शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विज्ञहरुसँग प्रधानमन्त्रीको ५ घण्टा लामो छलफल : लकडाउन खुकुलो पार्न सुझाव

बुधबार, २१ जेठ २०७७, २१ : ५२
बुधबार, २१ जेठ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न क्षेत्रका विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको छलफलमा जनस्वास्थ्यविद्, अर्थविद लगायतको टोलीले मोडालिटी परिवर्तन गरेर अघि बढ्न सुझाव दिएको जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले रातोपाटीलाई जानकारी दिए । 

झन्डै ५ घण्टासम्म चलेको बैठकमा प्रधानमन्त्रीले सुरुमा विज्ञहरुलाई पालैपालो सुझाव दिन समय दिएका थिए । त्यसपछि आफ्नो विचार राख्दै प्रधानमन्त्रीले विज्ञ समूहको सुझावलाई ध्यानमा राख्दै लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे आवश्यक निर्णय लिने बताएका छन् । 

प्रधानमन्त्रीलाई विभिन्न क्षेत्रका झन्डै ३० जना विषयविज्ञहरूले आफ्नो सुझाव पेस गरेका थिए । 

प्रधानमन्त्रीले अहिले विभिन्नथरी विचार आएको भन्दै लकडाउन खुकुलो पार्ने कि नपार्ने ? पार्ने हो भने कसरी पार्न सकिन्छ भनेर सुझाव लिएका थिए । 

यस्तै क्वारेन्टाइनको व्यवस्थापन कसरी गर्ने ? विदेशबाट आएका नेपालीलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पनि प्रधानमन्त्रीले राय संकलन गरेका छन् । 

प्रधानमन्त्रीसँगको छलफलमा रहेका अधिकांश विज्ञहरुले लकडाउन खुकुलो बनाउन सुझाव दिएका छन् । 


छलफलमा विज्ञहरुले सुरक्षा विधि अपनाउँदै अत्यावश्यक सेवाका साथै अन्य खुद्रा पसल, निजी सवारी सधान सञ्चालन गर्न पनि सुझाव दिएका छन् । 

चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरुले क्वारेन्टाइनको अवस्था सुधार गर्न, निजी अस्पतालमा पनि कोरोना परिक्षणको अनुमति दिन सुझाव दिएको डा. दीक्षितले जानकारी दिए ।

उनले भने,‘राज्यले पनि पर्याप्त परीक्षण नगर्ने, निजीलाई पनि नदिने हो भने समस्या जटिल भएर जान्छ । क्वारेन्टाइनहरुको अवस्था सुधार गरेर जानुपर्छ भनेर सुझाव दिएँ ।’

छलफलमा सहभागी अर्थविद्हरुले कोरोना संक्रमणका विच कसरी अर्थतन्त्रलाई चलायमान बनाएर जान सकिन्छ भनेर सुझाव दिएका थिए । 

प्रधानमन्त्रीले आफूले धेरै सुझाव पाएको भन्दै सुझावको फिल्टर गरेर आवश्यक छलफलपछि निर्णय गर्ने जानकारी गराएका छन् । 

अर्थविद्हरु रामेश्वर खनाल, पिताम्बर शर्मा, स्वर्णीम वाग्ले रअन्य ७ जना चिकित्सक लगायत झन्डै ३० जनाले प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । पछिल्लो समय लकडाउनको विकल्प खोजिनु पर्ने भन्दै सरकारमाथि चौतर्फी दवाव बढ्दै आएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप