मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मार्चयता पहिलोपटक स्पेनमा कोरोना संक्रमितको मृत्यु रोकियो

मङ्गलबार, २० जेठ २०७७, १३ : ४१
मङ्गलबार, २० जेठ २०७७

म्याड्रिड । युरोपेली मुलुक स्पेनमा मार्च महिनायता पहिलो पटक कोरोना भाइरसको संक्रमणका कारण २४ घण्टामा कुनै पनि व्यक्तिको मृत्यु नभएको अधिकारीहरुले बताएका छन् । 

आपतकालीन स्वास्थ्य सेवाका प्रमुख फर्नान्डो सिमोनले पछिल्लो स्वास्थ्य विवरण निकै बढी उत्साहप्रद रहेको बताए ।  पत्रकार सम्मेलनका क्रममा उनले २४ घण्टाका अवधिमा ७१ जना नयाँ संक्रमित व्यक्ति भेटिएको जानकारी दिए । ‘संक्रमण नियन्त्रण र रोकथामका क्षेत्रमा निकै सुधार भएको देखिएको छ । सरकारका प्रयासहरु सही दिशातर्फ उन्मूख भएको यसले प्रष्ट बनाएको छ ।’

स्पेनमा मार्च ३ मा पहिलो पटक दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । त्यसको दुई दिनपछि अर्को व्यक्तिको ज्यान गएको थियो । त्यसयता स्पेनमा मृत्यु हुनेको संख्या नाटकीय रुपमा बढेको थियो । अप्रिल २ मा एकै दिन ९५० जनाको मृत्यु भएको थियो ।

देशभर कूल संक्रमित २ लाख ४० हजार व्यक्तिमध्ये २७ हजार १२७ जनाको मृत्यु भएको औपचारिक स्वास्थ्य विवरणमा देखिएको छ ।  शुरुआती दिनहरुमा युरोपेली मुलुक इटालीपछि स्पेन सर्वाधिक प्रभावित थियो । तर भाइरसका कारण फ्रान्स र बेलायतलाई पनि आक्रान्त बनाएको थियो । 

स्पेनमा मध्य मार्चमा सरकारले लकडाउनलाई अति कडा बनाएको थियो । तर अहिले परिस्थितिमा निकै सुधार आएसँगै लकडाउनमा खुकुलो बनाउन थालिएको छ ।  तर स्पेनी सरकारले भाइरस प्रसारको खतरा अझै रहेको बताउँदै लकडाउन कुनै पनि बेला लगाउन सकिने बताएको छ । 

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आपतकाल घोषणा गर्न सक्ने अवशिष्ट अधिकार अरु दुई हप्ता बढाउन संसदमा प्रस्ताव लैजाने बताए । यो अधिकार प्राप्त गरेमा सरकारले मानिसलाई घरभित्र बस्नेगरी आदेश दिन पाउनेछ । –एपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप