बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस सांसद सञ्जय गौतम- ‘पर्यटन उद्योग कोमामा गयो, लकडाउनको समयको कर छुट गराऔं’ (भिडियो)

शनिबार, २४ जेठ २०७७, १९ : ४४
शनिबार, २४ जेठ २०७७

काठमाडौं । नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले पर्यटन उद्योगहरुको लकडाउन समयको कर छुट गर्न माग गरेका छन् ।  शनिवार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमाथि आफ्नो धारणा राख्ने क्रममा सांसद गौतमले कोरोना संक्रमणपछि पर्यटन उद्योगमा कोमामा गएकोले यसलाई पूनर्जिवित गर्न कर छुटको माग गरेको बताए ।  समृद्धिको मूल आधार पर्यटन पनि रहेको बताउँदै उनले मुलुकमा पर्यटन उद्योगमा १५ खर्बभन्दा बढी लगानी भएको बताए । 

७ लाख मानिसलाई प्रत्यक्ष रोजगारी दिएको, ५ लाख भन्दा बढीले अप्रत्यक्ष रुपमा रोजगारी पाएको पर्यटन उद्योग आज कोमामा गएको उल्लेख गरे ।  उनले भने–‘आज होटलहरु, ट्राभल एजेन्सीहरु, एयरलाइन्सहरु, ट्रेकिङ एजेन्सीहरु कोमामा गइसकेको परिस्थिति छ । त्यसलाई कसरी पुनर्जीवन दिने, ती उद्योगहरुलाई कसरी सुरक्षा दिने भन्ने कुरा यो बजेटमा पाउँदिन । यो बेलामा त उनीहरुलाई कसरी पुनर्जीवन दिने भन्नेबारेमा सोच्नुपथ्र्यो । तर सरकार के गर्छ, एकहप्ताभित्र कर तिर भनेर उर्दी जारी गर्छ । कसरी कर तिर्छ, कसरी ब्याज तिर्छ ? अहिले सर्वोच्च अदालतले समेत यो लकडाउनको अवधीलाई शून्य समय मान्नुपर्छ भनिरहेका बेला सरकारले गोलमटोल कुरा गरेर हुँदैन । यो लकडाउनको बेला तिर्न सकिँदैन । हामीले सार्वजनिक रुपमा अवज्ञा गर्नुपर्ने अवस्था आएको छ ।’

सांसद गौतमले यतिबेलाको कर छुट दिएमात्र आम जनताले राहत प्राप्त गर्ने भएकोले सरकारको ध्यान दिन माग गरे ।  पर्यटन क्षेत्रलाई मजवूत बनाउन ट्रयाकहरुको व्यवस्था गर्न माग गरे । साथै आवश्यक नै नभएको काभ्रेमा किन विमानस्थल चाहियो भन्दै प्रश्न समेत गरे ।  पर्यटनसँग बन पनि जोडिएको बताउँदै बजेटले धार्मिक, सांस्कृतिक तथा वाइल्डलाईफ पर्यटनलाई पनि नछोएको बताउँदै पर्यटनमन्त्रीको समेत ध्यानाकर्षण गराए । आरक्ष केन्द्रहरुको बफरजोनमा बसेका स्थानीयलाई बन्यजन्तुले आक्रमण गर्ने गरेको बताउदै उनीहरुको जीवन वीमा गर्नुपर्ने बताए । 

सरकारले ल्याएको बजेटले आफ्नोलाई मात्र चिनेको बताउँदै बजेट समावेशी समानूपातिक नभएको आरोप लगाए । देशको आवश्यकता भन्दा पनि पहुँच र पावरका आधारमा विनियोजन भएको दावी गरे ।  सरकारले १० अर्ब खर्च भयो भन्ने तर लकडाउन भएको २ महिना हुँदा सम्म स्थानीय तहमा बजेट नपुगेको, पिसिआर टेष्ट दु्रत गतिमा नभएको, मान्छेले खान नपाएको बताए । 

सांसद गौतमले क्वारेन्टाइनमा मान्छे मरेको एक हप्तापछि रिपोर्ट आउने बेला ठूला कुरा गरेर केही फाइदा नहुने बताए । विकास बजेट ३१ प्रतिशत रहेको र अरु सबै चालू खर्च पनि थेग्ने हालतमा नभएको उनको भनाई छ ।  उनले भने– ‘गत बर्ष ३० अर्बभन्दा बढी अनुदान सहयोग नआएकोमा यो वर्ष ६० अर्बको कल्पना गरिएको छ । बजेट हावादारी छ । आम जनतालाई निराशाजनक भएकोले यसमा मेरो आपत्ति छ । कृषिमा मलखाद छैन, बीउ छैन आधुनिक प्रविधि छैन, हाहाकार छ, भारत लगायत अन्य देशबाट धेरै मान्छे आइरहेका छन् । कृषिलाई मूल आधार बनाउनुपर्नेमा त्यसो हुन सकेको छैन । सपना मात्र बाँडेर हुन्छ ?’ 

सांसद गौतमले तत्कालको समस्या समाधानका लागि बजेट केन्द्रीत हुनुपर्नेमा २ अर्बको भ्यूटावर, रेल, पानीजहाजलाई बजेट छुट्याएको, गुन्द्रुक सिन्की, जनै समेत विदेशबाट आयात भइरहेको बताउँदै सरकारले कस्तो समृद्धिको सपना देखाउने काम गरेको भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा ५ अर्ब खर्च गर्दै बाँदर धपाउन लगाएर कार्यकर्ता पाल्ने गरेको आरोप समेत लगाए । 
हेर्नुहोस् भिडियो:  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप