शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रतिपक्षी दलको आरोप– प्रदेश २ सरकार ‘भिजनलेस’

बुधबार, २१ जेठ २०७७, १७ : २०
बुधबार, २१ जेठ २०७७

जनकपुर । प्रदेश नम्बर २ को सरकार भाषणवाजीमा मात्रै सिमित रहेको आरोप प्रतिपक्षी दलहरुले लगाएका छन् । लामो समयदेखि स्थगित गरिएको प्रदेशसभाको चौथो अधिवेशनको पहिलो सत्रमा प्रमुख प्रतिपक्षी दल नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलले  प्रदेश सरकार भाषणमा मात्रै सिमित रहेको आरोप लगाउँदै जनताको हितमा गर्न नसकेको आरोप लगाए ।

नेता मण्डलले कोरोना विरुद्धको लडाईमा प्रदेश सरकार सर्वसम्मति रुपमा जानुपर्नेमा एक्लै मनोमानी ढंगले सबै निर्णय गरेर अघि बढिरहेको समेत आरोप लगाए । उनले सरकारले समयानुकूल नीति अवलम्बन गर्न नसक्दा प्रदेशका जनता कोरोनाभन्दा पनि भोकमरीले जोखिममा पर्ने सम्भावना बढिरहेको बताए ।

उनले भने– कोरोना विरुद्धको लडाईमा एकताबद्ध भएर अघि बढ्नुपर्ने बेलामा पक्ष प्रतिपक्षको कुनै अर्थ छैन’ उनले भने, ‘तर सरकारले कहिल्यै प्रतिपक्षसँग सल्लाह लिन जरुरी नठान्नु, यो दुर्भाग्यपूर्ण हो ।’ त्यस्तै प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता रामसरोज यादवले प्रदेश नम्बर २ मा प्रदेश सरकार  छ भन्ने अनुभूति नै नभएको बताए । उनले प्रदेश सरकारलाई ‘काम न काजको’ संज्ञा दिए । प्रदेश सरकार अरुलाई जथाभावी आरोप लगाउन पछि नहट्ने तर आफु भने चोखो देखाउन निकै नाटकीय भाषणवाजी गर्नमा खप्पिस रहेको उनको आरोप थियो ।

उनले प्रदेश नम्बर २ कोरोना संक्रमणको केन्द्र बनिरहँदा समेत सरकारले ठोस योजना बनाउन नसकेको आरोप लगाए । क्वारेन्टाइन र आइसोलेसनको कहाली लाग्दो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले प्रदेश सरकार प्रदेशवासीको लागि हो भन्ने अनुभूति गराउन आग्रह गरे । उनले क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापन गर्न प्रदेश सरकारलाई कसले रोकेको भन्दै प्रतिप्रश्न समेत गरे । उनले भने, ‘प्रदेश सरकारको लापारबाहीका कारण क्वारेन्टाइनबाटै संक्रमण बढिरहेको हामीले महसुस गरेका छौँ ।’

आज बसेको प्रदेशसभा वैठकमा भने पत्रकारलाई निषेध गरिएको थियो । कोरोना महामारीको त्रास देखाउदैँ प्रदेशसभा सचिवालयले पत्रकारलाई पूर्ण रुपमा प्रवेश निषेध गरिएको सभामुख सरोजकुमार यादवका प्रेस संयोजक प्रभाकर सिंहले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप