बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड–१९ बीमालेख पुनः बिक्री गर्न स्वीकृति

शुक्रबार, २३ जेठ २०७७, १५ : ४०
शुक्रबार, २३ जेठ २०७७

बीमा समितिले कोभिड–१९ बीमालेख पुनः बिक्री गर्न स्वीकृति दिएको छ । गत वैशाख ७ गतेबाट कार्यान्वयनमा आएको कोरोना बीमालेखमा जोखिम बहन गर्ने क्षमता नभएको भन्दै बिहीबार स्थगित गरिएको थियो ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले कोरोना बीमा बजेटमा समावेस गरिएको र राष्ट्रिय महत्वको कार्यक्रम समेत भएकोले केही परिमार्जन गरी पुनः विक्री गर्न स्वीकृति दिइएको बताए । उनले बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, बीमा समिति र नेपाल सरकार समेत गरी संयुक्त रुपमा बीमालेखलाई अगाडी बढाउने सहमति भए अनुसार बीमालेखलाई निरन्तरता दिने निर्णय भएको बताए ।

अध्यक्ष चापागाईंले अव जारी गरिने कोरोना बीमालेख अनुसार २०७७ चैत मसान्तसम्मको मात्रै जोखिम बहन हुने बताए । यससँगै आजदेखि बीमालेख खरिद गर्नेको आगामी चैत मसान्त सम्मका लागि मात्रै बीमा हुने छ । यस अघि जारी भएका बीमालेखहरुमा भने खरिद गरेको मितिले १ वर्षको समय सम्मको जोखिम बहन हुने उनले बताए ।

बीमा शुल्क जम्मा भए अनुसार बीमा पुल मार्फत दायित्व भुक्तानी हुने छ । त्यसपछि मात्रै नेपाल पुनर्बीमा कम्पनी, बीमा समिति र सरकारले समेत व्यहोर्ने गरी बीमालेख जारी गरिएको हो । नेपाल बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले १ अर्ब रुपैयाँ सम्मको जोखिम बीमा संस्थाहरुबाट हुने बताए । त्यस्तै पुनर्बीमा कम्पनीले १ अर्ब रुपैयाँ जोखिम बहन गर्ने छ । त्यसपछिको ५० करोड बराबरको जोखिम बीमा कम्पनीहरुको रिजर्भमा रहेको रकमबाट बहन हुने छ भने बाँकी जोखिम बीमा समिति र नेपाल सरकारले बहन गर्ने सहमति भए अनुसार पुनः जारी गरिएको अध्यक्ष पाण्डेले बताए ।

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले ३५ हजार नागरिक सम्मको जोखिम ब्यहोर्न सक्ने गरी कोरोना बीमालेख पुनः जारी गरिएको बताए । उनले कोरोना बीमाको पुर्नबीमा नहुने भएकाले सरकारको समेत सहभागिता हुने गरी बीमालेख जारी गर्ने सहमति भएको बताए ।

निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिको संयुक्त पहलमा जारी गरिएको कोरोना बीमामा अहिले सम्म ३ लाख २५ हजार नागरिक सहभागि भएका छन् । बीमा समितिका अध्यक्ष चापागाईंले अहिले सम्म ३० अर्ब भन्दा माथिको बीमा जोखिम पुगेको बताए । अब जारी गरिने बीमाको कटअफ समय चैत मसान्त सम्म हुने छ भने यस अघि खरिद गरेकाको हकमा भने पुरै एक वर्ष सम्म रहने अध्यक्ष चापागाईंले बताए ।  

बीमा समितिले बीमाङ्क रकमको आधारमा ‘क’ र ‘ख’ वर्ग निर्धारण गरी घातक रोग सरहको बीमालेख अनुसार हुनेगरी कोभिड–१९ बीमालेख जारी गर्ने व्यवस्था गरेको थियो । ‘क’ वर्गको बीमालेखमा १ लाख रुपैयाँको बीमाङक रकम हुने र उक्त बीमाका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ र परिवार वा समूहको बीमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँका दरले बीमा शुल्क लाग्ने छ । यस्तै ‘ख’ वर्गकोमा बीमाङक रकम ५० हजार रुपैयाँ तोकि प्रति व्यक्ति ५ सय रुपैयाँ र परिवार वा समुहको बीमा गर्दा प्रति व्यक्ति ३ सय रुपैयाँका दरले बीमा शुल्क लाग्ने छ । यस्तै क्षतिपूर्ति दाविका लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतिक्षा गर्नुपर्ने छ भने भुक्तानी दावीका लागि पीसीआर प्रविधिबाट गरिएको रिपोर्टमा कोरोना पोजेटीभ हुनुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप