शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लगातार आठौँ लिग उपाधिबाट बायर्न दुई जीत टाढा

आइतबार, २५ जेठ २०७७, ०६ : ३८
आइतबार, २५ जेठ २०७७

लगातार आठौँ लिग उपाधिबाट साबिक विजेता बायर्न म्युनिख मात्र दुई जीत टाढा रहेको छ । शनिबार राति पुनरागमन गर्दै बायर लेभरक्युजनलाई हराएपछि अब बुन्डेस लिगामा बाँकी रहेका चार खेलमध्ये दुई खेल जिते बायर्न लिग च्याम्पियन बन्ने छ ।

सबै प्रतियोगितामा पछिल्ला २१ खेलमा मात्र एक खेलमा पराजित बायर्न खेलको नवौँ मिनेटमा नै अर्जेन्टिनी खेलाडी अलारियोको गोलमा पछि परेको थियो ।

तर, त्यसपछि भने बायर्नले म्युनिखले गोलको वर्षा नै गर्यो । पहिलो हाफमा किंग्सले कोमान, लियोन गोर्टेज्का र सर्जी ग्नाब्रीले एक–एक गोल गर्दै बायर्नलाई अग्रता दिलाए ।

दोस्रो हाफमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै लिगमा सिजनको ३० औँ गोल पूरा गरे । खेलको अन्त्यतिर युवा खेलाडी फ्लोरियान विर्टजले सान्तवना गोल फर्काए पनि बायर्नले ४–२ ले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो । १७ वर्ष ३४ दिनका उनी लिगका सबैभन्दा कम उमेरका गोलकर्ता पनि बनेका छन् ।

३० खेलबाट बायर्नको ७० अंक रहेको छ भने दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डको ६३ अंक रहेको छ ।

शनिबार नै भएको खेलमा डर्टमन्डले हेरेथा बर्लिनमाथि १–० को संघर्षपूर्ण जीत निकाल्दै बायर्नमाथि झिनो दबाब कायम राखेको छ । डर्टमन्टको जीतमा एमरे च्यानले खेलको ५७ औँ मिनेटमा निर्णायक गोल गरे ।

अन्य खेलमा तेस्रो स्थानमा रहेको आरबी लेइपजीग र एससी पाडेरबोर्नले १–१ को बराबरी खेले । लेइपजीगको ५९ अंक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप