शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिनेन्द्र रिजालको प्रश्नः एमसीसी अनुमोदन नभए प्रशारण लाइनका लागि बजेट कसरी व्यवस्थापन गर्नुहुन्छ ?

सोमबार, १९ जेठ २०७७, १६ : ०२
सोमबार, १९ जेठ २०७७

काठमाडौं । नेपाली काँग्रेसका सांसद मिनेन्द्र रिजालले एमसीसी सम्झौता संसदबाट अनुमोदन नभए प्रशारण लाइन निर्माणका लागि बजेट कसरी व्यवस्थापन गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी आएपनि नआएपनि प्रशारण लाइन निर्माण हुने सरकारले भनिरहेको प्रसंगमा उनले एमसीसी नभए स्रोतको व्यवस्थापन कसरी हुन्छ भन्दै प्रश्न गरे । बजेट विनियोजन विधेयकमाथिको सामान्य छलफलमा उनले भने, ‘विचार गर्न नै कठिनाइ भयो । एमसीसी आएपनि/नआएपनि प्रशारण लाइन बन्ने भन्नुभएको छ । तर आएन भने त्यो पैसा कहाँबाट ल्याउने ? संसदले नलिने निर्णय ग¥यो भने कुनै एउटा योजना काट्नुप¥यो के गर्ने ? पार्टीमा यो बहसलाई राजनीतिक व्यवस्थापन गर्न सक्नु भएन् भनेर तपाईको पार्टीको राजनीतिक लडाई संसदले व्यवहोरेर बस्नुपर्ने ? यो पैसा कहाँबाट आउँछ थाहा नपाएर हामीले बस्नुपर्ने ?’

एमसीसी पारित नभए यो निर्माणका लागि आन्तरिक वा वैदेशिक ऋणबाट बनाउने कि राजस्वबाट बनाउने भन्ने कुराको टुंगो लगाउन उनले आग्रह गरे । स्रोत व्यवस्थापनको टुंगो नलगाई संसदको अपमान हुनेगरी विनियोजन विधेयकमाथि छलफल नगर्न उनले आग्रह गरे ।

सांसद देवेन्द कँडेलले विद्युतिय सवारी, डिजेल पेट्रोलमा बढाइएको करमा असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्रीले सन् २०२० सम्म कुल सवारीको २० प्रतिशत सवारी विद्युतीय हुने घोषणा गरेपनि त्यो अनुसार अर्थमन्त्री अगाडी बढ्न नसकेको उनले बताए । उनले पीएचडी गरेर आएका अहिलेसम्मका अर्थमन्त्रीहरुले उपलब्धिमुलक काम गर्न नसकेको बताए । विदेशबाट पढेर आएपनि विद्धान अर्थमन्त्रीहरुले काम गर्न नसकेको उनले बताए । उनले भने, ‘हामीले जतिपनि डाक्टर भएका अर्थमन्त्री पायौँ उनीहरुबाट केही उपलब्धी पाएनौँ । हिजो डाक्टर नभएका अर्थमन्त्रीले ल्याएको बजेट उत्साहजनक थियो । तर विदेशमा पढेका डाक्टरहरुले काम गर्न सकेनन् ।

अहिलेका अर्थमन्त्री ज्यू कसैको आशिर्वादमा आउनुभयो उहाँले हामीलाइइ चिन्नुहुन्न् । उहाँको कृयाकलाप ठूला व्यापारी डिजेलमा भाउ बढाउने हवाई इन्धनमा भाउ नबढाउनेहरुका लागि ठिक छन् । तर ट्रयाक्टर चलाउने सर्वसाधारणका लागि यो उपयुक्त छैन् ।’

सांसद उमा रेग्मीले पीसीआर परीक्षणको दायरा बढाउन आग्रह गरिन् । संक्रमितको संख्या बढिरहेपनि सरकारले कोरोना नियन्त्रणभन्दा रक्षातिर बजेट बृद्धि गर्नुको पछाडिको रहस्य के हो ? भन्दै प्रश्न गरिन् । प्रधानमन्त्रीले कोही खाना नपाएर मर्दैनन् भनेपनि अहिले क्वारेन्टाइनमा रहेकाहरु खाना नपाएरै मरिरहको उनले बताइन् ।

कृषि, पशुपालन क्षेत्रमा आत्मनिर्भर हुने गरी रोजगारीका अवशर सिर्जना गर्न सरकार चुकेको बताइन् । सरकारले युवाहरु स्वदेशमै बसेर उद्यमी बनुन भनेर नचाहेको बरु खाडीमा गएर रेमिट्यान्स पठाउन भन्ने चाहाना देखिएको उनले बताइन् । अर्थमन्त्री खतिवडालाई उनले महिला विरोधी भएको बताइन् । उनले भनिन्, ‘अर्थमन्त्री महिला विरोधी हुनुहुन्छ । अर्थमन्त्रीले हामीलाई जनप्रतिनिधिको हिसाबले नहेरेपनि हामीलाई जनताले हेरिरहेका छन् । उहाँ जनताबाट नआएको हुनाले केही जनताको विषयमा थाहा छैन् ।’

महिलाका लागि कुनै प्याकेज बजेटमा नआएको उल्लेख गर्दै उनले जेष्ठ नागरिकहरुको भत्ता ५ हजार पु¥याउँछु भनेर किन ढाँट्नुभयो भन्दै प्रश्न गरिन् । चारैतिरबाट सीमा अतिक्रमण हुँदा पनि पोष्टहरु नबढाउनुको पछाडि के रहस्य छ भन्दै उनले प्रश्न गरे ।

सांसद डिला संग्रौलाले कर्मचारीहरुको भत्ता कटौती गर्न सक्ने सरकारले राष्ट्रप्रमुखहरुको कटौती गर्न सक्छ की सक्दैन भनेर प्रश्न गरिन् । आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीहरुको भत्ता कटौती गर्दा प्रमुखहरुको कटौती गर्नुपर्छ की पर्दैन् भनदै उनले प्रश्न गरिन् ।

उनले विनियोजन गरिएका शीर्षकहरु अपारदर्शी, असन्तुलित र परम्परागत रहेको बताइन् । उनले सरकारले प्राथमिकता तोक्न नसकेको समेत बताएकी छिन् । संघीयता विरोधी विनियोजन भएकोले यसले कोरोनापछि नेपाल छ भने आशा जगाउन नसकेको बताइन् । बजेट जनउत्तरदायी भन्दा कार्यकर्तामुखी भएको उनले दाबी गरिन् । देशमा संक्रमणको दर बढिरहेको अवस्थामा पनि पीपीआर परीक्षण बढाउनुको सट्टा आरडिटीलाई प्राथामिकता दिएर अनियमिता बढाएको आरोप उनले लगाइन् ।

सांसद पार्वता डिसी चौधरीले  कोरोनाको संक्रमण दिनप्रतिदिन बढिरहेका बेला सरकारले यसलाई प्राथाकितामा राख्न नसकेको बताइन् । आरडिटी परीक्षण सबै रद्द गरी पीसीआर परीक्षणका लागि बजेट विनियोजन गर्न उनले आग्रह गरिन् । जनताको जीवनभन्दा ठूलो कार्यक्रम अरु केही हुन नसक्ने उल्लेख गर्दै उनले बजेट उपयुक्त ढंगले विनियोजन गर्न आग्रह गरिन् । प्रधानमन्त्री क्षेत्र विकास कोष अन्तरर्गतको रकम कटौती नगरी सांसदहरुबीच नै अर्थमन्त्रीले विभेद गरेको उनले बताइन् । सांसद लक्ष्मी परियारले बजेटले राम्रो आश्वासन बाँडेपनि नेताहरुको प्रचारका लागि ठिक्क भएको बताइन् ।

स्वास्थ्य, शिक्षा क्षेत्रमा बजेट पर्याप्त हुन नसकेको उनले बताइन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट गतवर्ष दुरुपयोग भएको प्रसंग उल्लेख गर्दै उनले कार्यकर्ता पोस्ने बजेटले नेपाली समृद्ध हुन नसक्ने बताइन् । बजेट गरिब जनताका लागि माटोको पर्खाल जस्तो भएको उल्लेख गर्दै उनले भनिन्, ‘यो न चाट्न मिल्ने न खान मिल्ने । मेलम्चीको पानी साउनभित्र आउने भन्नुभएको छ । मेलम्चीको पानी बोतलमा भरेर ल्याउने हो । पाइपमा आउला भन्ने त मलाई लाग्दैन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप