केन्द्रीय संस्करण
स्मृति

आँखामा हाले पनि नबिझाउने एउटा मान्छे

person explore access_timeजेठ २५, २०७७ chat_bubble_outline0

आँखामा हाले पनि नबिझाउने मान्छे, मैले चिनेजानेका मध्ये यो उपमा लागू हुने व्यक्ति हुनुहुन्थ्यो– यदुप्रसाद भट्ट ।

यदुप्रसाद भट्ट अर्थात् बल्लभको नाति, राष्ट्रिय पञ्चायत सदस्य, वाणिज्य सहायक मन्त्री, गोरखा घ्याम्पेसालको एकीकृत विकास परिकल्पनाकार र अभियन्ता, गैर आवासीय नेपाली सङ्घ (एनआरएन)का निवर्तमान अध्यक्ष भवन भट्टका पिता । तर, उहाँ यी सबै परिचयभन्दा माथि एउटा सज्जन व्यक्तिका रूपमा चिनिनु हुनुहुन्थ्यो ।

बीपी कोइरालाले 'मोदिआइन' उपन्यासमा भन्नुभएको छ नि, 'ठुलो मान्छे हैन, असल मान्छे बन ।' यदुप्रसाद भट्ट खासै ठुलो मान्छे हुनुहुन्नथ्यो तर साँच्चै असल मान्छे भने हुनुहुन्थ्यो । मेरो सौभाग्य, त्यस्तो असल मानिस मेरै आफन्त हुनुहुन्थ्यो ।    

यदुप्रसाद भट्ट (२००१/०२/२५- २०७५/०८/०९) सँग मेरो नाता जेरी जेलिएको जस्तै थियो । उहाँकी आमा र मेरो मामाघरको हजुरबुबाकी आमा सहोदर दिदीबहिनी, गोरखा नाम्जुङको लामिछानेका छोरी । त्यो नाताले उहाँ मेरो हजुरबुबा । गोरखा देउरालीमा दिएको हाम्री फुपू दिदीकी नातिनी (छोरीकी छोरी) उहाँले विवाह गर्नु भएको, त्यो नाताले उहाँ मेरा भान्जी ज्वाइँ । उहाँको माइला भाइले हाम्रा ठूलोबाकी छोरी विवाह गर्नु भएको, त्यो नाताले उहाँ मेरो भिनाजु । अनि उहाँ जेठा हरिप्रसाद ‘बल्लभ'को नाति ( कुलप्रसादको छोरा), मेरी श्रीमती कान्छा पशुपतिकी नातिनी (लक्ष्मणकी छोरी), यो नाताले उहाँ मेरो जेठान ।

तर, उहाँलाई यी कुनै नाता नलगाई, कन्नापछाडी यदु दाइ र सन्मुख हुँदा दाइ मात्र भन्थेँ म । उहाँको कान्छा भाइ, भव भट्ट मेरा साथी । त्यही भएर उहाँलाई दाइ भन्न मलाई सहज भएको थियो । उहाँ भने कहिले ज्वाइँ र कहिले बाबु भन्नुहुन्थ्यो मलाई । 

बीपी कोइरालाले 'मोदिआइन' उपन्यासमा भन्नुभएको छ नि, 'ठुलो मान्छे हैन, असल मान्छे बन ।' यदुप्रसाद भट्ट खासै ठुलो मान्छे हुनुहुन्नथ्यो तर साँच्चै असल मान्छे भने हुनुहुन्थ्यो । मेरो सौभाग्य, त्यस्तो असल मानिस मेरै आफन्त हुनुहुन्थ्यो ।    


×××

'बाबु, केही दिन मेरो चुनाव प्रचारमा हिँडिदिन प-यो !’

राष्ट्रिय पञ्चायत सदस्यका लागि २०३८ साल बैशाखमा हुन लागेको चुनावको केही साताअघि काठमाडौँ क्षेत्रपाटीमा अपर्झट भेटिनु भएका यदु दाइको यो अप्रत्यासित आग्रह सुन्दा सुरुमा म छाँगाबाट खसेसरह भएँ ।

पञ्चायती शासकद्वारा २०३७ सालको जनमत सङ्ग्रहमा अनेक तिकडम गरेर बहुदलले हारेको र निर्दलले जितेको नतिजा सुनाइए पनि, त्यसपछि राष्ट्रिय पञ्चायत सदस्य बालिग मताधिकारका आधारमा निर्वाचित हुने संवैधानिक व्यवस्था मिलाइएको थियो । र, यदु दाइ पनि गोरखाबाट रापंस उम्मेदवार बन्नु भएको थियो ।

प्रतिबन्धित नेपाली काँग्रेसको भ्रातृसङ्गठन नेविसङ्घमा सक्रिय थिएँ म । काँग्रेसले चुनाव बहिष्कारको नीति लिएको थियो । उहाँ भने मलाई रापंसको चुनावमा सघाउन भन्दै हुनुहुन्थ्यो । फेरि, म धादिङको मान्छे, उहाँ गोरखामा उम्मेदवार ।

मैले आग्रह टार्ने उद्देश्यले भनेँ, ‘दाइ, हजुर हाम्रा नातेदार एकै हुन्, म प्रचारमा हिँडेर कसको भोट थपिएला र ?’


प्रतिबन्धित नेपाली काँग्रेसको भ्रातृसङ्गठन नेविसङ्घमा सक्रिय थिएँ म । काँग्रेसले चुनाव बहिष्कारको नीति लिएको थियो । उहाँ भने मलाई रापंसको चुनावमा सघाउन भन्दै हुनुहुन्थ्यो । फेरि, म धादिङको मान्छे, उहाँ गोरखामा उम्मेदवार । मैले आग्रह टार्ने उद्देश्यले भनेँ, ‘दाइ, हजुर हाम्रा नातेदार एकै हुन्, म प्रचारमा हिँडेर कसको भोट थपिएला र ?’


पञ्चहरूको दुःख के भने उनीहरू सबैको सिद्धान्त एउटै हुन्थ्यो, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ !’ दलीय व्यवस्थामा जस्तो सङ्गठित कार्यकर्ता पनि उनीहरूसँग हुँदैन थिए । आफन्त, नातागोता, इष्टमित्र, चिनेजानेका वा गुन लगाएका मानिसहरूको भरमा चुनावी अभियान सञ्चालन गर्नुपर्थ्यो ।

यदु दाइले भन्नुभयो, ‘छेपेटार नयाँसाँघु पारिपट्टिको लामोगह्रा, मिर्कोट र गाईखुर भेगमा बाबुका गाउँतिरका तामाङहरू ठूलो सङ्ख्यामा बसाइँ सरेर बसोबास गरेका छन्, ती ठाउँमा प्रचारमा गइदिन प-यो ।’

मैले सुनेबुझेसम्म, यदु दाइ एउटा सम्पन्न किसान परिवारको सदस्य हुनुहुन्थ्यो । विद्यार्थी जीवनमा प्रजातान्त्रिक खेमामा सक्रिय। तर, गाउँठाउँको विकास हेतु पञ्चायती राजनीतिमा होमिनु भएको थियो । परोपकारी राजनीति गर्ने र मनकारीसमेत भएकाले त्यतिखेर उहाँ नराम्ररी ऋणमा डुब्नु भएको थियो ।

लखपति साहु भनेर कहलिनु भएका मसेलका चन्द्रप्रसाद भट्टको लगनतगन व्यापक थियो त्यो भेगमा । भनिन्थ्यो, उहाँको लगानीमध्ये करिब एकतिहाइ रकमको ऋण यदु दाइकै थाप्लोमा छ ।

मैले मानवीय दृष्टिले सोचेँ,

यदु दाइले यो चुनाव हार्नुभयो भने आर्थिक रूपले झनै बर्बाद हुनुहुनेछ । चुनाव जित्नु भयो भने चाहिँ ‘ऋण कि घीन'बाट छुटकारा पाउनु हुनेछ । यदु दाइले चुनाव जित्नै पर्ने स्थिति छ र जित्ने स्थिति पनि छ । तर, चुनाव हो एक भोटले पनि हार जित हुन सक्छ । त्यसैले २/४ भोट मात्रै थप्नका लागि पनि म चुनाव प्रचारमा गइदिनु उपयुक्त हुन्छ ।   

मैले राजनीतिक रूपले पनि सोचेँ,

काँग्रेसले चुनाव बहिष्कार गर्ने मात्र भनेको छ,  सक्रिय बहिष्कार त भनेको छैन । चुनाव भएपछि कसैनकसैले जितिहाल्छ भने यदु दाइजस्तो विकासप्रेमी र समाजसेवीलाई जिताउन खटिनु नै ठीक हुन्छ । पञ्चायती प्रणाली 'हिलो' नै भए पनि यदु दाइ त हिलोमा फुलेका कमल पो हुन् !

मैले यदु दाइलाई ती ठाउँमा प्रचारमा जाने वचन दिएँ ।


काँग्रेसले चुनाव बहिष्कार गर्ने मात्र भनेको छ,  सक्रिय बहिष्कार त भनेको छैन । चुनाव भएपछि कसैनकसैले जितिहाल्छ भने यदु दाइजस्तो विकासप्रेमी र समाजसेवीलाई जिताउन खटिनु नै ठीक हुन्छ । पञ्चायती प्रणाली 'हिलो' नै भए पनि यदु दाइ त हिलोमा फुलेका कमल पो हुन् ! मैले यदु दाइलाई ती ठाउँमा प्रचारमा जाने वचन दिएँ ।


भवजी र म ती ठाउँमा प्रचार सामग्रीसहित पुग्यौँ । भूगोल भिन्न थियो तर उनीहरुसँग बस्दा बोल्दा मलाई आफ्नै घर गाउँमा पुगेजस्तै रमाइलो लाग्यो । आफ्नै गाउँठाउँको र तामाङ भाषासमेत काम चलाउ बोल्ने मानिस आफ्ना घरआगनमा पाउँदा उनीहरू पनि रमाए । उनीहरूले ‘डालीमा बसेको चरी'मा भोट हाल्ने वचन सहर्ष दिए हामीलाई ।

निर्वाचनका बेला म धादिङ पुगिसकेको थिएँ । भवजीका अनुसार मत परिणाम आउँदा उनीहरू वचनका पक्का ठहरिएछन् । उनीहरूको समेत मतले विजयी हुँदा यदु दाइ त झन् खुशी नहुने कुरै भएन ।

×××

सूर्यबहादुर थापा नेतृत्वको सरकारमा यदु दाइ वाणिज्य सहायक मन्त्री बनाइनु भयो ।

२०४० साल असार पहिलो साताको कुरा हो, म काठमाडौँबाट खाली ट्रकमा चढेर सिमरा जितपुर जाँदै थिएँ । कुरिनटार कटेपछि, मुग्लिन नपुग्दै पहिरोले बाटो अवरुद्ध भएको रहेछ । ट्रक रोकियो । कत्रो पहिरो रहेछ भनी म हेर्न गएँ । अलि अगाडि यदु दाइ र भवजी भेट हुनुभयो । भोलिपल्ट हुने पञ्चभेलाका लागि पोखरा जान लाग्नु भएका उहाँहरूको कार पनि पहिरोले रोकिएको रहेछ ।

मुग्लिनबाट आएको डोजरले पहिरो पन्छाएपछि भवजीले मलाई पनि पोखरा जाउँ भन्नुभयो । मैले आनाकानी गर्दा यदु दाइले भन्नुभयो, ‘जाउँ बाबु ! पञ्चभेलामा विश्वबन्धु थापा पनि आउँछन्, उनको पछिल्लो विचार सुन्न हुन्छ ।’

यदु दाइले त्यसो भन्नुको कारण थियो । विश्वबन्धु थापा घडीको पेन्डुलमजस्तै भएका थिए, काँग्रेस र पञ्चायतमा ओहोर दोहोर गरेर ।

विश्वबन्धु काँग्रेसमा महामन्त्री थिए । तर, राजा महेन्द्रद्वारा २०१७ साल पुसमा सैन्यबलमा गरिएको बीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकार अपदस्त र संसदीय व्यवस्था खारेजीमा प्रमुख मतियार बने उनी । राजाको अध्यक्षतामा गठित सरकारमा मन्त्री पनि भए ।

आठ वर्ष काराबासपछि आठै वर्ष भारत प्रवासमा रहेका बीपी कोइराला २०३३ साल पुस १६ मा राष्ट्रिय एकता र मेलमिलाप नीति लिएर स्वदेश फर्किएपछि भने बिस्तारै प्रजातान्त्रिक कित्तातिरै फर्किए । २०३६ सालमा बहुदल र निर्दलकाबीच जनमत सङ्ग्रह हुने घोषणापश्चात बहुदलको पक्षमा खुलेआम लागे । जनमत सङ्ग्रहमा निर्दलले 'जिते' पछि त प्रतिबन्धित नेपाली काँग्रेसमै प्रवेश गरे ।

कोइराला परिवारकै सान्निध्यमा हुर्केबढेका थिए विश्वबन्धु । उनी बीपीलाई सान्दाइ भन्थे । २०३९ सालमा बीपी कोइरालाको निधनपश्चात उनलाई काँग्रेसमा टिकीखान नदिएकाले केही समयअघि मात्र फेरि पञ्चायत प्रवेश गरेका थिए । त्यसैले विश्वबन्धुको पछिल्लो स्थितिको भाषण रोचक हुनसक्ने यदु दाइको ठम्याइ थियो ।

ट्रक ड्राइभरलाई त्यहाँसम्मको भाडा दिएर, उहाँहरूकै झण्डावाल कारमा म पनि पोखरा गएँ ।


राम्रा वक्ता हुन् विश्वबन्धु, त्यो दिन पनि काँग्रेसविरुद्ध आक्रामक भाषण गरे । उनले ‘सान्दाइ'को निधनपश्चात काँग्रेसमा ‘साना चित्त’भएका मानिसहरूको प्रभुत्व रहेकाले त्यस्तो नेतृत्वबाट संसदीय प्रजातन्त्र पुनर्स्थापना सम्भव नहुने भएकाले ‘दलविहीन पञ्चायतकै माध्यमबाट प्रजातन्त्र जगेर्ना गर्न'का लागि 'आफ्नै घर' पञ्चायतमै फर्किएको प्रष्ट्याए ।


राम्रा वक्ता हुन् विश्वबन्धु, त्यो दिन पनि काँग्रेसविरुद्ध आक्रामक भाषण गरे । उनले ‘सान्दाइ'को निधनपश्चात काँग्रेसमा ‘साना चित्त’भएका मानिसहरूको प्रभुत्व रहेकाले त्यस्तो नेतृत्वबाट संसदीय प्रजातन्त्र पुनर्स्थापना सम्भव नहुने भएकाले ‘दलविहीन पञ्चायतकै माध्यमबाट प्रजातन्त्र जगेर्ना गर्न'का लागि 'आफ्नै घर' पञ्चायतमै फर्किएको प्रष्ट्याए ।

काँग्रेसको ‘न सङ्घर्ष न समर्पण’नीतिका कारण म पनि सन्तुष्ट त थिइनँ । तर, विश्वबन्धुको प्रतिगमनकारी कदम र तर्क दुवै मलाई उपयुक्त लागेन । काँग्रेस नेताहरू मन परेन भनेर निर्दलीय पञ्चायत पस्नुलाई कसरी उपयुक्त भन्नु ?

पोखरामा हामी ड्रागन होटेलमा बसेका थियौँ । पञ्चभेला सकिएपछि, साँझमा यदु दाइलाई भेट्न समकक्षी गणेश शेरचन आफ्ना केही साथी सहयोगीका साथ आए । कास्कीबाटै रापंसमा निर्वाचित सहायकमन्त्री शेरचन खानपिनका शौखिन र रसिक स्वभावका रहेछन् । ‘आँखा मिर्मिर’हुँदै गएपछि उनी आफू नाच्न र अरुलाई नचाउन तल्लीन भए।

यो दाजुको मिर्मिरे आँखा, मिर्मिरे आँखा 
कस्तो मेरो बिगा-यो दिमाख, नरोउ मायालु

सुवि शाहद्वारा रचित अनि पाण्डब सुनुवार र साथीहरुले गाएको कालजयी यो लोक गीत त्यतिखेर निकै लोकप्रिय थियो ।

[यो गीत करिब डेढ दशकपछि, गण्डकी क्षेत्रका गायक/गायिका प्रविन गुरुङ र बीमाकुमारी दुराले फेरि गाउँदा पनि वाहवाही बटुलेका थिए । यस्तो अजम्बरी गीत गाउने गायक प्रविन गुरुङले भने अल्पायु(३८ बर्ष)मै मृत्युवरण गर्नु प-यो । गीत रेकर्ड भएको दुइ बर्ष बित्दा नबित्दै, २०५७ साल साउन २२ गते राती नारायणहिटी राजदरबार नजिकै तत्कालिन शाहज्यादा पारस शाहको गाडीको ठक्करबाट गायक प्रविन गुरुङ मारिए । उफ् ! नेपाली सांगीतिक क्षेत्रले अत्यन्तै प्रतिभाशाली श्रष्टा प्रविन गुरुङ गुमाएको पनि दुई दशक हुनै लागेछ ।]

उक्त गीतमा यी पङ्क्ति पनि छन्ः

लालुपाते फुलेर लाल भयो, फुलेर लाल भयो  
आज मेरो जोगीको चाल भयो, नरोउ मायालु

क्यासेट प्लेयरमा बजेका अनेक गीतका साथै यो गीतमा पनि स्वरमा स्वर मिलाउँदै र नाच्दै सहायकमन्त्री शेरचन र उनका साथी सहयोगीहरू त्यहाँ राति अबेरसम्म रहे ।

भोलिपल्ट बिहान हामी फर्कियौँ । म मुग्लिनमा ओर्लें, यदु दाइहरू काठमाडौँतर्फ लाग्नु भयो ।

त्यसको तीन साता बित्दा नबित्दै, सिमरा जितपुरमा चैते धान थन्क्याउने चटारोकै बीच मैले रेडियोबाट सुनेँ, प्रधानमन्त्री सूर्यबहादुर थापाविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव पारित भयो । अर्थात् यदु दाइ, गणेश शेरचनहरू पनि मन्त्री रहेनन् ।

थाहा छैन, त्यो घटनापछि गणेश शेरचन ‘जोगीको चाल'मा पुगे कि पुगेनन् ? तर, यदु दाइलाई मन्त्री पद जाँदा पनि खासै फरक परेन, पदमा हुँदा पनि उहाँ सन्त जस्तै जो हुनुहुन्थ्यो ।

×××

हो, राजनीतिक रूपमा राष्ट्रिय पञ्चायतको त्यो कार्यकाल नै यदु दाइको राजनीतिक उत्कर्ष रह्यो । तर, गोरखाको र खासगरी घ्याम्पेसालको समग्र विकास कार्यमा तथा सामाजिक दायित्व निर्वाह गर्ने मामिलामा कहिल्यै पछि पर्नु भएन उहाँ ।

गोरखा तान्द्राङको कुभिन्डेस्थित ठूलो घरमा होस् कि काठमाडौँ पकनाजोल वा कालधारा वा गोल्कुपाखाको डेरामा, पुल्चोकस्थित मन्त्री क्वाटरमा होस् कि बुद्धनगर वा सीतापाइलाको घरमा यदु दाइले मान्छेप्रति गर्ने सदव्यवहारमा कहिल्यै कुनै भिन्नता थिएन ।

आफ्नो गाउँठाउँमा अग्रजहरुबाट 'कुमार' नामले समेत पुकारिने यदु दाइको मन सुकुमार थियो । साह्रै शालीन र सज्जन । दुःखमा पनि र सुखमा पनि, पदमा हुँदा पनि र नहुँदा पनि परोपकार जीवन चरित्र रह्यो यदु दाइको । मान्छेहरूलाई समाजले साना र ठूला भनेर पक्षपातपूर्ण विभेद गरे पनि उहाँ सबैप्रति समान मानवीय व्यवहार गर्नुहुन्थ्यो । धनी होस् कि गरिब, यदु दाइले गर्ने व्यवहारमा फरक थिएन, उहाँको छाती फराक थियो ।


आफ्नो गाउँठाउँमा अग्रजहरुबाट 'कुमार' नामले समेत पुकारिने यदु दाइको मन सुकुमार थियो । साह्रै शालीन र सज्जन । दुःखमा पनि र सुखमा पनि, पदमा हुँदा पनि र नहुँदा पनि परोपकार जीवन चरित्र रह्यो यदु दाइको । मान्छेहरूलाई समाजले साना र ठूला भनेर पक्षपातपूर्ण विभेद गरे पनि उहाँ सबैप्रति समान मानवीय व्यवहार गर्नुहुन्थ्यो । धनी होस् कि गरिब, यदु दाइले गर्ने व्यवहारमा फरक थिएन, उहाँको छाती फराक थियो ।


नातागोताको एउटै जन्जालभित्रका भएकाले दुःखसुखका कार्यमा उहाँसँग बरोबर भेट भइरहन्थ्यो । मेरो मोटरसाइकल / गाडी केही नभएकाले आर्यघाटबाट होस् वा विवाह-ब्रतबन्ध जस्ता सुखद कार्यक्रमबाट फर्कदा उहाँ मलाई घरसम्मै छोडिदिन आउनु हुन्थ्यो । म मात्र हैन, उहाँको गाडीमा अटेजतिले त्यस्तो 'लिफ्ट' पाउँथे ।

परार सालको वर्षायाममा मेरी सासूआमा खानाखुट्नै छोडेर थलिनु भयो । यदु दाइ स्वयम् पनि बिमारीले गल्नु भएको थियो । तैपनि उहाँ आफ्नी ठूलीआमा भेट्न पटक पटक आउनु भयो । र, कतिसम्म भने, उहाँका लागि छोराछोरीले जापानबाट पठाइ दिएका ‘टनिक' समेत ठूलीआमालाई खुवाउन ल्याउनु हुन्थ्यो ।

मेरी सासूआमा असोज १० गते बित्नु भयो । त्यसलगत्तै यदु दाइ उपचारार्थ जापान जानु भयो । तर, उपचार सफल भएन । २०७५ मङ्सिर ९ मा उहाँको देहावसान भएकाले यदु दाइको पार्थिव शरीर मात्र नेपाल फर्काइयो ।

सामान्यतया दिवङ्गत आत्माले मोक्ष प्राप्त गरोस् भन्ने कामनासहित प्रार्थना गर्ने हाम्रो चलन छ । तर, पशुपति आर्यघाटमा बिशाल भीडका बीच यदु दाइको पार्थिव शरीरमा फूल चढाउँदा मैले भने भिन्दै प्रार्थना गरेको थिएँ:

‘हे परमेश्वर, यदु दाइजस्ता सज्जनको आत्मालाई पुनर्जन्म देऊ, यो संसारमा असल मान्छे सधैँ सधैँ चाहिन्छ !’

र, आज उहाँको सतहत्तरऔ जन्मजयन्ति, म फेरि पनि त्यही प्रार्थना दोहो-याउँछु:

‘हे परमेश्वर, यदु दाइजस्ता सज्जनको आत्मालाई पुनर्जन्म देऊ, यो संसारमा असल मान्छे सधैँ सधैँ चाहिन्छ !’

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.