शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको बढ्दो जोखिम र उत्पन्न सवालहरु

सोमबार, २६ जेठ २०७७, १३ : ३७
सोमबार, २६ जेठ २०७७

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी रूपमा अप्रत्याशित रूपले फैलिँदै गर्दा नेपाल पनि यसको प्रभाव तीव्र रूपमा देखापर्न थालेको छ । नेपालमा अहिले आएर दिन प्रतिदिन सङ्क्रमणको दर बढ्दै गएको छ । पछिल्लो समयमा भाइरस सङ्क्रमणको दर दैनिक रूपमा दुई सयको हाराहारी देखिएको छ भने १३ जनाले ज्यान गुमाइसकेका छन् । परीक्षणको दायरा फरकिलो हुने क्रमसँगै सङ्क्रमितहरुको सङ्ख्या अझै बढ्दै जाने अवस्था देखिएको छ । यद्यपि अहिलेसम्म पनि कोभिड–१९ को उपचार हुने खास औषधि पत्ता लागिसकेको छैन । भाइसरबाट बच्नका लागि पूर्वसावधानीका उपाय अपनाउने बाहेक अर्को कुनै उपचारात्मक विधि देखिएको छैन । जसले गर्दा जनमानसमा अन्योल सिर्जना गरिदिएको छ । तथापि कतिपय देशहरुले भाइरसको सङ्क्रमणबाट बच्नका लागि सावधानीको भरपर्दो तरिका र विधिहरु भने अपनाउन थालिसकेका छन् । चीन, दक्षिण कोरिया, जापान लगायतका देशहरुले– यस्तो अपनाएकोमा केही हदसम्म सफलता मिलेको आभाष पनि दिइरहेका छन् । 

नेपालको सन्दर्भमा अहिलेसम्मको अवस्थालाई विश्लेषण गर्दा कारोना भाइरसको सङ्क्रमण रोकिने कुनै सम्भावना र सङ्केत देखिएको छैन । छिमेकी देश भारतमा भाइरस सङ्क्रमणको दर व्यापक रूपमा फैलँदै जानु र नेपालमा यसको रोकथामका लागि भरपर्दो आधार तयार नहुनुको कारणले यहाँ जोखिमको डर बढ्दै गएको हो । जसले गर्दा आगामी दिन नेपालका लागि थप कष्टकर र भयावह हुने परिस्थिति निर्माण भइरहेको छ । त्यस्तो प्रकारको विपत्ति र भयावहको अवस्था भाइरस–सङ्क्रमणको विस्तारको कारणले मात्र होइन सम्बन्धित बहुपक्षीय सन्दर्भहरुको बदलाबका कारणले पनि सिर्जना हुँदैछ । त्यसको सामना नेपालका लागि निकै नै चुनौतीपूर्ण हुने पूर्वानुमान भइरहेको छ । तथापि अझै पनि चुनौती व्यवस्थापनको खोजी गर्ने र त्यसका लागि भरपर्दो तथा विश्वसनीय आधार निर्माण गर्नेतर्फ गतिलो प्रयत्न भएको पाइँदैन । परिस्थितिको गम्भीरतालाई आत्मसात गर्ने, जिम्मेवारी बोध गर्ने र इमानदारिताका साथ दायित्व निर्वाह गर्ने भूमिकामा सम्बन्धित पक्षहरु चुक्दै गएका छन् ।

आर्थिक विकासका दृष्टिकोणले पछाडि रहेका नेपालजस्ता देशहरुमा भौतिक साधन स्रोतको अभाव हुनु स्वाभाविकै हो । तथापि ज्ञान, चेतना, सोच र मानवीय भावनाका दृष्टिकोणले भने यस्ता देशहरु पनि समृद्ध नै छन । पूर्वसावधानीका तरिका र विधि अवलम्बन गर्न कुनै सवालमा कुनै समस्या छैन । केवल– समस्या भाइरस सङ्क्रमणको यो महामारीलाई कसरी लिने, यसको ट्याकल कुन तरिकाले गर्ने र उचित व्यवस्थापन कसरी गर्ने भन्नेमा रहेको छ । अनि समस्यालाई समस्याका रूपमा बोध नगर्नु र आत्मसात नगर्नुमा रहेको छ । तसर्थ अझै पनि परिस्थिति नियन्त्रण बाहिर गइसकेको छैन । जिम्मेवारीपूर्वक सावधानीका तरिका र विधिहरुको निर्माण तथा तिनको पूरापूर कार्यान्वयनको आवश्यकता रहेको छ । यसमा सरकार र सम्बन्धित सरोकारवाला निकाय सबैभन्दा बढी जिम्मेवार हुनु पर्दछ । यसैगरी प्रतिपक्षमा रहेका राजनीतिक दल, सामाजिक सङ्घसंस्था र आमजनता पनि खास भूमिकामा जिम्मेवार हुनै पर्ने देखिन्छ । किनभने आफ्नो ज्यानको सुरक्षाको पहिलो संरक्षक भनेको स्वयं आफू नै हो ।

यतिबेला रोजगारीका लागि भारत गएका लाखौँ नेपालीहरु स्वदेश फिर्ता आएका छन् । भारतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको र त्यहाँ उनीहरुले गर्दै आएको रोजगारी पनि गुमेको कारणले गर्दा बाध्यतावसहरु उनीहरु स्वदेश फर्किनु परेको हो । यो सङ्ख्या अझै बढ्दै जाने अवस्था छ । यसैगरी रोजगारी र अध्ययनका लागि तेस्रो मुलुकमा गएका युवाहरु पनि फर्किने क्रम सुरु भएको छ । स्वदेश फर्कन चाहने यस्ता युवालाई सरकारकै पहलमा फिर्ता ल्याइएको छ । यसरी तेस्रो मुलुकबाट नेपाल आउनेहरुको सङ्ख्या पनि ५०औँ हजार हुने निश्चित छ । भाइरस सङ्क्रमणले प्रभावित भएका देशबाट आएका हुनाले उहाँहरुमा पनि सङ्क्रमण छ कि भनेर संशय राख्नु एउटा पक्ष होला । तर अहिले  विदेशबाट स्वदेश फर्कने मानिसहरु नै कोरोना हो भनेजस्तो गरी व्यवहार भइरहेको छ । जुन किमार्थ मानवीय दृष्टिकोणले उचित छैन । तथापि नेपालका लागि छिमेकी देश भारत तथा अन्य मुलुकबाट फिर्ता आएका मानिसहरुको व्यवस्थापन गर्नु समस्याकै विषय भएको छ । एकातिर आवश्यक मात्रामा प्रयाप्त क्वारेन्टिनको अभाव रहेको छ भने अर्कोतिर भएका क्वारेन्टिनहरुमा न्यूनतम स्तरको सुविधा पनि उपलब्ध छैन । जसले गर्दा ती क्वारेन्टिनहरु नै कोरोना भाइरस सङ्क्रमणको कारक बन्ने हो कि भन्ने चिन्ता बढ्दै गएको छ । यस्तो अवस्थामा स्वदेश फिर्ता आएका व्यक्तिहरुलाई शीघ्र पीसीआर परीक्षण गरी आफ्नै घरमा अनुशासित भएर बस्ने कार्यविधि तयार गर्नेतर्फ विचार गर्नुपर्ने बेला आइसकेको छ ।

अबका  केही दिन नेपालका लागि निकै चुनौतीपूर्ण देखिएको छ । यस्तो गम्भीरताको सङ्केत विश्व स्वास्थ्य सङ्गठनले विगतदेखि नै गर्दै आएको हो । अहिले पनि विश्व स्वास्थ्य सङ्गठनले नेपालमा आउन सक्ने सम्भावित जोखिमको जनाउ दिइरहेको छ । लकडाउनलाई खुकुलो बनाउने र आवश्यकताभन्दा बढीको सङ्ख्यामा सवारी पास वितरण गर्ने कार्य सङ्क्रमणको दरलाई बढाउने काममा सहयोगी भूमिका खेलेको छ । पास लिएका सवारी साधनहरुको अनुगमन नगरिँदा तिनीहरुबाट यात्रु ओसारपसार गर्ने कार्य पनि भइरहेकै छन । यसर्थ यस्ता भुलचुकपूर्ण कार्यमा आत्मसमीक्षा हुन जरुरी छ । अबका दिनमा आउनसक्ने चुनौतीपूर्ण परिस्थितिको सामना विद्यमान तदर्थवादी पाराले गर्न सकिँदैन । पूर्वतयारीका उपयुक्त विधि र तरिकाहरुको तर्जुमा गरी होम क्वारेन्टिनमा जानु पर्ने अवस्थाको बारेमा पनि सोच्नु पर्दछ । यद्यपि, होम क्वारेन्टिनको अवधारणामा जाँदा व्यक्ति स्वयंले कडा अनुशासनको पालना गर्नुपर्ने हुन्छ । बाहिरबाट आएका व्यक्तिहरुले अनुशासनलाई कडा रूपमा पालना नगर्ने हो भने सङ्क्रमण समुदाय तहमा विस्तार हुन जान्छ । आगामी दिनमा यो पक्षलाई पनि उत्तिकै गम्भीरताका साथ ख्याल गर्नुपर्दछ । जसरी अहिले छिमेकी देश भारतमा अनुशासन पालनामा गरिएको खुकुलोपनाले गर्दा सङ्क्रमणको दर बढ्दै गएको छ– त्यो नियति नेपालमा पनि नहोला भन्न सकिँदैन ।

अहिलेको प्राथमिकता भनेको मानव जीवनको रक्षा नै हो । हुन त मानव जीवनको रक्षालाई प्रधानमन्त्री केपी शर्मा ओलीले– वर्तमान सरकारको पहिलो कार्यभार हुने भनेर अवधारणागत प्रष्टता दिइसक्नु भएको छ । यद्यपि यसको व्यवहारगत कार्यान्वयनमा भने काफी समस्या देखापरेका छन् । एकातिर कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि क्रियाशील हुने सरकारी निकाय र संयन्त्रहरुका बीच समन्वयको अभाव देखिएको छ भने अर्कोतिर स्रोत र साधनको समुचित उपयोग गर्ने सवालमा पनि समस्या देखिएको छ । कतिपय अवस्थामा स्रोत साधनको दुरुपयोग समेत भएका समाचारहरु आएका छन् । स्वास्थ्यसम्बन्धी सामग्री, उपकरण र परीक्षणका सामग्रीहरुको वितरण तथा व्यवस्थापनमा आवश्यकता अनुसारको सङ्गति मिल्न सकेको पाइँदैन । जसले गर्दा क्वारेन्टिनबाट घर फर्किएपछि पनि कोभिड–१९ को कारणले मृत्यु हुनुपरेको समाचार आइरहेका छन् । यस्ता घटना हुनु व्यवस्थापकीय दृष्टिकोणबाट विश्लेषण गर्दा कसैका लागि पनि वाञ्छनीय कुरो होइन । यस्ता भुल र त्रुटिहरुलाई सम्बन्धित निकायले सुधार गर्नैपर्ने हुन्छ ।

नेपालमा कोरोना सङ्क्रमणको सवाल सँगसँगै आर्थिक, सामाजिक, शैक्षिक र मनोवैज्ञानिक क्षेत्रमा पनि गम्भीर सवालहरु उठ्न थालेका छन् । गत चैत महिनादेखि देशभर गरिएको लकडाउनले गर्दा सहरी क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । उद्योग, धन्दा र कलकारखाना बन्द हुँदा नयाँ बस्तुको उत्पादन हुन सकेको छैन । श्रम बजार सङ्कुचित हुन पुगको छ । अनि पर्यटन, निर्माण र सेवा क्षेत्रहरु ठप्प हुन पुगेका छन । बन्द व्यापार, वित्तीय कारोबार र लगानी क्षेत्र पनि प्रभावित भएको छ । उत्पादनशील यस्ता क्षेत्रहरु कहिलेदेखि सुचारु हुने हो कुनै टुङ्गो छैन । सुचारु भइहाले पनि उल्लेखित क्षेत्रहरु पूर्ण रूपमा तङ्ग्रिन र तिनले परिणाम दिन कम्तीमा पनि एक वर्षको समयावधि लाग्ने निश्चित छ । तथापि नेपालको सन्दर्भमा अहिलेसम्म लकडाउनको खास प्रभाव सहरी क्षेत्रमा परेको छ । ग्रामीण क्षेत्रमा हुने कृषि, पशुपालन, दुग्ध चरिचरण, साना उद्यम लगायतका कार्यहरु नियमित रूपमा भइरहेका छन । यसलाई प्रवद्र्धन गर्ने सवालमा सरकारले अलिकति पनि कञ्जुस्याइँ गर्नु हुँदैन । 

यसबीचमा लकडाउनको कारणले जनताको स्वास्थ्य क्षेत्रमा काफी समस्या देखिँदै गएको छ । सबैको ध्यान कोरोना भाइरसको सङ्क्रमणतर्फ केन्द्रित हुँदैगर्दा महिला, बालबालिका, ज्येष्ठ नागरिक र रोगी र असाहयहरु मानिसहरुमा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखिन थालिसकेको छ । यसैगरी मनोवैज्ञानिक समस्याका रूपमा डिप्रेसन र हाइपरटेनसन लगायतका मनोरोग देखापर्न थालेका छन् । यसले विद्यमान अवस्था थप बहुपक्षीय समस्याको विजारोपण गरिरहेको छ । यस्ता समस्याको कारण र निदानको उपायका बारेमा सूक्ष्म ढङ्गले खोजी र अनुसन्धान हुन जरुरी छ । तर सरकारका अनुसन्धानसँग सम्बन्धित निकायहरुले यसबीचमा उल्लेखित विषयहरुमा अनुसन्धान गर्ने तत्परता देखाएको पाइँदैन । जसले गर्दा आगामी दिनमा कोरोना भाइरसको सङ्क्रमणको अतिरिक्त अनेकन आर्थिक, सामाजिक र मनोवैज्ञानिक समस्या एकसाथ देखापर्ने चिन्ता उत्पन्न गराएको छ ।

यतिबेला सरकार अत्यन्त गम्भीर हुन आवश्यक छ । देशमा आर्थिक र भौतिक स्रोत साधनको उपलब्धता न्यून छ भन्ने तथ्यलाई हृदयङ्गम गरी सीमित स्रोत र साधनका बीचमा पनि कुल व्यवस्थापनको सीप प्रदर्शन गर्नुपर्ने बेला आएको छ । वास्तवमा नेतृत्वको परीक्षण हुने समय भनेको यस्तै विपत्ति र चुनौतीको घडीमा हो । समस्याहरुलाई समयमै उचित ढङ्गले व्यवस्थापन गर्न सक्यो भने नेतृत्व सफल हुन्छ अन्यथा समस्याहरुले नेतृत्वलाई परिबन्दमा पारी विस्थापनको किनारामा धकेल्छ । तथापि यो समय भनेको सरकारको मात्रै मुख ताक्ने  समय होइन, जनता आफै पनि संयमित भई जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने बेला हो ।  

(लेखक त्रिभुवन विश्वविद्यालय पत्रकारिता विषयका उप–प्राध्यापक हुन् ।)          

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

देवराज अर्याल
देवराज अर्याल
लेखकबाट थप