बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, ३६५ जनाले जिते कोरोना

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो
शनिबार, २४ जेठ २०७७, १६ : ३३
शनिबार, २४ जेठ २०७७

काठमाडौं । नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । 

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३२३५ पुगेको छ । 

उनले शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएको पनि जानकारी दिए । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् । 

यसैबीच कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको नियमित प्रेस ब्रिफिङमा देवकोटाले औपचारिक पुष्टि गरे । 
कर्णाली प्रवेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मी नारायण तिवारीका अनुसार उनी दम रोगी रहेका थिए ।  उनको जेठ २१ गते मृत्यु भएको थियो । उनी सोही रोगको सुर्खेतमा उपचार गराएर जेठ १९ गते डोल्पा फर्किएका थिए ।  

त्यसपछि होम क्वारेन्टाइनमा रहेका उनको २१ गते मृत्यु हुन पुगेको र मृत्यु पश्चात जेठ २२ गते स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएकोमा  कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो । 

यसैगरी सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। मिर्गौलाकी बिरामी धनगढी ४ की उनको शुक्रबार मृत्यु भएको थियो । डायलासिसकै क्रममा अस्पतालमा मृत्युपछि उनमा कोरोना संक्रमणको आशंकामा पीसीआर जाँच गर्दा नतिजा पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए । 

योसहित नेपालमा कोरानाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । 



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप