शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओलम्पिकमा तीन स्वर्ण जितेका बबी जोको निधन

आइतबार, १८ जेठ २०७७, १५ : ३२
आइतबार, १८ जेठ २०७७

अमेरिकी छोटो दूरीका धावक बबी जो मोरोको ८४ वर्षको उमेरमा निधन भएको छ । उनले १९५६ को ओलम्पिक खेलमा तीनवटा पदक जितेका थिए । 

उनको गृहनगरस्थित सान बोनिटो स्कुल डिस्ट्रिकले मोरोको निधनको पुष्टि गरेको हो, यस स्कुलमा मोरोकै नामबाट १२ हजार सिटसहितको रंगशालाको नामाकरण गरिएको छ ।  यहाँ सुपेरिटेन्डेन्ट डाक्टर नाते काम्र्यानले रंगशालाले विश्वप्रसिद्ध धावकको संझना दिलाउने बताए । स्कुल डिस्ट्रिकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सान बेनिटोले ओलम्पिकबाट धेरै स्वर्ण बोकेर ल्याउने आफ्ना गृहनगरका स्टारलाई सधैं सम्झनेछ ।’  

मोरोले १९५६ को मेलवर्न ओलम्पिकमा १ सय मिटर, २ सय मिटरतर्फ व्यक्तिगत स्वर्ण जितेका थिए । यही ओलम्पिकमा उनीसहितको अमेरिकी टिमले ४ गुणा १ सय मिटर रिलेतर्फ स्वर्ण जित्दा उनको कुल स्वर्ण संख्या ३ पुग्यो ।
एकै संस्करणको ओलम्पिक खेलमा १ सय मिटर, २ सय मिटर र चार गुणा १ सय मिटर रिलेमा स्वर्ण जित्ने किर्तिमान विश्वका चार खेलाडीमा मात्रै छ ।  १९३६ मा बर्लिन ओलम्पिकमा जेसे ओवेन्स, १९८४ मा लस एन्जलस ओलम्पिकमा कार्ल लेविस र २०१२ को लण्डन ओलम्पिक तथा २०१६ को रियो दि जेनरियो ओलम्पिकमा उसेन बोल्टले मात्रै यस्तो उपलब्धि हासिल गरेका छन् ।

‘ अमेरिकाका लागि १९५६ को ओलम्पिक खेलमा तीनवटा स्वर्ण दिलाउने बबी मोरोको शनिबार ८४ वर्षको उमेरमा भएको मृत्युको खबर सुनेर विश्व एथलेटिक्स जगत् गहिरो शोकमा छ ,’ विश्व एथलेटिक्स महासंघले निकालेको विज्ञप्तिमा भनिएको छ । १९५६ मा स्पोर्टस् इलुस्ट्रेटेडले मोरोलाई वर्षकै  उत्कृष्ट खेलाडी घोषित गरेको थियो । तर, १९६० को रोम ओलम्पिकका लागि उनले अमेरिकी टोलीमा स्थान बनाउन सकेनन् र एथलेटिक्स खेलबाटै सन्यास घोषणा गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप