शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हवाई माफियाको चंगुलमा पर्यटन मन्त्रालय, उड्नुभन्दा ३ घण्टाअघि व्यापारिक उडानको स्वीकृति

नेपाल एयरलाइन्सको आम्दानी २ करोड ८३ लाख, ट्राभल एजेन्सीको नाफा १ करोड १० लाख
मङ्गलबार, २७ जेठ २०७७, २३ : ०२
मङ्गलबार, २७ जेठ २०७७

आफ्नै निर्णयलाई लत्याउँदै मंगलबार नेपाल नागरिक उड्ययन प्राधिकरणले निजी कम्पनीलाई चार्टर फ्लाइटका लागि अनुमति दिएको छ । अनुमति पनि उडान हुने भनिएको निर्धारित समयभन्दा तीन घण्टा पहिले मात्रै दिइएको हो । 

पर्यटन मन्त्रालयको दवावमा सोसाइटी ट्राभल्सले जापानको नारिता उड्ने गरी चार्टर गरेको नेपाल एयरलाइन्सको बोइङ बिमानलाई उडानको तीन घण्टाअघि मात्रै अनुमति दिइएको हो ।  

लकडाउनका कारण नेपालमा फसेका विदेशी नागरिक तथा विदेश जान लागेका नेपाली नागरिकहरुले चर्को मूल्य तिरेर हवाई यात्रा गर्नुपरेको गुनासो आएपछि शनिबार प्राधिकरणले एउटा सूचना निकाल्दै व्यावसायिक उडानका लागि अनुमति नदिने जनाएको थियो ।


सूचनाअनुसार सम्बन्धित दूतावासले उद्धार गरी लैजानेबाहेक अन्य यात्रुहरुलाई लैजान नपाउने र व्यवसायिक चार्टर उडान गर्न नपाउने भन्दै कुनैपनि ट्राभल्स एजेन्सीलाई यात्रुको टिकट बुकिङ नगर्न प्राधिकरणले सूचित गरेको थियो । 

आफ्नो निर्णय लत्याउँदै प्राधिकरणले सो उडानलाई साँझ ६ बजेतिरमात्रै उडान अनुमति दिइएको हो ।  उडान भने राति ९ बजेका लागि तय गरेर टिकट बुकिङ गराइएको थियो । 

यद्यपि यात्रुहरु भने उड्ने निश्चित नहुँदै विमानस्थल पुगिसकेका थिए । उनीहरुले पहिले नै टिकट बुकिङ गरेको भएपनि टिकट पनि इस्यु भएको थिएन । किनभने टिकट इस्यु हुन उडान अनुमति चाहिन्छ । तर मंगलबार काठमाडौंबाट नारितामा भएको उडानको अनुमति नभएपनि ट्राभल एजेन्सीले यात्रुसँग पैसा लिएर डमी टिकट दिएको थियो । त्यही आधारमा यात्रुहरु विमानस्थलसम्म पुगेका थिए ।

नियमअनुसार उडान अनुमति नभइ टिकट दिन नमिल्ने भएको कारण साँझ ६ बजेसम्म अर्थात् उडान हुनुभन्दा ३ घण्टा अगाडिसम्म पनि यात्रुहरुलाई टिकट नदिइएको हो ।  जबकी करिब उनीहरुको २ साता पहिले नै टिकट बुकिङ भएको थियो । उडानमा अन्योलता भएपछि यात्रुहरुले विमानस्थलमा नाराबाजी नै गरेका थिए ।

सेटिङ भगिरथको, डमी भने सोसाइटी ट्राभल !
मंगलबार जापानको नारिताका लागि गरिएको चार्टर उडान पनि ट्राभल व्यवसायी भगिरथ सापकोटाकै सेटिङमा भएको स्रोतले जनाएको छ । भगिरथ सापकोटा कृषिमन्त्री घनश्याम भुसाल तथा पर्यटनमन्त्री योगेश भट्टराई निकट मानिन्छन् । भगिरथ सञ्चालक रहेको गोटाली ट्राभल्समा घनश्याम भुसालकी श्रीमतीको समेत शेयर स्वामित्व रहेको छ । 

आफ्नै निकटको सेटिङ भएपछि पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दबाव दिएर मंगलबारको उडान गराएको स्रोतको दावी छ । उनकै सेटिङमा आइतबार पनि जापानमा उडान भएको थियो । 

यसअघि नै कमर्सियल फ्लाइटका लागि उडान अनुमति नदिने भनेर सूचना निकालिसकेको भन्दै फेरि उडान अनुमति दिए समस्या हुने भएकाले सुरुमा यो उडानका लागि अनुमति दिन प्राधिकरणले आनाकानी गरेको थियो । 
तर मन्त्री भट्टराईले ठाडो निर्देशन दिएपछि प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बाध्य भएर मंगलबार साँझ ६ बजे कार्यालय समय सकिएपछि उडान अनुमति दिएका थिए ।

 नेपाल एअरलाइन्सले उडान अनुमति पाएपछि मात्रै विमानस्थल पुगेका यात्रुहरु भित्र प्रवेश गर्न पाएका थिए । त्यसपछि मात्रै विमानस्थलमा भएको नाराबाजी रोकिएको एक यात्रुले रातोपाटीलाई बताए । 

 अनुमति दिनुको कारणबारे सोध्दा प्राधिकरणले सो चार्टर फ्लाइट जापानी दूतावासको आग्रहमा गरिएको दावी गरेको छ।  प्राधिकरणका महानिर्देशक पोखरेलले सो उडानमा व्यवसायिक नभएर जापानी दूतावासको आग्रहमा भएको मंगलबार अपरान्ह रातोपाटीसँगको कुराकानीमा बताएका थिए । बेलुका थप कुराकानी गर्न उनलाई सम्पर्क गर्दा भने सम्पर्कमा आएनन् । 

मंगलबार नारिताको उडानका लागि अनुमति पाएको भनिएको सोसाइटी ट्राभलले उडान निश्चित नै नभई यात्रुहरुसँग पैसा लिएको तर सुनिश्चितता गर्न नसकेको भन्दै प्रहरीमा उजुरीसमेत परेको थियो । यात्रुहरुले नाराबाजी गर्दै सोसाइटी ट्राभलका सञ्चालकलाई कारवाही गर्न माग गरेका थिए । 

बढी भाडा लिएको भन्दै फिर्ता गराउन माग
यसअघि नेपाल एयरलाइन्सले नेपाल सरकारलाई कुन देशको कुन विमानस्थलका लागि कति भाडा लिन उचित हुने भन्दै भाडासूची पठाएको थियो । जसअन्तर्गत जापानको नारिता उडानका लागि निगमले एक हजार डलरको भाडा तोकेर पठाएको थियो । 

तर ट्राभल एजेन्सीले १ हजार ३ सय ५० डलर अर्थात् करिब १ लाख ६५ हजारसम्म शुल्क लिएको छ । 

ट्राभल एजेन्सीले बढी रकम लिएर यात्रुलाई ठगी गरेको भन्दै  गुनासो बढेपछि जापानी दूतावासले नै बढी लिएको शुल्क फिर्ता गर्न भनेको थियो । बढी भाडाको विषयमा एक यात्रुले पर्यटन मन्त्रालयमा पनि गुनासो गरेको कारण उडान अनुमतिका विषयमा थप तनाव भएको थियो । 

तर यात्रुहरु विमानस्थल पुगिसकेको र त्यसले झनै समस्या ल्याउने भन्दै यात्रुसँग बढी लिएको रकम बराबरको रकम विभिन्न निकायलाई दिने गरी उडान अनुमति लिएको स्रोतको भनाइ छ । स्रोतले भन्यो, ‘मंगलबारको एउटै फ्लाइटको अनुमतिका लागि ट्राभल एजेन्सीले ४० लाख भन्दा बढी खर्च गरेको छ । त्यसका लागि नेपाल एयरलाइन्सका कर्मचारीदेखि प्राधिकरण र मन्त्रालयसम्म कमिसन पुगेको छ ।’

एउटै उडानबाट ट्राभल एजेन्सीलाई १ करोड १० लाख नाफा !

सोसाइटी ट्राभलले मंगलबार जापानको नारिताका लागि गरेको एउटै उडानबाट १ करोडभन्दा बढी रकम फाइदा गरेको छ । काठमाडौंबाट जापानको नारिता विमानस्थलको उडान समय ६ घण्टा ४५ मिनेट हो । दुइतर्फी उडानका लागि कुल १३ घण्टा ३० मिनेट खर्च हुन्छ । 

निगमले चार्टर फ्लाइटका लागि हाल १८ हजार १ सय डलर प्रतिघण्टाका दरले रकम लिने गरेको छ । १३ घण्टा ३० मिनेट उडान भर्दा निगमले उक्त उडानबाट २ लाख ४४ हजार ३ सय ५० डलर अर्थात् मंगलबार डलरको बिनिमयदरअनुसार १ सय २२ रुपैयाँका दरले हिसाब गर्दा २ करोड ९८ लाख १० हजार ७ सय नेपाली रुपैयाँ हुन आउँछ । तर निगमले चार्टर गरेको ट्राभल एजेन्सीलाई ५ प्रतिशत कमिशन दिनुपर्छ । कमिसनवापत १४ लाख ९० हजार ५ सय ३५ रुपैयाँ दिनुपर्दा निगमलाई २ करोड ८३ लाख २० हजार १ सय ६५ रुपैयाँ मात्रै आउँछ । 

तर ट्राभल एजेन्सीले भने मंगलबारको एउटै उडानबाट १ करोड रुपैयाँभन्दा बढी कमाएको छ । मंगलबार जापानको नारिता जानका लागि २ सय ५८ यात्रुले ट्राभल एजेन्सीलाई पैसा तिरेका छन् । जसमध्ये अधिकांश यात्रुले १ हजार २ सय १० अमेरिकी डलर अर्थात् १ लाख ४७ हजार ५ सय रुपैयाँ तिरेका छन् । बिजनेश क्लासमा जाने केही यात्रुले १ हजार ३ सय ५० डलरसम्म पनि तिरेका छन् । औसतमा सबै यात्रुले १ हजार २ सय ५० अमेरिकी डलर तिरेका छन् । 

२ सय ५८ जना यात्रुले औसतमा १ हजार २ सय ५० अमेरिकी डलर अर्थात् १ लाख ५२ हजार ५ सय रुपैयाँ तिरेका छन् । २ सय ५८ यात्रुबाट आउने सबै रकम जोड्दा ३ करोड ९३ लाख ४५ हजार रुपैयाँ हुन आउँछ । 

अब सोसाइटी ट्राभलले यात्रुहरुसँग लिएको कुल भाडावापतको रकम अर्थात् ३ करोड ९३ लाख ४५ हजारबाट निगमलाई दिनुपर्ने २ करोड ९८ लाख १० हजार ७ सय रुपैयाँ घटाउँदा उसलाई सोझै ९५ लाख ३४ हजार ३ सय रुपैयाँ फाइदा हुन्छ । त्यसबाहेक ट्राभल एजेन्सीले कमिसनवापत १४ लाख ९० हजार ५ सय ३५ रुपैयाँ निगमबाट फिर्ता पाउँछ । यी दुबै रकम जोड्दा १ करोड १० लाख २४ हजार ८ सय ३५ रुपैयाँ कमाएको हुन्छ । यसबाहेक टिकट बिक्री गरेवापत आएटाले दिने कमिसन पनि जोड्दा ट्राभल एजेन्सीले पाउने रकम अझै बढी हुन्छ ।

यस्तै विमान चढ्नेबेलामा समेत यात्रुहरुसँग अतिरिक्त १०० डलर माग भएको समेत एक यात्रुले रातोपाटीलाई बताए । यसरी अन्तिम समयमा रकम मागिएपछि अधिकांश यात्रुले सो रकम तिरेको र कतिपयले भने अनुरोध गरेर कम पनि तिरेको ति यात्रुको भनाइ छ । 

यसैबीच उडानअनुमतिको लफडा, विमानस्थलमा नाराबाजीलगायतका कारणले ९ बजेका लागि तय भएको उडान एक घण्टा डिले भइ राति १० बजे नारितका लागि उडेको विमानस्थल स्रोतले जनाएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप