो सुरु भयो । रमाइलो सुरु भएपछि दुई जना किशोरीले थप समय ‘रमाइलो’ गर्न मानेनन् र दुई जना बालिका तथा एक जना किशोर राति करिब १२ बजेको आसपास फिर्ता भए । अब घटनास्थलमा ५ जना युवक तथा ४ जना बालिका र किशोरी बाँकी भए । उनीहरुले साथमा रमाइलो गर्दै थिए ।

तर एकाएक रातको १ देखि २ बजेको आसपास कैलाली प्रहरीको कन्ट्रोल रुममा बलात्कार भएको बारे फोन आएपछि प्रहरी घटनास्थल पुग्यो । लामो समयको मिहेनतपछि प्रहरीले घटनामा संलग्न ४ जना युवकहरुलाई पक्राउ गर्न सफल भयो भने पीडित ४ जना बालिका तथा किशोरीलाई उद्धार गर्यो । प्रहरीले बलात्कारमा संलग्न रहेका ५ मध्ये ४ जना युवकहरुलाई पक्राउ गर्यो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक बिष्टका अनुसार पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ बस्ने वर्ष १८ का सन्दीप ठकुल्ला, वर्ष २१ का दिपक बुढा, वर्ष १९ का डम्बर ठकुल्ला र वर्ष २० का दिपक ठकुल्ला छन् । एक आरोपी भने फरार रहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको बयान, ‘५ युवाले हामी ३ जनालाई पालैपालो बलात्कार गरे’

घटनापछि प्रहरीले उद्धार गरेका १४ र १५ वर्षका ३ जना बालिकाहरुले आफूहरुलाई ५ जना युवकले पालैपालो बलात्कार गरेको आरोप लगाएका छन् । घटनास्थलमा रहेकी अर्की एक बालिकाले भने आफूलाई कसैले केही पनि नगरेको बयान दिएकी छिन् । पीडित बालिकाहरुले आफूहरुलाई पटकपटक बलात्कार गरेको आरोप लगाएका छन् ।

घटनास्थलबाट प्रहरीले केही थान प्रयोग भइसकेको तथा र केही प्रयोग हुन बाँकी रहेको ‘अस्थायी साधन’ पनि बरामद भएको बताएको छ । बालिकाहरुको स्वास्थ्य परीक्षण पनि भइसकेको छ र रिपोर्ट पोजिटिभ आएको छ ।

आरोपितको बयान ‘सहमतिमै यौनसम्पर्क भएको हो, अनाहकमा बलात्कारमा फसाइयो’

यता आरोपित रहेका ५ मध्ये पक्राउ परेका ४ जना युवकहरुले सहमतिमै यौनसम्पर्क भएको तर त्यसलाई बलात्कार भनिएको प्रारम्भिक बयान दिएका छन् ।

टिकापुर प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीमा भएको प्रारम्भिक बयानमा आरोपितहरुले आरोप स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय स्रोतले बताएको छ । आरोपितहरुले प्रस्ताव स्वीकार गर्नेहरुसँग शारीरिक सम्बन्ध राखिएको भएपनि स्वीकार नगर्नेलाई कुनै जोर जबरजस्ती नगरिएको बयान दिएका छिन् । एक आरोपितले प्रारम्भिक बयानमा भनेका छन्, ‘हामीले जबरजस्ती नै गर्ने भए सबैजना (६ जना) नै बलात्कृत हुन्थे होला । हामीले त्यसो गरेका छैनौँ । ज–जसले हुन्छ भने, उनीहरुसँग शारीरिक सम्बन्ध बनाएका हौँ । जसले मानेनन्, उनीहरुलाई हामीले केही पनि गरेका छैनौँ । त्यसकारण यो जबरजस्ती करणी होइन । सहमतिमै भएको शारीरिक सम्बन्ध हो ।’

कानुनी व्यवस्था

टीकापुरको रानीकुलो बलात्कार प्रकरणमा आरोपितहरुले बलात्कार नभइ सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएको भएपनि नेपालको कानुनले भने त्यसलाई करणी नै मान्ने गरेको छ । किनभने पीडित बालिकाहरुको उमेर १८ वर्षभन्दा कम भएकाले सहमतिमै शारीरिक सम्बन्ध कायम राखेको भएपनि त्यसलाई बलात्कार नै मानिन्छ ।

मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १८ मा करणीसम्बन्धि कसुरबारे उल्लेख गरिएको छ । ऐनको दफा २१९ को उपदफा २ मा यस्तो लेखिएको छ ः

‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ ।’

त्यसैगरी ऐनको दफा २१९ को उपदफा ३ मा कैद सजायसम्बन्धि व्यवस्था गरिएको छ । महिला वा बालिकाको शारीरिक वा मानसिक अवस्था तथा उमेरलाई समेत मध्यनजर गरी सजायको निर्धारण गरिएको पाइएको छ । उपदफा ३ मा सजायसम्बन्धी यस्तो व्यवस्था रहेको छ ।

(क) दश वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा बढी उमेरका महिला भए जन्म कैद

(ख) दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए अठार वर्षदेखि बीस वर्षसम्म,

(ग) चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म,

(घ) सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्षसम्म,

(ङ) अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म

टीकापुरको रानीकुलो क्षेत्रमा भएको बलात्कारमा पीडितहरुको उमेर १४ र १५ वर्ष (प्रारम्भिक अनुसन्धानमा) रहेको देखिएकाले सरकारले अभियुक्तहरु माथि १२ देखि १४ वर्षसम्मको कैद सजायको माग दाबी गर्नेछ । तर उक्त घटनामा ५ जना युवकले ३ जना बालिकामाथि बलात्कार गरेकाले उक्त घटनालाई सामुहिक बलात्कारका रुपमा लिँदै थप ५ वर्षको कैद सजायको पनि माग गर्न सकिने छ । ऐनकै दफा २१९ को उपदफा ७ मा सामुहिक बलात्कार भए थप ५ वर्ष कैद सजाय हुने उल्लेख गरिएको छ ।

(७) सामूहिक रुपमा जबरजस्ती करणी गरेमा वा छ महिनाभन्दा बढीको गर्भवती, अशक्त वा अपाङ्ग वा शारीरिक वा मानसिक रुपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जबरजस्ती करणी गरेमा उपदफा (३) मा लेखिएको सजायमा थप पाँच वर्षसम्म कैद सजाय हुनेछ ।

यसरी हेर्दा आरोपितहरुलाई सरकारले कम्तीमा १७ वर्षको दरले कैद सजायको माग गर्न सक्ने देखिएको छ ।

आरोपितका अभिभावक भन्छन्, ‘अस्तीको घटनालाई मात्रै नहेरियोस्’

आरोपितका अभिभावकले भने आफ्ना छोराहरुलाई पीडित भनिएकी बालिकाहरुले नै फसाएको आरोप लगाएका छन् । हाल थुनामा रहेका एक आरोपितका अभिभावकले रातोपाटीसँग भने, ‘हाम्रो कानुन र समाजले बलात्कार पुरुषले मात्रै गर्छ भन्ने सोच राखेको छ । अस्तिको घटना हेर्नुभयो भने बलात्कार केटाले होइन, केटीहरुले गरेका हुन् । हाम्रा छोराहरुलाई ४ किलोमिटर टाढा जंगलमा बोलाएर मोजमस्ती गर्न लगाइएको छ । हाम्रा छोराहरुलाई फसाइएको छ । तर प्रहरीले बलात्कार गरेको भन्दै हाम्रा छोराहरुलाई मात्रै कारवाहीको दायरामा ल्याएको छ, यो अन्यायपूर्ण कुरा हो ।’

उनले अगाडि भने, ‘जो केटीहरु (बालिका) अघिल्लो रात पनि सँगै बस्छन् र पटकपटक युवाहरुसँग रात गुजारेका छन् । रक्सी, मासु र चुरोट, र गाँजा लिएर लिएर आउ भन्छन् र जंगलमा गएर मोजमस्ती गर्छन्, उनीहरु कस्तो हुन् भनेर अनुमान गर्न सकिन्छ । यो घटनालाई अस्तीसँग मात्रै अनुसन्धान गरेर हुँदैन, उनीहरुको पृष्ठभूमि, संलग्नता, पहिलेको घटना आदि सबैलाई हेरेर अनुसन्धान गर्नुपर्छ । अस्तीको घटना पनि गाँजाको तालमा भएको घटना हो, जो गाँजा ती केटीहरु आँफैले ल्याएको भन्ने बुझिएको छ । ती केटीहरु पहिले पनि हाम्रा ठाउँका युवासँग रात बसेको भन्ने आइसकेको छ । उनीहरु सँधैजसो बाहिर रहने र केटाहरुलाई बोलाएर मस्ती गर्ने केटीहरु हुन् । यो कुरा पनि तपाइँहरुले बुझिदिनुपर्छ । दोषी देखिएकाहरुलाई कारवाही गर्ने कुरामा हाम्रो कुनै आपत्ति रहँदैन र आपत्ति जनाउन पनि मिल्दैन । तर पनि आरोपितहरु ११ र १२ पढ्दै रहेकाहरु छन् । उनीहरुको बारेमा पनि ध्यान दिनुपर्छ । नाङ्गो आँखाले जे देखियो, त्यो मात्रै सत्यता होइन ।’

अपराध अपराध नै हो : मोहना अन्सारी, सदस्य राष्ट्रिय मानवअधिकार आयोग

टीकापुर घटनालाई कसरी हेर्ने र आरोपीको अभिभावकको बयानलाई कसरी हेर्ने भनेर हामीले महिला अधिकारकर्मी एवम् राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीलाई सोधेका छौँ । अन्सारीको भनाई यस्तो छ :

मैले सुने अनुसार टीकापुरको रानीकुलोमा भएको घटना विशुद्ध आपराधिक घटना हो र यो सामुहिक बलात्कार नै हो । तीनजना बालिकालाई ५ जना युवकले बलात्कार गरेको घटना यो विशुद्ध आपराधिक घटना हो र यसमा कम सजाय भन्ने कुरा नै हुँदैन । त्यसकारण केटाहरु भर्खरको थियो भनेर उनीहरुको भविष्यको चिन्ता गर्ने कुरा होइन, त्यसलाई मनोवैज्ञानिक तबरबाट हेरिनुपर्छ ।

आरोपीको अभिभावकको कुरा पनि मैले तपाईंबाट सुने । तर त्यो आरोपीलाई बचाउने प्रयत्न वा कम सजाय हुने प्रयास मात्रै हो । हाम्रो समाजमा अहिलेपनि महिलाको चरित्र खराब देखाएर अभियुक्तलाई चोख्याउने प्रयासहरु भएका छन् । अझ यो घटनामा ती बच्चीहरुले हाम्रा छोराहरुलाई बिगारे भन्ने आरोपीको अभिभावकको कथन देखियो । तर आरोपीहरुको उमेर १८ वर्ष कटिसकेको भन्ने करणबाट पनि उनीहरु जवान भइसकेका थिए भन्ने बुझिन्छ ।

जहाँसम्म आरोपीको अभिभावकले ती बालिकाहरुले नै बोलाएर आफ्ना छोराहरु गएको भनेका छन्, त्यसो भए पहिले नै यो कुरा प्रहरीलाई किन नभनेको ? ती बालिकाहरु बिग्रिएका बालिकाहरु रहेछन् भने उनहरुलाई सुधारगृह पठाउन किन नखोजिएको ? अहिले जब आरोप लाग्यो, त्यसपछि मात्रै खराब देखाउने प्रवृत्ति गलत छ । आरोपीले सहमतिमै शारीरिक सम्बन्ध भएको भनेपनि बालबालिकाले दिएको मन्जुरीलाई सहमति भनेर कानुनी कारवाहीबाट बच्न सकिँदैन । त्यसकारण यो सामुहिक बलात्कार नै हो ।

तर एउटा समस्या के छ भने हामीले हाम्रा बालबालिकालाई नैतिक शिक्षा दिन नसकेको कुरा सत्य हो । हामीले सुरुदेखि नै नैतिक शिक्षा भनेपनि त्यो समाजमा कसरी राम्रो देखिने भनेर मात्रै पढायौँ । हामीले हाम्रो शिक्षाको मोडालिटी परिवर्तन गर्न सकेनौँ । तिमीले पढ्नुपर्छ । पढाइ सकिएपछि तिमी व्यापार व्यवसायमा लाग्नुपर्छ, असल काम गर्नुपर्छ भनेर कहिल्यै सिकाएनौँ ।

हाम्रो शिक्षाको अर्को खराब पक्ष भनेको हामीले यौनशिक्षाबारे पनि राम्रोसँग कुरा गर्न सक्ने वातावरण बनाएका छैनौँ । केही केहीको हकमा आमाले छोरीसँग कुराकानी गरे पनि बुवाले छोरासँग यौनसँग सम्बन्धित कुरा गरेको जस्तो मलाई लाग्दैन । युवाहरुले आफ्नो मनको कुरा खुल्लारुपमा राख्न सक्ने अवस्था छैन । अहिले पनि यौनको विषय लुकाइने विषय नै रहेको छ । जसका कारण केही समस्याहरु पक्कै पनि छन् । त्यसकारण यस्ता घटनाहरु घट्नुको साटो बढिरहेका छन् ।

बालबालिकामा हुने हिंसा वा बालिबालिकाबाट हुने हिंसाको पहिलो जिम्मेवार भनेको अभिभावक नै हो  । उनीहरुले नै आफ्ना बालबालिकाको चालचलन, आनीबानी आदिबारे जानकारी राख्नुपर्छ । आफ्ना बालबालिका गलत बाटोमा गइरहेका छन् भने पहिले सम्झाउने र सम्झाउँदा पनि नभएमा सुधारगृहमा पठाउनुपर्छ । समयमै उनीहरुलाई नियन्त्रणमा लिन सकिएन भने पछि स्थिति बिग्रन्छ र सम्हाल्न नै मुस्किल पर्नसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप