शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल

आइतबार, २५ जेठ २०७७, १० : ३७
आइतबार, २५ जेठ २०७७

स्थानीय प्रशासनको अनुमतिले बजारमा रहेका पसल खुला भएपछि देशकै आर्थिक राजधानी वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको छ । 

बन्दाबन्दीलाई खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालय पर्साले जोरबिजोर पद्धतिमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पसल सञ्चालन गर्न अनुमति दिएपछि वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको हो ।

समाजिक दूरीलाई कायम राख्दै कपडा, बिजुली, इलेक्ट्रोनिक्स, खाद्यान्नलगायतका पसल सञ्चालनमा आएपछि वीरगञ्जका व्यापारी र उपभोक्ता दुवै खुशी भएका छन् । 

कोरोना भाइरसबाट सङ्क्रमित फेला पर्ने क्रम जिल्लामा कम भएपछि लकडाउनलाई खुकुलो बनाउँदै जोरबिजोर पद्धतिमा पसल सञ्चालन गर्न अनुमति प्रदान गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । 

उनले कोरोनाका कारण अवरुद्ध भएको आर्थिक गतिविधि बजार खुलेसँग विस्तारै सहज हँुदै जाने विश्वास व्यक्त गरे । उनले सर्वाजनिक तथा निजी सवारीका साधन सञ्चालनमा रोक लगाउँदै मास्कको प्रयोगलाई पर्सामा अनिवार्य नै राखिएको बताए ।

सहज परिस्थितिमा सरसामान खरिदका लागि बारा, पर्सा, रौतहट, सर्लाही र मकवानपुरबाट समेत उपभोक्ता वीरगञ्ज बजारमा आउने गरेका छन् । जिल्लामा रहेको औषधि, किराना तथा दूध, तरकारीलगायतका उपाभोग्य वस्तुको पसल निर्वाधरूपमा सञ्चालन गर्न स्थानीय प्रशासनले अनुमति दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप