बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लक्षणरहित कोरोना रोगी बढ्दै जाँदा स्वास्थ्यकर्मीहरु जोखिममा

उचित सुरक्षा उपकरणको अभावमा स्वास्थ्यकर्मीहरु नै कोरोना संक्रमित हुने घटना बढ्दो
बुधबार, २१ जेठ २०७७, २१ : ३५
बुधबार, २१ जेठ २०७७

कोरोना संक्रमित संख्या बढेसँगै कोरोना पहिचान र उपचारमा संलग्न स्वास्थ्यकर्मी पनि संक्रमति हुन थालेका छन् । यसै मेसोमा पछिल्लो पटक सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) का स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएसँगै सम्पूर्ण सेवा बन्द गरेको घोषणा उक्त अस्पतालले बुधबार गरेको छ । केएमसी अस्पतालको आकस्मिक कक्षमा खटिने २ जना चिकित्सक र  २ जना नर्सलाई कोरोना देखिएको छ ।

http://www.collegesnepal.com

यस अघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट कन्ट्याक्ट ट्रेसिङमा खटिएका ललितपुर बस्ने एक जना डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको थियो । नेपाली सेनाका एक डाक्टरलाई कोरोना संक्रमण भएसँगै हालसम्म चार जना डाक्टरहरु कोरोना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

यसअघि नै राजधानीकै स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालका एक जना स्वास्थ्यकर्मीलाई  पनि कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौं भक्तपुर, वीरगञ्ज, धनकुटा लगायतका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमध्ये हालसम्म ८ जना नर्स, ४ जना डाक्टर र ३ अहेव कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमण तिव्र गतिमा फैलिएका देशमा स्वास्थ्यकर्मीमा संक्रमण र उपचारमा संलग्न स्वास्थ्यकर्मीको कोरोना संक्रमणकै कारण मृत्यु भएको समाचार आइरहेको छ ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई अस्पतालहरुले सुरक्षात्मक सामाग्री उचित व्यवस्थापन गर्न नसकेकाले स्वास्थ्यकर्मी संक्रमित भएको स्वास्थ्य विज्ञहरु ठान्छन् । 

कोभिड अस्पतालसँगै अन्य अस्पतालमा उपचारमा संलग्न स्वास्थ्यकर्मीमा कोरोना संक्रमण दर बढ्दै जानु भनेको अस्पतालहरुको कमजोर व्यवस्थापनको कारण पनि हुन सक्ने जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डे बताउँछन् ।

वर्तमान समयमा कोरोना संक्रमितको संख्या बढ्न सक्ने भएकाले अस्पतालमा उपचारको क्रममा स्वास्थ्यकर्मी र उपचार गर्न आएका सर्वसारण संक्रमित भए भन्दैमा अस्पतालको कक्ष, र अस्पताल नै सिल गर्नुलाई विकल्प मान्न नहुने जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डेको भनाइ छ ।


उपचारमा संलग्न स्वास्थ्यकर्मी कोरोना संक्रमणको जोखिममा पर्नु भनेको अस्पताल नै उच्च जोखिममा पर्ने भएकाले अस्पतालहरुले सुरक्षा कवजसँगै जाँचपडतालका लागि पूर्व तयारी गर्नुपर्ने उनी बताउँछन् । कोरोनाविरुद्धको लडाइँमा उपचारको अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई पर्याप्त मात्रामा सुरक्षाकवज पिपिइ उपलब्ध गराउनुपर्ने खाँचो उनी औंल्याउँछन् । त्यसका साथसाथै ती सुरक्षाकवचहरुको सही प्रयोगको बारेमा स्वास्थ्य संस्थाहरुले जानकारी राख्नुपर्ने समेत उनी बताउँछन् ।

वर्तमान समयमा कोरोना संक्रमितको संख्या बढ्न सक्ने भएकाले अस्पतालमा उपचारको क्रममा स्वास्थ्यकर्मी र उपचार गर्न आएका सर्वसारण संक्रमित भए भन्दैमा अस्पतालको कक्ष, र अस्पताल नै सिल गर्नुलाई विकल्प मान्न नहुने उनको भनाइ छ ।

लक्षणरहित अवस्थाका कोरोना संक्रमितहरु परीक्षणबाट पत्ता लाग्न  थालेकाले कोभिड अस्पतालसँगै अन्य स्वास्थ्य उपचार गराउने अस्पतालहरुमा पूर्व तयारी गरिनुपर्ने खाँचो शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादर पुन औंल्याउँछन् । त्यसका साथै सम्बन्धित निकायसँग समन्वय गरेर कोरोना भाइरस विरुद्ध लड्नुको विकल्प नभएको उनी बताउँछन् ।

कोरोना बाहेक अन्य रोगको उपचार हुने अस्पतालहरुमा महामारीको बेला जोखिमबाट बँच्नको लागि गुणस्तरीय सुरक्षात्मक सामाग्रीको व्यवस्थापन गरेर तयारी अवस्था  बस्नुपर्ने उनी बताउँछन् ।

नेपालमा जनसंख्याको अनुपातमा चिकित्सकको उपलब्धता कम छन् ।   यस्तो अवस्थामा स्वास्थ्यकर्मी नै संक्रमित हुने दर बढयो भने आपतकालीन अवस्था नआउला भन्न सकिदैन । त्यसैले स्वास्थ्यकर्मी संक्रमित भएर अस्पतालका सम्पुर्ण सेवासुविधा केही समयको लागि रोक्नुपर्ने स्थिति आयो भने त्यसले गम्भीर स्वास्थ्य समस्या पैदा हुने र कोरोनाका भन्दा पनि अन्य रोगका विरामीहरु  मारमा परेर भयावह स्थिति आउन सक्ने चेतावनी स्वास्थ्य विज्ञहरु दिन्छन् ।

अहिले कोरोना महाव्याधिका विरुद्ध अग्रमोर्चामा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई भौतिक रुपमा सुरक्षात्मक सामाग्रीसँगै मानसिक रुपमा सहज भएर काम गर्ने वातावरण सरकारले बनाउन नसकेको गुनासो स्वास्थ्यकर्मीहरुले गर्दै आएका छन् ।

उनीहरुको भनाइमा अस्पतालहरुले सावधानी नअपनाइकन कोरोनासँगै अन्य रोगको उपचारलाई समानान्तर रुपमा अघि बढाइरहेमा त्यसले ठूलो स्वास्थ्य समस्या पैदा हुन सक्ने विज्ञहरु बताउँछन् ।

विगतदेखि नै कोरोनाका विरुद्ध अग्रमोर्चामा खटिएर काम गर्ने स्वास्थ्यकर्मीले अस्पताल हाताभित्र खानेबस्ने व्यवस्था मिलाइदिन माग गरेपनि तद्अनुरुप अस्पतालहरुले व्यवस्था गर्न सकेका छैन । यो स्थितिमा अधिकांश स्वास्थ्यकर्मी समेत जोखिम मोल्दै घरबाटै आउनेजाने गरेका छन् । बिरामीको प्रत्यक्ष सम्पर्कमा हुने स्वास्थ्यकर्मी घरमा सहज रुपमा बस्न नसक्नेलाई बास स्थानको व्यवस्था समयमै मिलाउन नसकेमा झन जोखिम  बढ्ने आवाज लामो समयदेखि उठ्दै आएपनि त्यसलाई सम्बोधन गर्ने दिशामा खासै पहल हुन सकेको देखिँदैन । डाक्टर पुनका अनुसार अस्पतालहरुले उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीका लागि सुरक्षात्मक गुणस्तरीय सामाग्रीहरु पिपिइसँगै काम गर्ने समय तालिकालाई सही तरिकाले व्यवस्थापन गर्न सकेको खण्डमा स्वास्थ्यकर्मीलाई खाने बस्ने व्यवस्था नमिलाउने स्थिति पनि हुन सक्छ । 

लक्षणरहित कोरोना संक्रमणका कारण स्वास्थ्यकर्मी झन जोखिममा

सार्स–कोभ–२ नाम दिइएको नोबेल कोरोनाभाइरसले संक्रमण गरेपछि  सामान्यतः ज्वरो, खोकी, छाती दुख्ने लक्षण देखापर्ने गर्छ । तर नेपालमा कोरोना संक्रमितहरु विना लक्षण देखिइरहेको सरुवा रोग विशेषज्ञ डाक्टर पुन बताउँछन् । पछिल्लो समयमा यस्ता लक्षणरहित कोरोनासंक्रमणहरु फेला पर्दै जाँदा  स्वास्थ्यकर्मी झन जोखिममा परेको उनी बताउँछन् ।

लक्षणरहित कोरोनासंक्रमित अरु नै समस्या लिएर अस्पताल आएको अवस्थामा निजबाटस्वास्थ्यकर्मीमा सजिलै कोरोना सर्न सक्छ । त्यसैले कोरोनासंक्रमितहरु लक्षणरहित अवस्थामा छँदा उनीहरुमा  संक्रमणको आशंका र  पहिचान  परीक्षणबिना गर्न  नसकिने भएकोले उपचारमा आएका रोगीहरुका बारेमा अस्पतालहरुले विशेष सावधानी अपनाउनुपर्ने डा. शेरबहादुर पुन बताउँछन् ।


उनका अनुसार, त्यस्ता लक्षणरहित कोरोनासंक्रमित अरु नै समस्या लिएर अस्पताल आएको अवस्थामा निजबाटस्वास्थ्यकर्मीमा सजिलै कोरोना सर्न सक्छ । त्यसैले कोरोनासंक्रमितहरु लक्षणरहित अवस्थामा छँदा उनीहरुमा  संक्रमणको आशंका र  पहिचान  परीक्षणबिना गर्न  नसकिने भएकोले उपचारमा आएका रोगीहरुका बारेमा अस्पतालहरुले विशेष सावधानी अपनाउनुपर्ने उनी बताउँछन् ।

कोरोना कुन–कुन स्थान, कुन मान्छेबाट संक्रमण हुन्छ भन्ने यकिन गर्न गाह्रो भएको अवस्थामा कोभिड अस्पतालसँगै अन्य अस्पतालले सुरक्षाको लागि उचित पूर्व तयारी गरेमा अस्पतालका कक्ष तथा अस्पताल नै शिल गर्नुपर्ने अवस्था नआउने डा. पुन बताउँछन् ।

अन्य देशमा कोरोनाको लक्षण देखापरेर मात्रै संक्रमित भएको पुष्टि भएका घटनाहरु बढी हुन्छन् । अधिकांशतः  कोरोनाको लक्षण देखिएका कारण आशंका  गरिन्छ । तर नेपालमा धेरै जनालाई लक्षणरहित कोरोना देखिएको कारण अर्को चुनौति थपिएको डाक्टर पुन बताउँछन् । कोरोना महाव्याधि रहेसम्म स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई गुणस्तरीय सुरक्षात्मक सामाग्री उपलब्ध गराउन   सम्वन्धीत निकायले कदम चाल्नुपर्ने उनी बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर खेम कार्कीका अनुसार उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणको जोखिम भएपनि स्वास्थ्यकर्मीलाई अस्पतालबाट मात्रै नभई अन्य क्षेत्रबाट पनि संक्रमण  हुन सक्छ । स्वास्थ्य मन्त्रालयले उपचारसम्बन्धी निर्देशिका बनाएर अस्पताललाई दिएकाले साही निर्देशिकाअनुसार अस्पतालहरुले काम गर्नुपर्ने उनी बताउँछन् । कोरोनाका लागि तोकिएका अस्पताललाई मन्त्रालयले १० लाखका दरले २५ अस्पताललाई सहयोग गरेको छ । स्वास्थ्यकर्मीका लागि सुरक्षा सामग्री, फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई घरमा ड्युटीमा आउन जान समस्या भएका बास स्थान खोज्ने काम अस्पतालहरुको भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप