मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

माग सम्बोधन नभए देशभरका होटल बन्द गरेर सरकारलाई तालाचाबी बुझाउने चेतावनी

बुधबार, २१ जेठ २०७७, १५ : ०३
बुधबार, २१ जेठ २०७७

काठमाडौं । साना तथा मझौला होटल व्यवसायीले आफूहरुको माग सम्बोधन नभए देशभरका होटल व्यवसाय बन्द गरेर सरकारलाई तालाचाबी बुझाउने चेतावनी दिएका छन् । 

सोमबार र मंगलबार राजधानीमा बसेको बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका अध्यक्ष तथा काठमाडौँमा रहेका १० वटा इकाइ संघहरुका अध्यक्ष सहितको संयुक्त बैठकले कोभिड–१९ को प्रमुखः सिकार भएको पर्यटन क्षेत्रको माग र समस्यालाई सरकारले बजेटमार्फत सम्बोधन गर्न नसकेको भन्दै यस्तो निर्णय गरेको हो । 

कोभिड–१९ को संक्रमणबाट बच्न लागू गरिएको लकडाउनका कारण लामो समयदेखि बन्द रहेका व्यापार व्यवसाय र तिनमा परेको प्रत्यक्ष असरका कारण थला परेका व्यवसायीहरुको समस्या आर्थिक वर्ष २०७७÷७८ को बजेटमा सम्बोधन हुनेमा व्यवसायीहरु ढुक्क थिए । तर व्यवसायीहरुको सो समस्या सम्बोधन हुन नसकेपछि आफूहरु आन्दोलित हुनपरेको होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए ।

उप्रेतीले बजेटले पर्यटन क्षेत्रका साना तथा मझौला व्यवसायीहरुलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम नल्याएपनि व्यवसायीहरु सरकारसँग आशावादी भएको तर यसो हुँदा पनि सरकारकाले आफूहरुको माग सुनुवाई नगरे देशरका सम्पूर्ण होटल व्यवसाय बन्द गरेर सरकारलाई तालाचाबी बुझाउन बाध्य हुने बताए । 

त्यस्तै संघका महासचिव दामोदर नेपालले बैठकबारे जानकारी दिँदै कोरोनाका कारण पूर्णतः बन्द रहेको होटल तथा पर्यटन व्यवसाय अब उठ्नै नसक्ने गरी थला परेको र लकडाउन खुलेपछि पनि यथावत अवस्थामा व्यवसाय सुचारु हुन कम्तिमा पनि एक वर्ष लाग्ने भन्दै सो अबधिमा सरकारले व्यवसायीक घर भाडा, कर्मचारी व्यवस्थापनका साथसाथै बैंकिङ्ग कर्जाको ब्याज र किस्ता समेत छुट दिनु पर्ने बताए ।

आगामी वर्षको बजेटमा यी विषयहरु स्पष्ट रुपमा सम्बोधन नभएपनि व्यवसायीहरुको यावत समस्या सम्बोधन नभए साना तथा मझौला व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी महासंघको नेतृत्वमा देशभरका ७७ वटै जिल्लामा रहेका होटल तथा पर्यटन व्यवसाय पूर्ण रुपमा बन्द गरी सरकारलाई साँचो बुझाउने सम्मको निर्णय भएको नेपालले जानकारी दिए । 

यसअघि नै संघले १३ वटै जिल्लाबाट जिल्ला प्रशासन कार्यालय, प्रदेश मुख्यमन्त्री कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई समेत आफ्ना मागपत्र पेस गरेको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप