शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रानी ऐश्वर्यालाई मनपरेको त्यो गीत !

जसले गीत गाउन दिए, उनले नै सुन्न पाएनन् : वरिष्ठ गायिका ज्ञानु राणाका दश गीतका दश किस्सा
शुक्रबार, २३ जेठ २०७७, १७ : १९
शुक्रबार, २३ जेठ २०७७

काठमाडौँ । गायिका ज्ञानु राणाले नेपाली गीतसंगीतमा क्षेत्रमा थुप्रै कालजयी गीत दिएकी छन् । त्यसैले त उनी सांगीतिक क्षेत्रमा स्वर किन्नरीको रुपमा परिचित छिन् । वि.सं. २०२५ बाट औपचारिक गायन थालेकी राणा स्वर्गीय गायक तथा संगीतकार कवि धर्मराज थापाको छोरी हुन् । धर्मराजले रियाज गरेको र गायन सिकाएको सानैदेखि लुकेर हेरेरको भरमा उनले गायन सिकेकी हुन् ।

२०२१ साल तिरको कुरो हो । उनी भर्खर १० बर्षकी थिइन् । उनको बुबा (धर्मराज थापा) एक गायकलाई गीत सिकाउदै थिए । बुबाले भित्र पस्न बन्देज गरेको हुनाले उनले ढोकामा लुकेर भित्रको क्रियाकलाप पुरै नियालिन् । त्यसरी नियाल्दा भित्र सिकाएको गीत उनलाई कन्ठ भयो । सोही गीत उनले खेल्ने क्रममा गाउन थालिन् ।

‘मैले खेल्ने क्रममा गीत राम्रोसँग पुरै गाएको देखेर बुबा छक्क पर्नुभयो,’ राणाले भनिन्, ‘अनि बुबाले गीत गाउन सक्दो रहेछ , स्वर पनि राम्रो रहेछ भनेर संगीत सिकाउन थाल्नुभयो ।’

उनको पहिलो संगीत गुरु उनकै बुबा (धर्मराज थापा) हुन् । त्यसपछि उनले चेतनाथ शर्मासँग शास्त्रीय  संगीत पनि सिकिन् ।

अहिलेसम्म २५ सय बढी गीत आफ्नो स्वरमा रेकर्ड गराएकी राणाले लोक, आधुनिक, भजन, ओपेरा, फिल्म र गजल लगायत सबै प्रकारको गीतमा स्वर दिएकी छन् ।

गीत भनेपछि सानैदेखि हुरुक्कै हुने पवबृति देखेर उनको श्रीमान्ले उनलाई गीत बौलाह भनेर समेत उपनाम नाम दिएको उनी सुनाउँछिन् । पछिल्लो समय संगीतिक क्षेत्रमा भित्रिएका नयाँ पुस्ताले अग्रजलाई सम्मान गर्न र दिन नजानेको देख्दा दुःख लाग्ने गरेको बताउने बताउने राणाको २५ सय बढी गीतमध्य १० गीतबारे उनकै शब्द ।

चौतारीमा म बसे होलाकी

वरको डाली नुहेर होलाकी

सल्लै हो जोवन कल्लाई हो

यो गीत वि.सं. २०३५ साल तिरको हो । बुबा धर्मराज थापाको शब्द रहेको गीत रेडियो नेपालका लागि रेकर्ड गराएको थिए । यो गण्डकी अंचलको स्थानिय बासिन्दाको लोक गीत पनि हो । गीतमा हेमलताको पनि स्वर रहेको छ । बुबाले स्थानियबाट टिपेर यो गीत बनाउनु भएको हो ।

सो समय धेरै लोकगीत गाउने म यो गीत गाउदा निकै आनन्द महसुस गरेकी थिएँ । यो गीतको प्रतिक्रिया पहिले पनि र अहिले पनि राम्रो छ । म्युजिक नेपालले यो गीतको रोयल्टी अहिले पनि मलाई दिइरहेको छ । यो अहिले पनि धेरै सुनिने गीतमा पर्ने गरेको छ । बुबाकै संगीत रहेको यो गीतले मेरो सांगीतिक करियर माथी उठाउन धेरै मद्दत गरेको थियो । यो गीत गाउँदा म त्यस्तै २४–२५ वर्षकी थिएँ ।

आज फेरि काफल पाक्यो गाउँ बीच बन्चरी

देख्छ कस्ले भोक तिर्खा बिरह चल्ने मनभरी

आज फेरि काफल पाक्यो गाउँ बीच बन्चरी

निकै राम्रो ट्युनिङ भएको र २०३६ सालमा रेडियो नेपालमा रेकर्ड भएको यो सेन्टिमेन्टल गीत हो । यो गीतपनि बुबा (धर्मराज थापा)ले नै श्रृजना गर्नु भएका हो ।  संगीत पनि उहाँकै छ । तत्कालिन श्री ५ बडामहारानी ऐश्वर्या राज्यलक्ष्मी देवी शाहलाई मनपरेको गीत पनि हो यो ।

सो समय राजपरिवारले आफ्नो जन्मदिनको दिन आफूलाई मनपरेको गीतहरु रेडियो नेपालबाट फर्माइस गर्ने चलन थियो । ऐश्वर्याले यो गीत धेरै फर्माइस गर्नुहुन्थ्यो । यो गीतको कारणले मैले कारण राजपरिवारबाट यतिबेला ४ हजार बक्सिस पाएको थिएँ । चारैतिरबाट यो गीतको लागि राम्रो प्रतिक्रिया आउथ्यो ।

सिरीमा सिरी नि कान्छ बतासै चल्यो

बाबरी फूलको बासना सुन मेरो निरमाया

मायालु आयो नि कान्छा फाल र हाल्दै

नबोले पनि हासन सुन मेरो निरमाया

यो गीतमा मेरो र स्वरसम्राट नारायण गोपालको स्वर रहेको छ । एक समय नारायण गोपाल दाइले ज्ञानु मैले लोकगीत गाएको छैन । सबै आधुनिक गीत छन् । तिमीसँग एउटा लोकगीत गाउनुपर्यो भनेर भन्नुभयो । मैले बुबासँग गएर उहाँको कुरा सुनाए । बुबाले पनि तुरुन्तै यो गीत बनाइ दिनुभयो ।

उहाँकै शब्द, संगीत रहेको यो गीत नारायण गोपाल दाइले सुन्ने बितिकै कति राम्रो गीत भनेर प्रसंसा गर्नु भयो । भोलीपल्ट रेडियो नेपालमा गीत रेकर्ड गरियो । त्यस्तै २०३७ मा आएको यो गीतले संगीतिक क्षेत्रमा हङ्गामै मच्चायो ।

अहिले पनि यो गीत धेरै सुनिने पुरानो गीतमा पर्दछ । यो गीत देशको कुना कन्दरामा रहेको मानिसलाई पनि थाहा छ । अहिले यो गीत सुन्दा मैले कस्तो ऐतिहासिक गीत गाएछु भनेर गर्व लाग्छ । सो समय पनि यो गीतको तारादेवी, नातीकाजी लगायतले तारिफ गर्नु भएको थियो ।

मान्छेको माया यहाँ खोलाको पानी जस्तो

किनारालाई छोई भाग्ने लहरको बानी जस्तो 

२०३७ साल तिरको हो यो गीत । डा.राममान त्रिषृद भन्ने एक जना व्यक्ति हुनु हुन्थ्यो । उहाँलाई मेरो ‘सिरीमा सिरी ...’ गीत धेरै मनपरेको रहेछ । एक पटकको भेटमा उहाँले ज्ञानु तिमिले नारायण गोपाल दाईसँग गाएको ‘सिरिमा सिरि ...’ गीत निकै मिठो गाएको रहिछौ । म पनि एउटा गीत लेख्छु । तिमी र नारायणदाई गाउ न है भन्नुभयो । मैले हुन्छ दाई भने । उहाँले यो गीत लेखेर शिवशंकर दाईलाई संगीत गर्न दिनु भएछ ।

त्यतिबेला शिवशंकर राम्रो म्युजिक कम्पोजर हुनुहुन्थ्यो । गीतमा संगीत तयार भएपछि यो गीत रेडियो नेपालमा मेरो र नारायण गोपालदाईको स्वर रेकर्ड गरियो । यो समय पुरै गीत एकै टेकमा ओके गर्नुपर्ने हुन्थ्यो । नत्र पुरै दोहोरठ्याउनु पथ्र्याे । यो गीत ११ चोटीको टेकमा ओके भएको थियो । यो गीत बाहिर आएपछि मैले संगीतिक क्षेत्रमा पछाडी फर्किएर कहिलै हेर्नु परेन ।

च्याङ्बा होई च्याङ्बा, सुनसुन होई च्याङ्बा

डम्फुले आज क्या भन्छ...

२०३६–०३७ सालतिर गोपाल योञ्जन एकदमै चर्चामा हुनु हुन्थ्यो । उहाँले जुन गीत छोए पनि हिट हुन्थ्यो । मैले पनि उहाँसँगको भेटमा दाई तपाईंसँग एउटा गीत गाउने रहर छ भनेर मनको इच्छा राखे । सोही समय उहाँले तिम्रो लागि मैले एउटा तामाङ सेलो बनाएको छु भन्नुभयो । उहाँले यो गीत सुनाउनुभयो । यो गीत सुन्दैमा मनप¥यो । रातको ८ बजे रेडियो नेपालको पुरानो स्टुडियोमा यो गीत रेकर्ड भयो । गीतले छिट्टै चर्चा पायो ।

जापानमा यो गीत अहिले पनि चर्चामा छ रे । दीप श्रेष्ठले केही पहिले मलाई ज्ञानु तिम्रो गीत ‘च्याङ्बा ओई च्याङ्बा’ जापानमा लगायत केही देशमा धेरै चर्चित छ । फर्माइसमा मैले पनि गाउनु परेको थियो भनेर भन्नु भएको थियो । गीतमा शब्द संगीत पनि गोपाल योन्जनकै थियो ।

भिज्यो तिम्रो रातो पछ्यौरी नी है है

गङ्गा जले पानीले भिज्यो तिम्रो रातो पछ्यौरी

रेडियो नेपालमा पूर्वतिरका पाण्डव सुनुवार भन्ने एकजना निकै प्रतिभाशाली गायक भाइ थिए । रेडियो नेपालमा म जाने सिलसिलामा उनले एउटा गीत छ गाइदिनु हुन्छ भनेर सोधे । मैले कुन गीत भनेर भने । उनले यो गीत गाएर सुनाए । गीत मलाई धेरै मनपर्यो ।

डान्सिङ प्याट्रनमा तयार यो गीत २०४० साल तिर रेकर्ड भएको हो । गीत पनि धेरै हिट भयो । अहिले पनि यो गीतमा धेरैले डान्स गर्ने गर्नुहुन्छ । गीतमा संगीत पनि पान्डवले नै दिएका हुन् । स्वरमा पनि मलाई उनले नै साथ दिएका थिए ।

कसैले बुझेन मेरो मनको बहलाई

खहरे खोला झरे झै आँखाको गहलाई

यो मेरो मायालाई, यो मेरो मायालाई

बिनोद ढकाल भन्ने एकजना भाई थिए । उनले म कहाँ आएर दिदी हजुरले मेरो एउटा गीत गाइदिनुपर्यो भन्नुभयो । मैले पनि हुन्छ भने । संगीत गर्न कसलाई दिएको भनेर सोधे । उनले संगीतकारमा शम्भुजीत बास्कोटाको नाम लिए । शम्भुजीतले पनि यहि गीतको अफर गर्नुभयो ।

मैले गीत रेडियोमा रेकर्ड गराए । गीत रेकडिङको केही दिन पहिले बिनोद भाई भक्तपुर गएर फर्किदा मोटरसाइल एक्सिडेन्टमा बितिसक्नुभएको रहेछ । यो गीत मेरो स्वरमा रेकर्ड गरेको हेर्ने र सुन्ने उहाँको सारै इच्छा थियो । त्यो इच्छा पुरा भएन ।

अहिले पनि कहिकतै जाँदा मलाई यो गीत गाउँन लगाउछन् । २०४० सालमा रेकर्ड भएको यो गीत गाएर मैले २० रुपैयाँ पाएको थिए । यो गीत कहीँ कतै सुने भने ती भाइको याद आउँछ ।

पिर पर्यो कतिको, छुरी घसी मरौकी जतिको

ऐना शिशाको, झ्याल ढोका सुनको, चाँदी मिसाको 

यो गीतमा शब्द संगीत मेरो बुबा (स्व.धर्मराज थापा)को छ । एकदमै राम्रो लोकगीत पनि हो यो । जतिबेला गीत बन्यो त्यतिबेला मानिसहरु धेरै दुःख पायो भने आत्महत्या गरिहाल्दथे ।

मेरो कान्छी आमा पनि त्यतिबेला विष सेवन गरेर आत्महत्या गर्नुभएको थियो । बुबाले आफ्नो मनमा भएको बुहारीको आत्महत्या पछिको पीडा यो गीतमा उतार्नुभएको हो । ०४५ सालमा रेकर्ड भएको यो गीत निकै चर्चित भएको थियो ।

एकपटक बलिउड गायिका हेमलता मुम्बईबाट काठमाडौँ आएको थिइन् । उनले पनि यो गीत मसँगै गाइन् । उनले गीत मनपरेको समेत बताएका थिइन् ।

अब त जाउ क्यारे घर

यो पनि पोखराकै लोक गीत हो । २०४८ तिर रेकर्ड भएको यो गीतमा पनि शब्द संगीत बुबा (स्व.धर्मराज थापा)कै रहेको छ । समसामाहिक विषयमा बुबाले धेरै लेख्नुभएको थियो । त्यो मध्यको एक गीत हो यो ।

बुबाको ‘हामो नेपाल भ्रमण’ भन्ने एउटा किताव छ । त्यसमा तत्कालिन ७५ जिल्लाकै धेरै लोकगीत समेटिका छन् । यो गीत पनि पुस्तक भित्र छ । माइतमा रहेकी एउटा चेलीले घरमा जाने अनुभव व्यक्त भएको छ गीतमा ।

यो गीतको थिम पनि बुबाले गाउँघरबाटै लिनु भएको हो । मेरो धेरै चर्चा भएको गीत मध्य यो पनि एक हो । अझै पनि यो गीत रेडियाले बजाउने गरेको छ ।

करोडौँ मुटुहरुको एउटै ढुकढुकी नेपाल

न तिमी हुन्थ्यौ, न मनै हुन्थे, नभए नेपाल

करोडौँ मुटुहरुको एउटै ढुकढुकी नेपाल

अहिले अमेरिकामा बस्ने नवराज कार्की भन्ने एकजना ब्यक्ति छन् । यो गीतको शब्द उहाँले लेख्नुभएको हो । यो गीत पहिलेदेखि अहिलेसम्म पनि त्यतिकै चर्चित र निकै बज्ने गीत हो ।

सरोज गोपाल, अरुण थापा, बाबा राणा र मैले यो गीतमा स्वर दिएका छौ । यसै गीत मार्फत अरुण थापासँग सँगै गाउने अवसर समेत जुर्यो ।

धेरै जनालेसँगै गाउनु पर्ने भएकोले ग्रुपमा यो गीत के गाउनु जस्तो लागेको थियो पहिले । तर, यसको शब्द सुनेर छाड्न मनले मानेन । सबै प्रोफेसनल गायक भएकोले पनि लाइभ रेकर्डका लागि पनि धेरै गाहे त भएन ।

यो गीतले पनि मेरो संगीतिक करियरमा एउटा इट्टा थप्ने काम गर्यो । राष्ट्रप्रति सर्मपित यो गीत मेरो जीवनको पनि एक अंग हो जस्तो लाग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप