बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेकपाको घोषणापत्र स्मरण गराउँदै विद्युतीय सवारीमा बढाइएको करविरुद्ध खनियो काँग्रेस

आइतबार, २५ जेठ २०७७, १३ : १५
आइतबार, २५ जेठ २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विद्युतीय सवारीमा बढाइएको कर प्रतिगमनकारी निर्णय भएको बताएको छ । काँग्रेसले आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर सरकारले विद्युतीय सवारीमा कर बढाएर वातावरणीय हिसाबले विनासक र प्रतिगमनकारी निर्णय लिएको बताएको छ । 

विद्युतीय सवारी साधन खरिदमा सरकारले ११३ प्रतिशत भन्सार उठाउने नीतिप्रति काँग्रेसका तर्फबाट सांसद देवेन्द्रराज कँडेलले भने, 'यसरी विद्युतीय सवारीमा कर लगाउँदा ठूलो रकम भारत जाने हुन्छ । भोलि भारतले पेट्रोलियम पदार्थ रोकेमा पनि हामीलाई घाटा हुन्छ ।'

सांसद कँडेलले सरकारको नेतृत्वलाई आफ्नो पार्टीको घोषणापत्र र प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्ष पहिले साझा यातायत उद्घाटन गर्ने क्रममा गरेको प्रतिबद्धता स्मरण गराएका थिए । कँडेलले भने, 'सरकारको विद्युतीय सवारीमा कर बढाउने निर्णय जनताप्रति जवाफदेही नरहेको र भोटको लागि भाषणको राजनीतिक बेइमानी गरेको देखिन्छ ।'


नेपालले पेट्रोलियम पदार्थ खरिद गर्दा वर्षेनी अर्बौं रकम बाहिरिने कँडेलको भनाइ छ । उनले भने, 'विद्युतीय सवारी खरिद गर्दा एकपटक मात्रै रकम बाहिरिन्छ भने पेट्रोलियम पदार्थ खरिद गर्दा वर्षैपिच्चे अर्बौं विदेशी मुद्रा बाहिरिन्छ । अर्कोतिर नेपालमा उत्पादन हुने विद्युत् प्रयोगमा आउँदैन ।'

संयुक्त राष्ट्रसंघमा नेपालले वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता सरकारी निर्णयले उल्लंघन हुने र कार्बन उत्सर्जन घटाएवापत नेपालले दाबी गर्ने र पाउने अर्बौं रकम गुमाउने अवस्था रहेको कँडेलको भनाइ छ ।

सांसद कडेलले सरकारको उच्च तहबाट विद्युतीय सवारीमा कर बढ्ने सूचना चुहाएर भन्सारबाट बजेट प्रस्तुत हुनु केही दिनअघि मात्रै १२० सवारी छुटाइएको आरोप पनि लगाए । 

यस्तै काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सत्तारुढ दल नेकपाको घोषणा पत्रको विश्वसनियतामाथि प्रश्न उठाए । 

उनले भने, 'पार्टीको घोषणापत्रमाथि विश्वास गर्ने कि नगर्ने ? घोषणापत्रमा आगामी तीन वर्षमा काठमाडौं उपत्यकामा विद्युतीय सवारी साधन मात्रै संचालन गर्ने भनिएको छ । अहिले तेस्रो वर्षमा विद्युतिय सवारीलाई निषेध गरेर काठमाडौं उपत्यका होइन, नेपालबाटै त्यसलाई बहिर्गमन गर्ने ? यो काम अनुचित छ ।'

विद्युतिय गाडीमा कर बढाउन अर्थमन्त्रीले आफ्नो स्वार्थ हेरेको काँग्रेस सांसद गगन थापाको आरोप छ।

‘यसमा जालझेल छलकपट त छँदै छ। त्यसको पनि हिसाब किताब गर्छौँ । नेकपा बोल्नु पर्दैन ? घोषणा गर्नुपर्दैन? स्वास्थ्यमन्त्रालय, उर्जा मन्त्रालय बोल्नु पर्दैन ? हामी बोल्छौँ। बोल्छौँ मात्रै हैन हिसाब किताब पनि गर्छौँ। 

अर्थमन्त्रीको सानो स्वार्थका लागि स्वस्थ्य वातावरणका लागि यत्रो लामो पाइला रोक्ने ? थापाको प्रश्न छ । थापाले उक्त निर्णय फिर्ता लिएर सच्याइउन आग्रह गरे ।  यस्तै काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अर्थमन्त्रीले विद्युतीय गाडी र इन्डक्सन चुलोमा कर बढाएर व्यापारीको हितमा काम गरेको आरोप लगाए । 

‘विद्युतीय गाडीमा, इन्डक्सन चुलोमा कर लगाएर कसको हित गरिराख्नु भएको छ, देशको हित गर्नु भएको छ कि कुनै व्यक्तिको ? यो सच्याएर देशको हितमा पाइला चाल्न अर्थमन्त्रीज्यूलाई म आग्रह गर्दछु,’उनले भने  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप