बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धक सुशील कोइरालासमेत ४ जनामाथि भ्रष्टाचार मुद्दा

शुक्रबार, २३ जेठ २०७७, १६ : १७
शुक्रबार, २३ जेठ २०७७

काठमाडौँ । प्रिन्ट कागज खरिद गर्दा भन्सार छुटको लागि सिफारिस गरी रकम हिनामिना गरेको आरोपमा गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धक सुशील कोइरालासमेत ४ जनामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

गोरखापत्र संस्थान र प्रिन्टसेल इमेजिङ प्रा.लि. बीच न्यूज प्रिन्ट कागज खरिदसम्बन्धी सम्झौतामा भन्सार महशुलबापतको सम्पूर्ण रकम प्रिन्टसेल कम्पनीकै हुने भन्ने स्पष्ट व्यहोराको सम्झौताविपरीत तत्कालीन महाप्रबन्धक सुशील कोइरालासमेतको मिलेमतोमा आफूलाई फाईदा र सम्झौताको शर्तविपरीत भन्सार छुट गराई सार्वजनिक संस्थान गोरखापत्र संस्थानलाई हानी नोक्सानी गरेर २६ लाख १६ हजार १० रुपैयाँ प्रिन्टसेल इमेजिङ प्रा.लि. कम्पनीलाई फाइदा हुने गरी भन्सार छुट सिफारिस र भुक्तानी दिने लिने कार्य गरेको पुष्टि भएको दावी गरिएको छ ।

तत्कालीन महाप्रबन्धक सुशील कोइरालाले भन्सार छुटको सम्पूर्ण दायित्व प्रिन्टसेल कम्पनीको हुने भन्ने सम्झौताको विपरीत गोरखापत्र संस्थानको तर्फबाट भन्सार छुटको लागि गलत सिफारिस गरी आपूर्तिदाता कम्पनीलाई केही रकम पेश्की भुक्तानीसमेत गरेको आरोप छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ऐ. ऐनको दफा १७ बमोजिम कसुर भएकोले निज सुशील कोइरालालाई छब्बीस लाख सोह्र हजार दश रुपैयाँ बिगो कायम गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।

संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायले प्रिन्टसेल इमेजिङ कम्पनी प्रालिलाई भन्सार छुटबापत गोरखापत्र संस्थानले सिफारिस गरिसकेको अवस्थामा सो सिफारिसअनुसार भएको भन्सार छुट रकमलाई नजरअन्दाज गरी प्रिन्टसेल इमेजिङ प्रालि कम्पनीलाई फाइदा र गोरखापत्र संस्थानलाई हानी हुने गरी बदनियतपूर्ण तरिकाले पेश्की भुक्तानी तथा भन्सार छुट भएको रकम नकटाई सम्झौताअनुसारको सम्पूर्ण रकमको नै अन्तिम बिल भुक्तानी गरेको पनि दावी गरिएको छ । उनलाई पनि छब्बीस लाख सोह्र हजार दश रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

त्यस्तै, तत्कालीन अर्थ निर्देशक राम सुन्दर चौधरी तथा कागज आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रालिका सञ्चालक दीपककुमार भंसालीसँग छब्बीस लाख सोह्र हजार दश रुपैयाँ माग दाबी गरी शुक्रबार विशेष अदालत काठमाडौँमा आरोप–पत्र दायर गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप