शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धरानमा ग्यास चुहिएर आगलागी हुँदा २ जनाको मृत्यु

बिहीबार, २२ जेठ २०७७, ११ : ४६
बिहीबार, २२ जेठ २०७७

धरान । सुनसरीको धरानमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ स्थित स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आज बिहान आगलागी भएको हो । 

आगलागीमा परि श्रेष्ठका ८७ वर्षीया आमा धनकुमारी श्रेष्ठ र ५८ वर्षीया बहिनी सीता श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक (इन्सपेक्टर) हेमराज ओलीका अनुसार  मृतक दुवै जनाको शव घरको तलामाथि जलेको अवस्थामा भेटिएको हो ।

माथिल्लो तलामा रहेकी फरक क्षमताकी छोरी निकाल्न जाँदा आमाको पनि जलेर मृत्यु भएको हुनसक्ने इन्सपेक्टर ओलीको भनाइ छ । आगलागी हुन थालेपछि धनमाया आफ्नी छोरीलाई लिन माथि गएकी स्थानीयवासीले बताए । ग्यास चुहिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको भए पनि प्रहरीले यसबारे अनुसन्धान थालेको इन्सपेक्टर ओलीले बताए । आगलागीबाट नरबहादुरको काठको दोमल्ले घर समेत जलेर नष्ट भएको छ । 

बिहान ८ः१५ बजे सुरु भएको आगो धरानका दुई र इटहरीको एक दमकलले निभाएका थिए । आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रण्मा आएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप