शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो चरणमा यसरी आए म्यानमारमा अलपत्र परेका नेपाली, सेनाले गर्‍यो सहजीकरण (भिडियो रिपोर्ट)

शुक्रबार, २३ जेठ २०७७, १९ : २०
शुक्रबार, २३ जेठ २०७७

तपाईंको नाम के हो ? जन्ममिति अनि पासर्पोट नम्बर ? ठेगाना कहाँ हो ? अहिले कहाँ बस्नुहुन्छ ? पीसीआर टेष्ट कहिले गराउनुभयो ? तपाईं के काम गर्नुहुन्छ ? विदेशमा हुँदा केही सीप सिक्नु भएको छ ? अब नेपालमा के काम गर्ने विचार छ ? यहाँबाट गएपछि कहाँ बस्नुहुन्छ ? आफ्नै घरमा कि होटलमा ? 

शुक्रबार बिहान ११ बजे म्यानमार (बर्मा)को सेनाको विमानमा काठमाडौं आइपुगेका २६ नेपालीलाई क्वारेन्टाइनमा जानुअघि स्वास्थ्यकर्मीले सोधेका प्रश्नहरु हुन् यी । 

यस्ता प्रश्नसँगै उनीहरुलाई सपथ समेत खुवाइयो । सपथको बेहोरा थियो, ‘परिवार र समाजमा यो रोग फैलन नदिनका लागि म स्वास्थ्यसम्बन्धी अनुशासनका सबै नियम पालना गर्नेछु । होटेल क्वारेन्टाइमा बस्दा लागेको खर्च म स्वयमले नै बेहोर्नेछु । उपयुक्त बेहोरा ठीक छ, नगरेमा कानून बमोजिम सहने बुझ्नेछु।’ 

बसुन्धारामा रहेको एक पार्टी प्यालेसस्थित होल्डिङ स्टेशन बनाइएको ठाउँमा उनीहरुलाई पु-याएपछि यस्तो माथिका प्रश्न र सपथसहित फर्म भराइएको थियो । सो क्रममा उनीहरुको विवरण संकलनसँगै नेपाल टेलिकमको सिमकार्ड पनि वितरण गरिएको थियो । 

काठमाडौंमा अध्ययनमा क्रममा रहेका म्यानमारका विद्यार्थीको उद्धारका लागि त्यहाँको सरकारले म्यानमार एयर फोर्सको विमान काठमाडौं पठाएको थियो । नेपालमा आफ्ना नागरिक लिन खाली विमान पठाउनुभन्दा बर्मामा अलपत्र परेका नेपालीलाई पनि नेपाल पु¥याइदिने त्यहाँको सरकारको चाहना अनुसार नेपाली दूतावाससँग समन्वय गरेर २६ नेपाली काठमाडौं आएका हुन् । 

ती २६ नेपालीलाई दिउँसो १२ बजे विमानस्थलबाट बसुन्धरासम्म नेपाली सेनाको गाडीले ल्याएको थियो । होल्डिङ स्टेशनमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ पुगेका थिए । होल्डिङ स्टेशन सेनाले सञ्चालन गरेको थियो, जहाँ स्थानीय नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मीसहित सेनाका स्वास्थ्यकर्मी पनि खटिएका थिए । 

यात्रीलाई पालैपालो बसबाट झार्दै सुरुमा हात धुने व्यवस्था गरिएको थिए । त्यसपछि उनीहरुलाई मेडिकल सेवा डेस्कमा लगेर स्वास्थ्य अवस्था, उनीहरुले स्वास्थ्य जाँच गरे नगरेको, होटल क्वारेन्टाइन वा घरमा जाने भनेर प्रश्न गर्दै विवरण लिइएको थियो । 

यसो भन्छन्–उद्धार गरिएका नेपाली 
नवलपरासीका मनबहादुर खत्री दम्पत्ती गत माघमा बर्मामा इष्टमित्र भेट्न गएका थिए । उनका ठूलो बुवाका सम्पूर्ण परिवार बर्मामा छन् । लकडाउनका कारण आफूहरु ४० दिन त्यहीँ फसेको खत्रीले बताए । 

म्यानमार सरकार र नेपाली दूतावासको समन्वयमा नेपाल फर्किन पाउँदा  खुसी लागेको उनले बताए । उनले निःशुल्क रुपमा म्यानमार सरकारले उनीहरुको सेनाको विमानमा काठमाडौं ल्याइदिएकोमा त्यहाँको सरकारको गुन कहिल्यै नर्बिसने बताए ।  

मोरङकी हरिमाया खड्का ३ महिनाअघि बर्मामा घुम्न गएकी थिइन् ।  दूतावासका कर्मचारीको सहयोगमा नेपाल फर्कन पाएको उनले सुनाइन् । नेपाल आउनुअघि उनको बर्मामै पीसीआर टेष्ट गरिएको थियो । स्वास्थ्य परीक्षणपछि आएको कोरोना संक्रमणको नेगेटिभ रिर्पोटसहित नेपाल फर्कन उनले दूतावासमा आफ्नो विवरण बुझाएकी थिइन् । 

यस्तै मोरङकै कमला पौडेल र डिल्लीराम पौडेल पनि ४ महिना अघि बर्मा गएका थिए । त्यहाँको सरकारले पहिला लकडाउन जारी गरेपनि अहिले खुला गरेको र त्यहाँको सरकारले अरु देशमा फसेका नागरिकहरु स्वदेश फर्काइरहेको कमलाले बताइन् । 

७० दिनको भिसा लिएर गएका उनीहरुको भिसाको समय पनि सकिएको थियो । २ महिनासम्म आफन्तको घरमा बस्न अप्ठेरो परेको डिल्लीराम पौडेलले सुनाए । म्यानमार सरकारले प्लेन भाडा नलिइ नेपाल ल्याइदिएकोमा उनले खुसी ब्यक्त गरे । 

उनले भने, ‘६३ सिट क्षमताको प्लेन थियो । हामी दुरी कायम गरेर बसेका थियौँ । म्यानमार सरकारले गरेको पहलका लागि धन्यवाद छ ।’

उनले बर्माको सरकारले उद्धार गरिएका आफ्ना नागरिकलाई एयरर्पोटमै क्वारेन्टाइन बनाएर राखेको बताए । उनका अनुसार बर्मामा अझै केही नेपाली छुटेका छन् । 

मन्त्री गुरुङ भन्छन्, ‘अब प्रक्रिया सुरु भयो 
बसुन्धरामा व्यवस्था गरिएको होल्डिङ स्टेशनमा पुगेका महिला, वालबालिका तथा जेष्ठ नागरिक पार्वत गुरुङले रातोपाटीसँग कुरा गर्दै उनले विदेशमा अलपत्र नेपाली फर्काउन सरकारले कार्यविधि तयार पारेको र सोही अनुसार नेपाल फर्काउने बताए । 

यसका लागि सम्बन्धित देशका राजदूतहरुलाई जिम्मेवारी तोकिएको र  केही मापदण्ड पनि बनाएको उल्लेख गरे । 

नेपाल सरकारसँग दूतावासले समन्वय गर्ने र विदेशबाट नेपालमा आएपछिको व्यवस्थापनका लागि संघीय मन्त्री र प्रदेशका मन्त्रीलाई जिम्मेवारी तोकिएको उनले बताए । यसका लागि नेपाली सेनालाई पनि जिम्मेवारी दिइएको बताउँदै पहिला होल्डिङ स्टेशनमा राख्ने र त्यहाँबाट सुरक्षित रुपमा घरमा पठाउने काम गर्ने बताए । 

मन्त्री गुरुङले विदेशमा रहेका सबैलाई ल्याउने नभइ नेपाल आउन चाहने र तोकिएको मापदण्ड पुगेकालाई मात्रै सरकारले सहजीकरण गर्ने उल्लेख गरे । 

सरकारले गर्भवती महिला, उपचारका लागि विदेशमा गएका नेपाली, घरमा आफन्तको मृत्यु भएर मृत्यु संस्कार गर्न नपाएका नेपालीलाई उद्धारको पहिलो प्राथमिकतामा राखेको छ ।

हेर्नुहोस् भिडियो : 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप