शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काभ्रेका ५ जनामा कोरोना सङ्क्रमण

शुक्रबार, २३ जेठ २०७७, १६ : ५८
शुक्रबार, २३ जेठ २०७७

काभ्रे । काभ्रेपलाञ्चोकका पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ देखिएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमाण्ड पोष्टले जिल्लामा एक महिलासहित पाँच जनामा कोरोना सङ्क्रमण देखिएको आज जनाएको छ ।  

रोशी गाउँपालिकाका तीन, पाँचखाल नगरपालिकाका एक र पनौती नपाका एकमा कोरोना सङ्क्रमण पुष्टि भएकोको कमाण्ड पोष्टका सदस्य एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाले जानकारी दिए । उनले भने, ‘काभ्रेका पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।’ उनका अनुसार सङ्क्रमितमध्ये एक महिला हुन् ।
 
सङ्क्रमितमध्ये तीन पुरुष र एक महिला केही दिनअघि मात्रै भारतबाट काभ्रेपलाञ्चोक आएको कमाण्ड पोष्टले जनाएको छ । सङ्क्रमित महिला धुलिखेल अस्पतालमा पित्तथैलीको शल्यक्रिया गर्न आएको र शल्यक्रियाअघि ती महिलाको पिसीआर परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको पोष्टले जनाएको छ । उनी पनौती निवासी हुन् । पाँचखालका सङ्क्रमित क्वारेन्टिन बसाइपछि घर फर्किएका व्यक्ति हुन् । रोशीका तीन सङ्क्रमित भने क्वारेन्टिनमै रहेको जनाइएको छ । सङ्क्रमितको स्वास्थ्य सुरक्षामा विशेष निगरानी भइरहेको प्रमुख डा.झाले बताए ।
 
यसअघि यही जेठ १ गते राति काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचारका क्रममा कोरोना भाइरसका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ रामचोक २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो । कोरोना भाइरसबाट मृत्यु हुने ती महिला नेपालमा पहिलो घटना हो ।
 
भारतबाट करिब ३०० काभ्रेली स्थानीय तहका क्वारेन्टिनमा बसेका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका विदेशिएका काभ्रेलीमध्ये आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा नसक्नेलाई स्थानीय क्वारेन्टिनमा राख्ने तयारी गरेको छ । भारतलगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेली रहँदै आएको कमाण्ड पोष्टको तथ्याङ्कले देखाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप