शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार शर्माको स्मृतिमा पुरस्कार घोषणा

मङ्गलबार, २० जेठ २०७७, १४ : १४
मङ्गलबार, २० जेठ २०७७

काठमाडौँ ।  प्रेस सङ्गठन नेपाल, काठमाडौँ शाखाले एक वर्षअघि सवारी दुर्घटनामा ज्यान गुमाएका पत्रकार गोविन्द शर्मा घिमिरेको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गरेको छ । 
गत २०७६ जेठ १९ गते ललितपुरको धोवीघाटमा स्कार्पियो गाडीले उनी सवार मोटरसाइकललाई ठक्कर दिँदा शर्मा र मोटरसाइकल चालक नुवाकोटका कलाकार चन्द्रमणि मुडभरीको मृत्यु भएको थियो ।

शाखाले सोमबार शर्माको स्मृतिमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सङ्गठनका काठमाडौँ जिल्ला अध्यक्ष सागर पन्तले शर्माको स्मृतिमा एक अक्षय कोष खडा गरी युवा र क्रियाशील पत्रकारलाई वार्षिक रुपमा रु १० हजार राशीको पत्रकारिता पुरस्कार सञ्चालन गर्ने घोषणा गरे । नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाका अध्यक्ष शन्तराम विडारीले पनि शर्माको स्मृतिमा पुरस्कार स्थापना गर्ने बताए ।  

प्रेस सङ्गठनका केन्द्रीय संयोजक महेश्वर दाहालले शर्मा एक व्यावसायिक पत्रकार र युवा सङ्गठकसमेत रहेको बताए । सङ्गठनका केन्द्रीय सहसंयोजक गणेश बस्नेतले विधागत पत्रकारिता क्षेत्रमा शर्माले देखाएको सक्रियतालाई स्मरण गरी आफूलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए । 
सङ्गठनका नेता बलराम थापाले शर्मामा नेतृत्व, गतिशीलता र कुशल सञ्चारकर्मीको क्षमता रहेपनि अल्पायूमै जीवन गुमाउनुपरेकामा दुःख व्यक्त गरे। सङ्गठनका बागमती प्रदेश इञ्चार्ज विश्वमणि सुवेदी, उपत्यका प्रदेश इञ्चार्ज सुरोजङ्ग पाण्डे, उपत्यका सहसंयोजक प्रकाश सिलवाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, पत्रकार भावना विद्रोहीलगायतले शर्माप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । 

तत्कालीन प्रेस सेन्टर नेपाल, काठमाडौँ शाखाका अध्यक्ष शर्मा कृषि टेलिभिजनका संस्थापक र नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) का अध्यक्षसमेत थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप