शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले उद्योग र व्यापारमा सहुलियत दिनुपर्छ– सांसद

शनिबार, २४ जेठ २०७७, १५ : १३
शनिबार, २४ जेठ २०७७

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न दलका सांसद्ले  कोभिड –१९ का कारण देशको अर्थतन्त्र नाजुक भएका अवस्थामा सरकारले उद्योग र व्यापारमा सहुलियत दिनुपर्ने माग गरेका छन्  । बैठकमा विनियोजन विधेयक, २०७७ माथिको छलफलमा राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले बजेट परम्परागत भएको टिप्पणी गर्दै भने, ‘देशको अर्थतन्त्र नाजुक भएको अवस्थामा कम्तीमा उद्योग र व्यापारका लागि सरकारले सहुलियत दिनुपर्ने थियो तर दिएको छैन । गरीब किसानका लागि बीउ, मल अभाव छ, त्यसमा सरकारको ध्यान जान सकेको छैन, गरीबलाई उत्थान गर्ने सरकारको के योजना छ, त्यो स्पष्ट आउन सकेन ।’ बजेट सबै हिसाबले समानुपातिक नभएको बताउँदै उनले माछा र कुखुरामा अहिले ठूलो लगानी भए पनि उचित बजारको व्यवस्था नभएको बताए ।

राष्ट्रिय जनता पार्टीकै रानी मण्डलले कोभिड–१९  नियन्त्रणका लागि  पर्याप्त मात्रामा क्वारेन्टिन र आइसोलेशनको व्यवस्था गर्न माग गरिन् । राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्री रोगजार कार्यक्रमबाट लक्षित समुदायले लाभ लिन सकेका नसकेको बताए ।  उनले भने, ‘स्वास्थ्य क्षेत्रमा प्राप्त बजेटको व्यवस्था भए पनि त्यो लक्षित ठाउँमा पुग्न सकेको छैन, जहाँ पुग्नुपर्ने हो त्यहाँ पुग्न सकेको छैन, त्यसैले सरकारले बजेटमा मात्रै व्यवस्था गर्नेभन्दा पनि कार्यान्वयनमा जोड दिनुपर्छ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देवेन्द्र पौडेलले मुलुक कोभिड–१९ बाट आक्रान्त बनेका अवस्थामा अस्पतालमा काम गर्ने चिकित्सकको मनोबल बढाउने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका दिव्यमणि राजभण्डारीले  कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने प्रकृतिका कार्यक्रमलाई बजेटमा समावेश गर्न नसकिएको टिप्पणी गरे । उनले कोभिड–१९ को परीक्षण पिसिआर प्रविधिबाट गर्न आग्रह गरे । 
सङ्घीय समाजवादी पार्टीका रामसहायप्रसाद यादवले बजेट हेर्दा सरकार कोरोना नियन्त्रणमा गम्भीर नदेखिएको बताए  । सोही दलका विमलप्रसाद श्रीवास्तवले उखु किसानका समस्या समाधान गर्नेतर्फ बजेटले ध्यान नसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप