बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

समाजवादी–राजपा एकीकरणबारे के भन्छन् तराई मधेशका साना दल ?

शनिबार, २४ जेठ २०७७, ०९ : ५४
शनिबार, २४ जेठ २०७७

संसदमा रहेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर जनता समाजवादी पार्टी नेपाल (जसपा) बनेको छ । यद्यपि एकताले आधिकारिकता पाइसकेको छैन । 

यी दुई दलबीच सिद्धान्त भन्दा पनि स्वार्थ मिलेकाले मात्रै एकीकरण भएको तराई मधेशमा सक्रिय केही साना दलको टिप्पणी छ । ‘कसैको पार्टी फुट्दै थियो, कोही सरकारमा जान पाएका थिएनन्, कसैलाई संसदमा शक्तिशाली बन्नुछ भने कसैलाई अर्को चुनावमा जितेर आउनुछ,’ यी र यस्तै स्वार्थका कारण दुवै दल मिलेको उनीहरुको आरोप छ । तर, केही साना दल भने एकतालाई सकारात्मक रुपमा लिन्छन् र यसलाई थप बृहत बनाउनुपर्नेमा जोड दिन्छन् । 

जसपाले पनि विचार र सिद्धान्त मिल्ने जुनसुकै पार्टीसँग पनि एकता गर्न सकिने निर्णय गरेको छ भने त्यसका लागि पहल गर्ने बताउँदै आएको छ । तर तराई मधेशमा रहेका अन्य साना दललाई एकीकरणमा समेट्न ठोस पहल भएको भने देखिँदैन । 

हुनतः समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएपनि अहिलेसम्म नेतृत्व चयनको विवादले गर्दा बाँकी प्रक्रिया अघि बढ्न सकेको छैन । हालसम्म एकीकरणको लागि सैद्धान्तिक सहमति मात्र भएको छ । कसको नेतृत्वमा पार्टी दर्ता हुने, कुन नेताको पद के हुने भन्ने आपसी खिचातानीले पार्टी दर्ता समेत हुन सकेको छैन । 

हाल जनता समाजवादी पार्टी बाहेक तराई मधेसमा सिके राउत नेतृत्वको जनमत पार्टी, रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, जेपी गुप्ता नेतृत्वको तराई मधेश राष्ट्रिय अभियान, कौशल कुमार सिंह नेतृत्वको लोक दल, विकास तिवारी नेतृत्वको नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी), भाग्यनाथ गुप्ता नेतृत्वको मधेशी जनअधिकार फोरम (मधेश), अमर यादव नेतृत्वको मधेश तराई फोरमलगातका दलहरु सक्रिय छन् । यी दलहरुमध्ये कुनै पनि दल संसदमा छैनन् । 

समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण कतिपय दलले आशंकाको दृष्टिले समेत हेरेका छन् ।  

एकतालाई शंकाको दृष्टिले हेर्नेमा सिके राउत नेतृत्वको जनमत पार्टी रहेको छ । सो पार्टीका प्रवक्ता चन्दन सिंहले समाजवादी पार्टी र राजपा नेपालले हतासमा आएर पार्टी एकीकरण गरेको दावी गरे । 

‘मधेशमा उपेन्द्र यादवको जुन क्रेज थियो, त्यो अब रहेन’, सिंहले भने, ‘उहाँले मधेशमा जातीय राजनीति गर्नुभयो, त्यो हिसाबले धेरै दिनसम्म राजनीति गर्न सकिदैन भने कुरा उहाँले बुझेको हुनुपर्छ ।  त्यही भएर उहाँ हतास मनस्थितिमा राजपा नेपालसँग एकीकरणका लागि तयार हुनुभयो ।’

 त्यस्तै, राजपा नेपाल पनि मधेशमा कलस्टर हिसाबले चलेको पार्टी भएको दावी गर्दै उनले भने, ‘आफ्नो आफन्तलाई मात्र च्यापेर मधेशमा राजनीति गरे यस्तो पनि अब चल्नेबाला छैन, त्यो थाहा पाएर समाजवादी पार्टीसँग एकीकरण गर्न तयार भए ।’

सुरुमा ३ प्रतिशतको थ्रेसहोल्डका कारण छवटा दल मिलेर राजपा नेपाल बनेको थियो । चुनाव राजपा र समाजवादी गठबन्धन बनाएर नलडेको भए संकटमा पर्ने अवस्था रहेको उनले स्मरण गरे ।  अहिले पनि उनीहरुलाई थ्रेसहोल्डकै त्रास रहेको भन्दै उनले त्यसले गर्दा हतार हतारमा एकीकरण गरिएको दावी गरे ।

दुवै पार्टीले आआफ्नो राजनीति हैसियत थाहा पाएर नै हतासमा आएर एकीकरण गरेको दावी गर्दै उनले जसपा नेपालसँग जनमत पार्टीको एकीकरण हुने सम्भावना नरहेको बताए । 

उनले राजपा र समाजवादी पार्टीबीच एकीकरण हुँदा आफूहरुसँग त्यस विषयमा कुरा नभएको पनि स्पष्ट पारे ।  मधेशका सबै जिल्ला र हिमाल, पहाडका केही जिल्लामा जनमत पार्टीको संगठन रहेको भन्दै उनले अगामी चुनावमा मधेशमा आफ्नो पार्टीलाई शक्तिशाली बनाउने योजनाका साथ सक्रिय रहेको पनि उनले बताए ।  

तत्कालीन मधेशी जनअधिकार फोरमबाट अलग भएर निर्माण भएको मधेशी जनअधिकार फोरम (मधेश) का अध्यक्ष भाग्यनाथ गुप्ताले समाजवादी पार्टी र राजपा नेपाललाई रिमोटबाट चल्ने पार्टीको संज्ञा दिए । उनले सो पार्टी र आफू नेतृत्वको पार्टीबीच तत्कालन एकीकरण हुने सम्भावना नरहेको पनि बताए । ती पार्टीहरु दिल्लीको इशारामा चलेको आरोप लगाउँदै त्यस्तो पार्टीसँग एकीकरणको कुनै औचित्य नरहने उनको भनाइ छ । 

उनले जसपाबाट मधेस र मधेसी जनताको हितमा काम हुन नसक्ने समेत दावी गरे । ‘जसको आफ्नो भिजन छैन, आफ्नो उद्देश्य छैन, भविष्यमा के गर्ने, के गर्दैछु ती कुराहरुको चेतना नराख्ने दलले मधेशको कल्याण गर्छ भन्ने कुरामा मलाई विश्वास छैन’, उनले भने, ‘जहिले पनि मधेशलाई गुमराहमा राखेर राजनीतिक गरेका ती दल अहिले पनि आफ्ना स्वार्थका लागि मात्र एकीकरण गरेको मेरो बुझाइ छ।’

उनीहरुले विभिन्न बहानामा मधेशमा आन्दोलन गरेपनि त्यो सिंहदरबारमा पुग्ने उद्देश्यबाहेक अरु केही नभएको समेत उनले दावी गरे ।  पछिल्लो समाजवादी पार्टी र राजपा नेपालले मधेशका सबै एजेण्डा छाड्दै गएको आरोप पनि उनले लगाए । 

‘जुन संविधानलाई उनीहरुले जलाए त्यही संविधानको अधिनमा रहेर चुनाव लडे, सांसदको सपथ लिए र यहाँसम्म कि मन्त्री पनि बने’, उनले भने, ‘दोहोरो चरित्र भएका पार्टी र व्यक्तिले कुनै पनि हालतमा जनताको हकमा काम गर्न सक्दैन ।’

 एक मधेश एक प्रदेश प्राप्त नभएसम्म आफूहरुको आन्दोलन नरोकिने र त्यतिबेलासम्म आफ्नो पार्टीले कुनै पनि चुनावमा भाग नलिने उनले बताए । उनले तराई मधेका मधेशका १७ वटा जिल्लामा आफ्नो संगठन रहेको र कोरोनाको महामारी समाप्त भएपछि आन्दोलनलाई तीब्र रुपमा अगाडि बढाउने समेत बताए ।

तत्कालिन मधेशी जनअधिकार फोरम नेपालबाट अलग भएर मधेश तराई फोरम गठन गरेका अमर यादवले पार्टी एकीकरण सकारात्मक भएको बताए । यद्यपि जसपाभित्रै विवाद रहेकाले तत्काल सो दल र आफूहरुबीच एकीकरण भने सम्भव नरहेको बताए । 

समाजवादी पार्टी र राजपा नेपालबीच भएको एकीकरणले मधेशमा राम्रो सन्देश गएको बताउँदै उनले मधेशमा रहेका सबै शक्ति एक नभएसम्म मधेशका अधिकार प्राप्त नहुने प्रतिकृया दिए । उनले भने, आज या भोलि मधेशका सबै शक्ति (दल) एकै हुनुपर्छ, त्यसको विकल्प पनि छैन, तर अहिले त्यस प्रकारको कुनै कुरा भएको छैन ।’

अध्यक्ष अमर यादवले तत्कालीन समाजवादी पार्टीसँग एकीकरण गरेका थिए । तर पछि त्यो दलमा कुरा नमिलेपछि उनी पुनः अलग भएका थिए । पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग एकीकरण गर्ने औपचारिक सहमति भइसकेपनि पूर्णता भने पाइसकेको छैन ।

आफूले नेकपासँग एकीकरणको घोषणा गरेको तर लामो समय बित्दा पनि एकताका बाँकी कार्यहरु पूरा नभएका कारण तराई फोरमलाई नै सक्रिय बनाएर काम गरिरहेको बताए ।  कोरोनाको माहामारी सकिए पछि नेकपासँग एकचरण कुरा गर्ने र सकारात्मक वातावरण निर्माण नभए आफ्नै तरिकाले अगाडि बढ्ने उनले बताए । 

लोक दलका अध्यक्ष कौशल कुमार सिंह पनि राजपा समाजवादीबीचको एकीकरणको पक्षमा देखिएका छन् । उनले पनि मधेशमा सबै शक्ति एक हुनुपर्ने कुरामा जोड दिए । उनले एक्लाएक्लै संघर्ष गरेर मधेशमा केही प्राप्त हुँदैन भने कुरा १० वर्षको अनुभवले देखाइसकेको बताए ।  ‘मधेशमा पटक पटक आन्दोलन भयो, धेरैले बलिदान पनि दिए तर एक्ला एक्लै लडेर केही प्राप्त भएन’, उनले भने, ‘यही आन्दोलन सबै शक्ति मिलेर गरेको भए अहिलेसम्म केही न केही प्राप्त हुन्थ्यो । तर एकले अर्कालाई स्वीकार नगर्दा समस्या पैदा भयो ।’

यसअघि समाजवादी पार्टीसँग लोक दलको एकीकरण भएको थियो तर पछि समायोजनमा कुरा नमिलेपछि सो पार्टी पुनः अलग भएको थियो । 

नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारीले पनि आफू एकीकरणप्रति सकारात्मक रहेको बताए । ‘मधेशमा एउटा शक्ति निर्माणका लागि सबै दलहरु मिल्नुपर्ने आवश्यकता रहेको छ, एक्ला एक्लै भिडेर अधिकार प्राप्त हुँदैन भने कुरा प्रमाणित भइसकेको छ’, उनले भने । 

पछिल्लो समय एकीकरणको विषयमा कुनै पनि दलसँग कुराकानी नभएको बताउँदै उनले समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण हुनुभन्दा अघि भने उपेन्द्र यादवसँग एकीकरणको विषयमा कुराकानी छलफल भएपछि ठोस सहमति बन्न नसकेको बताए । 

तराई मधेश राष्ट्रिय अभिायनका संयोजक जेपी गुप्ताले पनि मधेशमा एकताको खाँचो रहेको बताए । तर त्यसका लागि आवश्यक पहल नभएको उनको भनाइ छ ।

केही दिन पहिले रातोपाटीलाई अन्तरवार्ता दिने क्रममा गुप्ताले भनेका थिए, ‘मधेशमा एकताको खाँचो छ, त्यसका लागि स्वच्छ मनले सबै तयार हुनुपर्छ ।’ तर दुई दलबीच एकीकरण भएपनि त्यस्तो एकीकरणका लागि आफूसँग भने कुनै कुराकानी नभएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप