बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको सकारात्मक पाटो : न अस्पतालमा बिरामी, न घाटमा शव

बिहीबार, २२ जेठ २०७७, २२ : ११
बिहीबार, २२ जेठ २०७७

गुल्मी । ‘दिनमा एउटा न एउटा शव नल्याए सिध्रो पोल्नु पर्ने अवस्था थियो रिडी घाटमा,’ गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष रामलाल विकले भने, ‘लकडाउन यता दिनको एउटा होइन, हप्ताको एउटा शव पनि ल्याएको देखिन छाडेको छ ।’

उनले कोरोनाको सन्त्रास र लकडाउन यता रिडी घाटमा लास आउने क्रम कमी हुँदै गएको बताए । हरेक वर्ष यो याम रुघा–खोकी, ज्वरो र झाडाबान्ताका बिरामीको संख्या बढ्ने गर्दछ । तर यस वर्ष गुल्मीसहित पहाडी जिल्लामा कतै पनि यस्ता खालका बिरामी बढेको पाइँदैन ।

विगतमा कयौँ वर्ष चैतदेखि भदौसम्म झाडाबान्ताका बिरामी बढेर महामारी कै रुप लिने गरेको बुढापाकाहरु बताउँछन् । यो समय दादुराका बिरामी पनि देखिन्थे ।

तर अहिले त्यस्ता बिरामी देखिएका छैनन् । जिल्ला अस्पताल गुल्मी कै तथ्याङ्कले पनि लकडाउन यता बिरामीको संख्यामा निकै कमी आएको छ । जिल्ला अस्पतालका मेसु डाक्टर उत्तम पाच्या भन्छन्, ‘विगतका वर्षहरुमा वैशाख–जेठतिर रुखाखोकी, ज्वरो र झाडाबान्ताका बिरामी दैनिक दुई सयजना भन्दा बढी हुन्थे तर अहिले त्यस्ता बिरामीहरु आएका छैनन् ।’

रुघाखोकी, ज्वरो र झाडाबान्ताका बिरामीहरुको संख्या ह्वात्तै घट्नुको कारण कोरोनाको संक्रमणबाट बच्न मानिसहरुको सुरक्षित बसाई र सरसफाईमा ध्यानु दिनु नै रहेको डाक्टर पाच्याको बुझाइ छ । ‘मानिसहरु घरै बसेर सरसफाई र खानपिनमा ध्यान दिएका छन्,’ उनले भने, ‘होटलमा गएर खाँदैनन्, घरैको खाना र सरसफाई अनि हुलमुलमा नजानुको प्रभाव स्वास्थ्य क्षेत्रमा परेको छ ।’

ग्रामिण भेगमा रुघाखोकी तथा ज्वरोका बिरामीलाई अचेल घरेलु ओखती खुवाएर निको पार्ने गरिएको छ । पहिलाजस्तो सानोतिनो बिरामीमा आजकल अस्पताल लैजान छाडिएको छ ।

डाक्टर पाच्य भन्छन्, ‘स्वास्थ्यका दृष्टिले मानिसहरु अहिले जुन कुराबाट आफुलाई बचाइरहेका छन्, सधैँ त्यस्तै गर्न सके हरेकलाई फाइदा हुनेछ ।’ कोरोनाले ल्याएको एउटा सकारात्मक पक्षका रुपमा उनले यसलाई व्याख्या गरे ।

व्यक्तिगत खर्चमा कमी
लकडाउन अघि प्रत्येक दिन साँझ अबेरसम्म भट्टीमा देखिने पुरुषहरु अचेल लकडाउनका कारण घरमै सीमित भएका छन् । मदिरामा दैनिक २÷४ सय रुपैयाँ खर्च गर्ने उनीहरु अचेल घरमै सीमित भएपछि त्यो आर्थिक भार थपिन पाएको छैन ।

महिलामा पनि शृङ्गारका सामानमा हुने खर्च अचेल बन्द भएको छ । बजार बन्द भएका कारण शृङ्गारका सामान खरिद गर्न नपाइने र बाहिर सार्वजनिक कार्यक्रम नहुँदा महिलाले शृङ्गारमा पनि ध्यान नदिने भएका कारण शृङ्गारबापतको खर्च जोगिने गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप