नेपाल मेडिकल कलेजमा कार्यरत चिकित्सकमाथि भएको कुटपिटको विरोध
काठमाडौंको जोरपाटीस्थित नेपाल मेकिडल कलेजमा चिकित्सकमाथि भएको आक्रमणविरुद्ध बिहीबार काठमाडौँ न्यूरो तथा जनरल अस्पतालका चिकित्सकहरुले विरोध जनाएका छन् ।
अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले उक्त घटनाको विरोधमा हातमा कालोपट्टी बाँधेर भत्सर्ना गरेक छन् । उनीहरुले चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही नगरिएसम्म खबदारी गरिरहने समेत बताएका छन् ।
नेपाल मेडिकल कलेजमा जेठ १४ गते उपचार गराउन ल्याएका एक बिरामीको ज्यान गएको थियो । उक्त घटनामा चिकित्सक दोषी भएको भन्दै बिरामीका आफन्तले हातपात गरेका थिए । उक्त घटनाको विरुद्ध काठमाडौँ न्यूरो तथा जनरल अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ‘चिकित्सकमाथि आक्रमण गर्नेलाई धरौटीविना जेल’, ‘दण्डहीनताको अन्त्य गर’, ‘स्वास्थ्यकर्मीमाथि हुने आक्रमणविरुद्ध ऐन ल्याऊ’लगायत लेखिएको प्लेकार्ड बोकेका थिए । मेडिकल अफिसर इन्चार्ज डा. सुनिल भण्डारीको नेतृत्वमा अस्पतालका चिकित्सकहरुले करिब एकघन्टा बिरोध गर्दै दुर्व्यवहार गर्ने माथि कारबाही माग गरेका हुन् ।
विश्वमै कोरोना भाइरस संक्रमणको महामारीबीच आफ्नो ज्यानको बाजी राखेर काम गरिरहेका चिकित्सकमाथि दुर्व्यवहार हुनु निन्दनीय भएको कन्सल्टेन्ट फिजिसियन डा.प्रतिक पौडेलले बताए ।
यसअघि पनि धेरैपटक चिकित्सकहरुमाथि हातपात तथा दुर्व्यवहार हुँदै आए पनि सरकारले दोषीलाई कारबाही नगरिँदा चिकित्सकमाथि आक्रमण तथा दुव्यर्वहार हुन नरोकिएको अस्पतालका प्रबन्ध निर्देशक डा. लुजा मानन्धरले स्पष्ट पारे ।
उक्त विरोध कार्यक्रममा अस्पताल व्यवस्थापक उमेश खत्रीले समाजले स्वास्थ्यकर्मीहरुप्रति सकारात्मक व्यवहार गर्न सकेको खण्डमा मात्र अस्पतालहरु र स्वास्थ्यकर्मीले निर्धक्क भएर सेवा दिनसक्ने बताए ।