बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान संशोधनको सवालमा कांग्रेसको ‘डबल रोल’ !

बुधबार, २१ जेठ २०७७, १५ : १०
बुधबार, २१ जेठ २०७७

काठमाडौं । सरकारले संविधान संशोधन प्रस्ताव पेस गरेलगत्तै नेपाली कांग्रेसलेमात्र होइन, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पनि संविधान संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर जारी गरेको नक्सालाई संविधानमा समावेश गर्न संशोधन प्रस्ताव ल्याएसँगै कांग्रेसले राजनीतिक मुद्दालाई समेटेर संविधान संशोधन प्रस्ताव ल्याएको हो । 
कांग्रेसले ल्याएको संविधान संशोधन प्रस्ताव सरकारलाई सहयोग गर्न हो या असहयोग ? आ–आफ्नै ढंगले चर्चा भइरहेको छ । 

जेठ १७ गते नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले गरेको निर्णयको चौथो बुँदामा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापनि एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गर्नुभएको सरकारले अघिल्लो संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्ताव पुनः दर्ता गर्न संसदीय दललाई निर्देशन गर्ने निर्णय यो बैठक गर्दछ ।’

अर्थात्, कांग्रेसले देशको संशोधित नक्सासँगै राजनीतिक मुद्दालाई पनि अहिले संविधान संशोधनको आवश्यकतामा समेटेको छ ।

कांग्रेसका तर्फबाट संशोधन प्रस्ताव ल्याउनेमध्येकै एक सांसद अमरेशकुमार सिंह सरकारलाई सहयोग गर्नकै लागि प्रमुख प्रतिपक्ष दलका तर्फबाट संशोधन प्रस्ताव ल्याइएको बताउँछन् । ‘राष्ट्रियता दुईवटा कुरामा हुन्छ, माटो र मानव,’ उनले भने, ‘सरकारले माटोमा आधारित राष्ट्रियता बलियो बनाउन संविधान संशोधन गर्न प्रस्ताव ल्याएको छ, हामीले नेपाली–नेपालीबीच राष्ट्रियता बलियो बनाउने किसिमले संविधान संशोधन प्रस्ताव ल्याएका छौं ।’
उनी संविधान संशोधन गर्नैपर्ने अवस्था आएका कारण यही समयमा सबै विषयलाई समेटेर प्याकेजमा संशोधन गर्नुपर्ने बताउँछन् । संविधान संशोधनको एजेण्डामा मुलुकलाई पटक पटक लैजान उचित नहुने उनको भनाइ छ ।
‘बारम्बार संविधान संशोधन गरिरहनु ठिक होइन,’ उनले भने, ‘अहिले संशोधन गर्नैपर्ने अवस्था छ, त्यसैले अरु विषयलाई पनि समेटेर प्याकेजमै संशोधन गरौं भनेर कांग्रेस केन्द्रीय समिति बैठकले नै निर्णय गरेको हो ।’


सांसद सिंहका अनुसार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग यसबारे छलफल गरेर सहमति जुटाउन कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पहल गर्नेछन् । ‘सरकारले ल्याएको संविधान संशोधन विधेयकमा कांग्रेसले मत दिने निर्णय गराउनेमात्र होइन, आफ्नो पार्टीले ल्याएको संशोधन विधेयकमाथि सत्तारुढ दलको समर्थन जुटाउने जिम्मा पनि उहाँकै हो,’ उनले भने, ‘संशोधन विधेयक दर्ता भएको छ, यसबारे नेकपासँग पनि छलफल हुन्छ ।’

सांसद उमाकान्त चौधरी पनि पार्टीले यसअघि नै संविधान संशोधन गर्न जरुरी ठानेका विषयलाई फेरि उठाएर सम्बोधनका लागि पहल गर्ने निर्णय गरेको बताउँछन् । ‘यो नयाँ कुरा होइन,’ उनले भने, ‘संविधान संशोधन गर्नुपर्छ भनेर कांग्रेस पहिला नै प्रष्ट भइसकेको हो, पहिला संशोधन गर्न खोज्दा तत्कालीन एमालेको असहयोगका कारण सफल भइएन, अहिले संविधान संशोधन गर्नैपर्ने अवस्था सिर्जना भएकाले यी विषयलाई पनि समेटेर संशोधन गर्नुपर्छ भन्ने पार्टीको मान्यता हो ।’

कांग्रेसको दोहोरो भूमिका !
एकातिर सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई समर्थन गरेको कांग्रेसले राजनीतिक मुद्दासहितको छुट्टै संशोधन प्रस्तावसमेत पेश गरेपछि कतिपयले कांग्रेस दोहोरो भूमिकामा देखिएको टिप्पणी गरेका छन् ।
राजनीतिक मुद्दा समेटेर संविधान संशोधन गर्नेबारे कांग्रेसले सरकारसँग छलफल नै गरेको छैन । अर्कोतिर प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकमै अहिले मुलुकको निशान छापसँग सम्बन्धित विषयलाई लिएरमात्र संशोधन गर्ने प्रष्ट पार्दै राजनीतिक मुद्दाबारे उपयुक्त समयमा निर्णय गर्ने बताएका थिए ।

मधेसका मुद्दालाई लिएर कांग्रेसले यसअघि नै संविधान संशोधनको पहल गरे पनि सफल हुन सकेको थिएन । तर अहिले देशको नयाँ नक्सा जारी भएसँगै संविधान संशोधन गर्नुपर्छ भन्ने विषयमा कांग्रेसलाई हेक्का नभएको होइन । मुलुक संविधान संशोधनको एजेण्डामा प्रवेश गर्न लागेको अवस्थामा कांग्रेस नेतृत्वले मधेसका मुद्दालाई समेत समेट्ने दिशामा सरकारसँग किन छलफल गरेन भन्ने प्रष्ट भएको छैन ।

एकातिर राष्ट्रियताको मुद्दामा अडिग रहेको सन्देश दिने र अर्कोतिर नयाँ नक्साबारे संविधान संशोधन प्रस्तावलाई सर्वसम्मत हुन नदिने गरी अर्को संविधान संशोधन प्रस्ताव ल्याएर संसदलाई ध्रुवीकृत तुल्याउने भूमिका कांग्रेस नेतृत्वले निर्वाह गरिरहेको छ ।

केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार पार्टीका ८ सांसदले संविधान संशोधन प्रस्ताव दर्ता गराए पनि उक्त प्रस्तावलाई पार्टी नेतृत्वले किन स्वामित्व लिन सकेको छैन भन्ने प्रश्न पनि अनुत्तरित नै छ । अर्कोतिर राजनीतिक मुद्दाका लागि पहल गरेजस्तो पनि गर्ने र उक्त मुद्दालाई सरकारको समेत साथ लिएर टुंगोमा पु¥याउने दिशामा प्रभावकारी भूमिका निर्वाह गर्ने परिदृश्यले कांग्रेसलाई यतिबेला दोहोरो भूमिकामा देखाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप