मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

साउनदेखि काठमाडौँमा मेलम्चीको पानी : घोषणा एकातिर, वास्तविकता अर्कोतिर

मङ्गलबार, २० जेठ २०७७, १८ : २९
मङ्गलबार, २० जेठ २०७७

सरकारले साउनदेखि काठमाडौँवासीको घरसम्म मेलम्चीको खानेपानी पुग्ने घोषणा छ । आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्षको शुरुदेखि मेलम्चीको पानी वितरण गरिने उल्लेख गरेका छन् । तर, सरकारले सरकारले घोषणा गरेकै समयमा काठमाडौंका उपभोक्ताले मेलम्चीको पानी उपभोग गर्न पाउने सम्भावना कठीन देखिएको छ । अर्थात सरकारको घोषणा एकातिर र वास्तविकता अर्कोतिर रहेको छ ।

बजेटको बुँदा नंम्बर २०० मा मेलम्ची खानेपानी काठमाडौँमा वितरण हुने विषय उल्लेख छ । मेलम्ची खानेपानी आयोजनाको आधारभूत पूर्वाधार निर्माणकार्य चालु वर्षभित्रै सम्पन्न गर्ने र आगामी आर्थिक वर्षको शुरुदेखि नै वितरण थालिने भनिएको छ ।

 बजेटले भनेअनुसार अबको एक महिना १० दिनपछि काठमाडौवासीले मेलम्चीको पानी पिउन पाउनुपर्ने हो । यदि बजेटले भनेजस्तै हुने हो भने काठमाडौँवासीको वर्षौको सपना पनि पुरा हुनेछ । 

यद्यपि, यी सबै विषयलाई थाती राखेर वास्तविकतातर्फ जाने हो भने बजेटले भनेजस्तै साउनदेखिनै मेलम्चीको पानी वितरण गर्ने सम्भावना छैन । आगामी आर्थिक वर्षको सुरुमै वितरण गर्ने भनिएपनि अझै मेलम्चीको धेरै काम बाँकी रहेको मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेश खत्री बताउँछन् ।

उनले आर्थिक वर्षको पहिलो चौमासभित्र काठमाडौंवासीले खानेपानी पाउने बताए । उनका अनुसार मेलम्चीको काम अझै बाँकी छ । जसमा हाइड्रोमेकानिकल सिस्टम अपरेड इन्स्टल गर्नुपर्ने छ । जसका लागि बाहिर (भारत) बाट विज्ञ झिकाउनुपर्ने हुन्छ । खत्री भन्छन्, ‘भारतबाट विज्ञ आए भने हामी उनीहरुको व्यवस्थापन गरेर काम लगाउथ्यौँ । उनीहरु आज भोलिमै आउनुपर्ने हो । तर अहिले परिस्थिति पनि फरक छ । उनीहरु चाँडै आए चाँडै काम सकिन्थ्यो ।’ 

खत्रीले पहिलो चौमासभित्र पानी काठमाडौंवासीलाई वितरण गर्न सकिए त्यसलाई आर्थिक वर्षको सुरुनै भन्न मिल्ने तर्क गरे । 

यसअघि सरकारले यही असारमै मेलम्चीको पानी  घरघरमा आउने बताएपनि आउन सकेन भने विगतमा पनि यस्ता भाका दर्जनौं पटक सरिसकेको छ । सरकारले खानपानी अब आउँछ भन्दै पटक पटक दिने आस्वासन विश्वासिलो नभएपछि आम नागरिक अझै पनि मेलम्चीको पानी आउनेमा शंका गर्छन् । 

अब सरकारलाई असारमै पानी ल्याउन नसकेको भनी बहाना बनाउने कारण पनि मिलेको छ । कोरोनाको कारण भएको लकडाउनले काम अघि बढ्न नसक्दा समयमै काम पूरा गर्न नसकिएको भन्ने तर्क गर्न उसलाई सजिलो हुनेछ ।  
दोस्रो चरणको निर्माण कार्य शुरु गर्न सरकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब ४६ करोड विनियोजन गरेको छ ।  यस्तै काठमाडौं उपत्यका खानेपानी ढल निकास व्यवस्थापनका लागि सरकारले ५ अर्ब ८९ करोड विनियोजन गरेको छ । 

६ वर्षमा सक्ने लक्ष्य लिएर शुरु भएको मेलम्ची खानेपानी आयोजनाले १८ वर्ष हुँदा समेत पूर्णता पाएको छैन । आर्थिक वर्ष २०५८÷५९ मा शुरु गरेर आव २०६४÷६५ मा सकिने लक्ष्य लिएको मेलम्ची खानेपानी आयोजनाले आर्थिक वर्ष २०७६/०७७ मा समेत पूर्णता नपाएको हो । हालसम्म आयोजनाको ९० प्रतिशत काम सकिएको भनिएको छ । २३ अर्ब ४५ करोडको लागत अनुमान गरिएको यस आयोजनाको काम ढिलाइ हुँदा लागत बढेको बढ्यै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप