शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा क्षेत्रका ५ सय स्थानमा बिओपी स्थापना गर्दैछौं : गृहमन्त्री थापा

मङ्गलबार, २७ जेठ २०७७, १९ : ३६
मङ्गलबार, २७ जेठ २०७७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा ५ सय स्थानमा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गर्ने लक्ष्यअनुरुप कामलाई तिब्रता दिइएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत शीर्षकहरुमा भएको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री थापाले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट निर्माण गर्ने कार्यलाई तिब्रता दिइएको बताएका हुन् ।

सीमा सुरक्षा व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बढाउन लागिएको जानकारी दिँदै आगामी आर्थिक वर्षमा ५९ वटा बिओपीको स्थायी भौतिक संरचना निर्माण गर्न बजेट विनियोजन भएको बताए । उनले भने– ‘सशत्र प्रहरी बलको बोर्डर आउटपोस्ट ५ सय स्थानमा स्थापना गरीने लक्ष्य राखिएको छ । यस अन्तर्गत प्रथम चरणमा २ सय २१ वटा बोर्डर आउटपोस्ट स्थापना कार्य अगाडि बढिरहेको छ । आजका मिति सम्म दार्चुलाको छाङरुङ र हुम्लाको हिल्चा समेत गरी १ सय २९ स्थानमा बोर्डर आउटपोस्टको स्थापना भइसकेको छ । आगामी आर्थिक वर्षमा ५९ वटा बोर्डर आउटपोस्टको स्थायी भौतिक संरचना निर्माण गर्न बजेट विनियोजन गरिएको छ ।’

कोभिड–१९ को प्रवेश रोकथामका लागि १२ सय १३ स्थानमा बिओपी विस्तार गरिएको जानकारी समेत उनले दिए । उनले सीमा सुरक्षाका लािग नेपाल र छिमेकी मुलुकका अधिकारीहरुबीच विभिन्न समयमा नियमित रुपमा समन्वय गर्ने र संयुक्त बैठक बस्ने गरिएको जानकारी दिए ।

यस्तै, लागूऔषध दुर्व्यवसन नियन्त्रणका यसको आपूर्ति नियन्त्रण तथा दुव्र्यसन घटाउने सम्बन्धि सचेतना अभिवृद्धिमार्फत समुदायलाई नै अग्रसर गराउन बजेटमा व्यवस्था गरिएको उनले बताए । उनले गाँजा उत्पादन सम्बन्धमा सरकारले आफ्नो नीतिलाई यथावत राखेको स्पस्ट पारे ।

विपद व्यवस्थापनको प्रभावकारी सञ्चालन व्यवस्थापन समन्वय तथा सहजीकरण गर्नका लागि विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन गठन भई कार्य प्रारम्भ भएको बताए । उनले मन्त्रालय, प्राधिकरण, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलबाट विपद व्यवस्थापनलाई प्रभावकारी बनाउने विभिन्न कार्यक्रम समावेश गरिएको जानकारी दिए ।

प्रहरी कर्मचारीलाई दक्ष र व्यवसायिक बनाउन क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको, सुरक्षा व्यवस्थालाई सक्षम, सुदृढ र विश्वसनीय बनाउन र संख्या निक्र्यौल गर्न संगठन एवम् व्यवस्थापन सर्वेक्षणको कार्य अन्तिम चरणमा पुगेको जानकारी गराए । यस्तै, आगामी आर्थिक वर्षमा ५५ वटा प्रहरी कार्यालय निर्माण गर्न बजेट विनियोजन भएको समेत उनले बताए ।

समाजमा हुने हत्या हिंसा, चोरी तस्करी, ठगी अपहरण, बलत्कार, जातिय वा महिला हिंसा जस्ता अपराधिक कार्यप्रति शून्य सहिष्णुताको नीति अवलम्बन गरीएको र अपराधमा संलग्न जो कोहीलाई कानूनी कारबाही हुने स्पस्ट पारे । सामाजिक अपराधमा संलग्न कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालय र मातहतका अधिकारीहरुलाई निर्देशन दिइएको र राजनीतिक वा आर्थिक प्रभावमा परी कर्तव्य पालनमा कमजोरी भएको पाइए कारबाही गरिने सम्ब्न्धमा समेत स्पष्ट पारे ।

लिपुलेकको छाङरुमा भर्खरै सशस्त्र प्रहरी बल पुगेको र भौतिक संरचना निर्माण गर्ने कार्य छिटै नै सुरु जानकारी दिए । त्यस्तै नेपाल प्रहरीलाई संघ र प्रदेश प्रहरीमा सामायोजन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी समेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप