शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–इजरायल सम्बन्धको ६० औँ वर्षगाँठ, दुई प्रधानमन्त्रीबीच खुशी साटासाट

सोमबार, १९ जेठ २०७७, २२ : २३
सोमबार, १९ जेठ २०७७

काठमाडौँ । नेपाल र इजरायलबीच कूटनीटिक सम्बन्ध कायम भएको ६० औँ वर्षगाँठका अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओली र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टेलिफोनमार्फत एक आपसमा खुशी एवं शुभेच्छा साटासाट गरेका छन् ।

दुबै प्रधानमन्त्रीले विगत ६० वर्षको अवधिमा दुई मुलुकबीच विकसित द्विपक्षीय सम्बन्धप्रति सन्तोष प्रकट गरे र यो सम्बन्धलाई आगामी दिन थप मजबुत बनाउन सहमति जनाए ।  द्विपक्षीय र बहुपक्षीय मञ्चहरुमा दुबै मुलुकको बढ्दो सहभागिता, जनस्तरमा कायम सम्बन्ध र आपसी सहयोगका विषयमा दुबै नेताले उच्च मूल्याँकन गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  उपयुक्त समयमा उच्चस्तरीय भ्रमण आदानप्रदान गरी द्विपक्षीय सम्बन्ध थप विस्तार गर्न पनि दुबै नेता सहमत भए ।

इजरायलले थुप्रै क्षेत्रमा अग्रता हासिल गरेको उच्चकोटिको प्रविधिबारे दुबै नेताले छलफल गरे । प्रधानमन्त्री ओलीले नेपालले प्राथमिकतामा राखेका कृषि र स्वास्थ्य जस्ता क्षेत्रमा इजरायलले हासिल गरेका ती विशेषज्ञता हस्तान्तरण हुनुपर्ने आवश्यकतामा पनि जोड दिए । उनले दुई मुलुकबीचको सम्बन्धको सेतुको रुपमा इजरायलमा रहेका नेपाली नागरिकको हेरचाहमा इजरायली सरकारले देखाएको तदारुकताको प्रशंसा पनि गरे । 

उनीहरुबीच कोभिड १९ को महामारी र यसले सर्वसाधारण जनताको आर्थिक–सामाजिक जीवनमा पारेका असरहरुबारे पनि वार्ता भएको थियो ।  कोरोना विषाणुलाई नियन्त्रणमा लिन र जनसाधारणको जीवन रक्षा गर्न नेपालले अपनाएका उपायहरुबारे प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीलाई जानकारी दिएका थिए भने कोरोना विषाणुको फैलावट रोक्न इजरायलले उठाएका कदमहरुको प्रशंसा पनि गरेका थिए ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा आजै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र इजरायली विदेश मन्त्री गाबी आस्केनाजीले एक आपसमा शुभकामना आदानप्रदान गर्नुभएको जनाइएको छ । एक अर्कालाई पठाउनुभएको सन्देशमा दुबै मन्त्रीले नेपाल र इजरायलबीच विगत ६० वर्षदेखि रहिआएको सुखद् सम्बन्धप्रति खुशी व्यक्त गर्दै वाणिज्य, मानव संसाधन, कृषि जस्ता सहयोगका सम्भावित क्षेत्रहरुमा आगामी दिन सहयोग अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप