बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रोग सर्ने डरले स्थानीयवासीले बनाउन दिएनन् विद्यालयमा क्वारेन्टाइन

सोमबार, १९ जेठ २०७७, ११ : १७
सोमबार, १९ जेठ २०७७

फैलिँदो कोरोना भाइरसले भारतबाट गृह जिल्ला जुम्ला आउने नागरिक अत्यधिक मात्रमा वृद्धि भएपछि अहिले कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइन भरिभराउ छ । त्यहाँको क्वारेन्टाइनले थेक्न सक्ने अवस्था नभएपछि सरकारको नीतिअनुसार स्थानीय तहले सामुदायिक विद्यालयमा क्वारेन्टाइन निर्माण गर्न खोजेपछि स्थानीयवासीले विरोध गरी अवरोध गर्ने गरेका छन् । कोरोना भाइरस सर्ने डरले गाउँबस्ती नजिक क्वारेन्टाइन बनाउन नहुने भन्दै स्थानीयवासीले विरोध गरेका हुन् । अहिले कर्णाली प्राविधिक शिक्षालय, दुर्गा मावि लाम्रा र सरस्वती मावि कुडारी गरी तीन वटा क्वारेन्टाइनमा ३८३ नागरिक बसेका छन् । 

बाहिरबाट आउने नागरिकको सङ्ख्या बढ्न थालेपछि सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउने सरकारको नीतिअनुसार क्वारेन्टाइन बनाउन खोज्दा स्थानीयवासीले विरोध गरेको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताइन्। उनले भनिन्, “राज्य यतिबेला सङ्कटमा छ । सबै सहयोग सर्मथन र हातेमालो गरी कोरोना भाइरसको नियन्त्रण र रोकथाम गर्नुपर्ने बेलामा जानेबुझेकै व्यक्तिले असहयोग गर्ने गरेका छन् ।” स्थानीयवासीलाई सम्झाउन र कुरा बुझाउन खोज्दा पनि बुझ्ने प्रयास नगरेको उनले टिप्पणी ग।िन् । 

चन्दननाथ नगरपालिका–१० कार्तिकस्वामीस्थित जनज्योति मावि र ९ नम्बर वडा श्रीढुस्कास्थित शम्भुनाथ ज्ञानकुञ्ज माविमा क्वारेन्टाइन बनाउन खोज्दा स्थानीयवासीले अवरोध गरेको उनले बताए । नगरपालिका–१० कार्तिकस्वामीका पदमबहादुर शाहीका अनुसार गाउँबस्ती नजिक क्वारेन्टाइन बनाउन नहुने भन्दै स्थानीयवासीले विरोध गरेका हुन् । उनले भने, “आइसोलेसन केन्द्र र अस्पताल नजिकका विद्यालयमा क्वारेन्टाइन बनाउन छोडेर टाढाका विद्यालयमा बनाउन खोज्दा स्थानीयवासीको विरोध हुनु स्वाभाविक हो । रोग सर्ने डरले गाउँबस्ती नजिक क्वारेन्टाइन बनाउनु हुँदैन । यसबाट नागरिक त्रसित छन् ।” 

लकडाउन अवधिभर जुम्लामा १२ हजार ९२ नागरिक भित्रिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस अवधिमा एक हजार २७३ जना क्वारेन्टाइनबाट घर फिर्ता भएका छन् । एक हजार ६८४ को पिसिआर परीक्षण हुँदा सबैको रिपोर्ट नेगेटिभ आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप