शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

म्याग्दीका संक्रमितसँग एउटै गाडीमा आएका ५ जना सम्पर्कविहिन भएपछि ...

आइतबार, १८ जेठ २०७७, १८ : १७
आइतबार, १८ जेठ २०७७

पोखरा । म्याग्दीका कोरोना संक्रमितसँग आएका ५ जना सम्पर्क विहिन भएपछि गण्डकी प्रदेशले सूचना निकालेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद विन्दु शर्माकाअनुसार संक्रमितसँग एउटै गाडीमा आएका ५ जना सम्पर्कमा नआएपछि सूचना निकाल्नु परेको हो ।

गत ९ गते भैरहवाको नमुना माविमा बनाइएको क्वारेन्टाइनमा बसेकाहरुलाई लिएर म्याग्दी हिंडेको गाडीमा सवार ५ जना सम्पर्कमा नआएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निर्देशक डाक्टर शर्माले संक्रमितसँग एउटै गाडीमा आएका हराएपछि विज्ञप्ति निकालेर सम्पर्कमा ल्याउन आग्रह गरिएको जानकारी दिए । ‘हामीसँग त्यस्तो संयन्त्र नै छैन’ उनले भने, ‘संक्रमितसँग एउटै गाडीमा आएकोहरुलाई पनि थाहा नहुन सक्छ, यसले थप जोखिम पनि बढ्ने भयो ।’
म्याग्दी यातायात प्रा.लि.को गाडी नम्बर ना ५ ख, २८९८ नम्बरको गाडीमा आएकामध्ये म्याग्दीका १ जना गएको १५ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्य निर्देशनालय गण्डकीकाअनुसार उक्त गाडीमा २३ जना यात्रु चढेका थिए ।

२३ यात्रुमध्ये १ जना गोरखा जानको लागि आँबुखैरेनीमा ओर्लेका थिए । लमजुङ जान ३ जना यात्री डुम्रेमा ओर्लेको निर्देशनालयले जनाएको छ । यस्तै पोखरा महानगरपालिकाको पुरानो बसपार्कमा २ जना यात्रु ओर्लेको निर्देशनालयले सूचना प्राप्त गरेको जनाएको छ । गोरखा, लमजुङ र पोखराका गरि ५ जना व्यक्ति सम्पर्कमा नआएको निर्देशनालयले जनाएको छ ।

म्याग्दीका संक्रमितसँगै आएको हुनाले पनि उनीहरुमा कोरोना संक्रमण हुन सक्ने निर्देशनालयले अनुमान लगाएको हो । निर्देशनालयले एउटै गाडीमा आएकाहरु सम्पर्कमा आउन समेत आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप