बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एन्फा अध्यक्षलाई कारबाही गर्न माग, मधेशीलाई अपमान गरेको आरोप

शुक्रबार, २३ जेठ २०७७, १७ : ४१
शुक्रबार, २३ जेठ २०७७

काठमाडौँ । सांसद प्रदीप यादवले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले मधेशीलाई अपमान गरेको भन्दै उनलाई अबिलम्ब निलम्बन गरी कारवाही गर्न माग गरेका छन् ।

बिनियोजन विधेयक २०७७ को सातवटा मन्त्रालयको विभिन्न शीर्षकमा शुक्रबार संसदमा भएको छलफलमा बोल्दै सांसद यादवले अखिल शेर्पाले एक अनलाइनमा अन्तर्वार्ता दिँदा ‘मधेशीलाई राष्ट्रियता आउँदैन सिकाउनु पर्छ, त्यो पनि सेनालाई परिचालन गरेर’ भन्ने अभिव्यक्ति दिएको भन्दै उनलाई निलम्बन गरी कारबाहीको माग गरेका हुन् । 

बिना तलब, बिना बर्दी १७ सय किलोमिटर सीमाको सुरक्षा गर्ने मधेशीलाई अपमान गर्ने शेर्पालाई कानुनी कटघेरामा ल्याई कडाभन्दा कडा कारवाही गर्न उनले सरकारलाई ध्यानाकर्षण गराए ।

नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन  बजेट दिनुपर्ने माग गर्दै उनले हैन भने प्रदेश सरकार मातहत ल्याउन माग गरे । 

नेपालको सबैभन्दा ठुलो दशरथ रंगशाला जस्तै ठुलो रहेको नारायणी रंगशाला कोमामा गईसकेको अवस्थामा पनि यसको स्तरोन्नतीको लागि युवा तथा खेलकुद मन्त्रीले ५० लाख मात्र बजेट दिएको भन्दै उनले सो बजेटले एउटा सानो पार्ट पनि बन्न नसक्ने बताए । 

सांसद यादवले भने, ‘‘पञ्चायत कालको श्री ५ सरकार वा बहुदल आएपछि नेपाल सरकारले नबनाइ नारायणी रंगशाला स्थानीयको लेभीबाट बनेको छ, त्यसकारण कि त रंगशालालाई अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउन स्पेशल बजेट छु्ट्याइयोस्, हैन भने संघबाट हटाएर प्रदेश सरकारको जिम्मा लगाईयोस् । प्रदेश सरकार यसलाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन तयार छ ।’’

खेलकूद मन्त्रीलाई एनफाले पनि १७ करोड रुपैया दिएको सुन्नमा आएको भन्दै उनले मन्त्रीले भने आफ्नो आसेपासे मातहतका पालिकाहरुलाई मात्रै बजेट दिने गरेको लगाए । 

त्यस्तैे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत निर्माण हुने सडक गत वर्ष पर्सा क्षेत्र नं १ मा छुटेर आफूमाथि अन्याय भएको भन्दै सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद यादवले यसवर्ष त्यहाँको सडक निर्माणमा अन्यान नहोस् भन्दै आग्रह गरे ।  

उनले गाउँगाउँ मिलेर वीरगंज महानगरपालिका बनेपनि शहरी विकास मन्त्रलायले नयाँ योजना नराखी पुरानो योजनाबाट पनि बजेट कट्टा गरेको भन्दै शहरको विकासको मुख्य जिम्मेवारी बोकेको शहरी विकासमन्त्री यसतर्फ गम्भिर भएर लाग्नु पर्नेमा जोड दिए । 

वर्षैदेखि  ऐलानी जग्गामा बसेका नागरिकसँग जग्गाको लालपूर्जा नभएकाले चाँडोभन्दा चाँडो लालपूर्जा वितरणको काम सुरु गराउन पनि उनले माग गरेका छन् । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप