शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वदेशी फौजीकिरा र भाइरस

शनिबार, २४ जेठ २०७७, १७ : २४
शनिबार, २४ जेठ २०७७

दिउँसैँ क्षितिज अँध्यारो पार्दै
टाढाबाट आइरहेछन् मुख मिठ्याँउदै–मिठ्याँउदै
विदेशी सलह, फौजीकिराका झुण्डहरु

उनीहरुले छपक्कै छोप्नेछन्
सानो बाबुले बुढी औंलाले देखाइरहेको काँक्रोको चिचिला
फर्सीको पहेँलो फूल 
चिसो हावामा नाचिरहेका
हलक्क बढेका धानका विउहरु
भर्खरै बा–आमाले गोडेका मकैका बोटहरु
अनि हजुरआमाले रोपेका तरकारीका मुनाहरु

त्यसरी नै आइरहेछन् अदृश्य भाइरसहरु
मुटु-कलेजो छिया पार्दै लगिरहेछन् हाम्रा प्रियजनहरु

भदौरे भेल खहरेमा कुर्लिएझै
हामी चुपचाप हेरिरहेछौँ, हेर्नेछौँ उनीहरुको आतंक
पर्खौ केही दिन सलह र भाइरसलाई 
जसरी आए उसरी नै हराउनेछन् यी

तर उसरी नै सधै खतरनाक रहिरहनेछन्
स्वदशी फौजीकिरा, सलह र भाइरस
जसले जीवनभर हाम्रो बालीनाली खाइरहनेछन्

जसलाई हामी कर तिरिरहेछौँ
उनीहरु नयाँ कार किनिरहेछन्
उनीहरु सुनौलो कार्पेट किनिरहेछन् 
हामी पसिना बगाइरहेछौँ जसलाई 
उनीहरु असिना वर्साइरहेछन् हामीलाई

विदेशी सलह, फौजीकिरा
एउटै रंग, एउटै स्वरुपका हुन्छन्
स्वदेशी सहल, फौजीकिरा
फरक-फरक रुप र फरक स्वरुपका हुन्छन्

विदेशी भाइरस
कुनै याम, कुनै समय हामीलाई सताउँछन्
तर स्वदेशी भाइरस
जसले सधै हाम्रो टाउको खाइरहन्छन्
विदेशी ऋणको भारी बोकाइरहन्छन्
र देखाइरहन्छन् स्वर्ग जाने पुष्पक विमानको सपना

सडकमा ठेलामा बिरामी श्रीमती बोकेर
हस्याँङ-फस्याँङ अस्पताल कुदिरहेको बृद्ध
सडकमा लमतन्न
नाम्लो सिरानी हालेर भोकै मरेको मजदुर
विदेशमा वाकसभित्र अलपत्र परेको छोराको शव
रोएर आँशु सिद्धिएको आमाको आँखा
सन्तानको मुख देख्न नपाउँदै 
मृत्युशैयामा पुगेकी सुत्केरी 
भोको पेटमा पटुका कस्ने मजदुरी 

के जसलाई समाइरहेको छैन युग-युगदेखि 
स्वदेशी सलह, फौजीकिरा र भाइरसले ?
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप