मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउन अवधिमा पनि पूर्वाधार विकासका कामलाई निरन्तरता

बिहीबार, २२ जेठ २०७७, १२ : ५७
बिहीबार, २२ जेठ २०७७

काठमाडौं । लकडाउनका बीचमा पनि काठमाडौँ महानगरपालिकाले विकास निर्माण र पूर्वाधारका कामलाई निरन्तरता दिएको छ ।

 काठमाडौँ महानगरपालिका शहरी पूर्वाधार विभागका प्रमुख राम थापाले बन्दाबन्दीको समयमा पनि आकाशे पुल निर्माणसँगै अन्य भौतिक पूर्वाधारका काम अघि बढिरहेको जानकारी दिए । ‘केही दिन अघि मात्रै वडा–८ को जयबागेश्वरीमा सार्न मिल्ने आकाशे पुलको शिलान्यास भएको छ,’ थापाले भने, ‘माइतीघर नजिकै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छेउको निर्माणधिन आकाशे पुल करीब–करीब निर्माण सम्पन्न हुने क्रममा छ । बन्दाबन्दीमा समेत कामलाई निरन्तरता दिएर सकेसम्म असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने तयारी छ ।’ 

उनले जयबागेश्वरीमा केही दिन अघि मात्रै शिलान्यास गरेको पुल निर्माणको कामलाई पनि निरन्तरता दिने बताए । 

जयबागेश्वरीको सार्न मिल्ने आकाशे पुलको शिलान्यास संघीय सांसद् गगनकुमार थापाले गरेका थिए। महानगरपालिकाका काममा संघीय र प्रदेश सांसदहरुले समेत सहभागिता जनाउँदा विकास निर्माणका कामलाई दू्रततर गतिमा अघि बढाउन थप सहज हुने महानगरपालिकाको बुझाई छ ।  

८२ लाख ६६ हजारमा निर्माण हुँदै गरेको चावहिलको पुल निर्माणको काम पनि अघि बढेको उनले जानकारी दिए । 

 यहि आर्थिक वर्षमा कम्तीमा ६ स्थानमा अकाशेपुल निर्माण गर्ने योजना भए पनि विभिन्न कारणले तीन वटा मात्रै अघि बढेको बताए । ‘हामीले यही आर्थिक वर्षमा चावहिल, जयबागेश्वरी, सिंहदरबार अघि, नयाँ बानेश्र, कोटेश्वरलगायतका स्थानमा यस्ता पुल निर्माण गर्ने योजना बनाएका थियौँ,’ उनले भने, ‘तर, नयाँ बानेश्वर र कोटेश्वरमा सडक विभागले निर्माण गर्ने भनेकाले अन्य ठाउँको पहिचान गरिरहेका छौँ । कम्तीमा १० स्थानमा यस्ता पुल निर्माण गर्ने महानगरपालिकाको योजना छ ।’

उनले विभिन्न वडाका काम पनि लकडाउनका बेलामा समेत सामाजिक दूरी कायम गर्दै र सुरक्षाका उपायहरु अपनाएर अघि बढाएको बताए । 

करीब २ सय करोडका आयोजनाहरु चालु अवस्थामा रहेको उनले जानकारी दिए । उनले महानगरपालिका क्षेत्र भित्रका सामूदायिक विद्यालयमा एकै प्रकारको रंगरोगन गर्नेलगायतका कामलाई पनि बन्दाबन्दीका बेला समेत निरन्तरता दिएको जानकारी दिए । 

महानगरपालिकाले सामुदायिक विद्यालय भित्रका खुला स्थानहरुलाई धुलोमुक्त बनाउने, फलफुलका विरुवा रोप्ने, लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय निर्माण गर्ने, शुद्ध पिउने पानीको व्यवस्था गर्ने, खुला क्षेत्रमा पानी पुनर्भरण (रिचार्ज) कार्यक्रम, फोहोरमैला राख्ने भाँडोको प्रवन्ध गर्ने, सबै विद्यालयमा बालमैत्री चित्र र महावाणी लेख्ने एवं एउटै रंग लगाउने कार्यक्रम सञ्चालन गर्ने जस्ता नीति लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप