बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाका दर्जनौं शहरमा हिंसात्मक प्रदर्शन, निषेधाज्ञा घोषणा

आइतबार, १८ जेठ २०७७, १५ : २८
आइतबार, १८ जेठ २०७७

एजेन्सी । संयुक्तराज्य अमेरिकाका प्रमुख शहरहरुमा प्रहरी दमनको बिरोधमा शनिबार विरोध प्रदर्शन तिब्र भएसँगै निषेधाज्ञा (कफ्र्यू) लगाइएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा उत्रिएका थिए । 

अशान्तिको केन्द्रबिन्दु बनेको मिनियापोलिसमा लगातार पाँचौं दिन हिंसा फैलिएको छ । भीड नियन्त्रण गर्न खटाइएका दङ्गा प्रहरीले अश्रुग्यास र हवाई फायर गरेका थिए । गत सोमबार एक निहत्था अश्वेत व्यक्तिमाथि गोरा प्रहरीले अमानवीय ढङ्गबाट हत्या गरेको भन्दै हिंसा भड्किएको हो । 

लस एन्जलस, शिकागो र एटलान्टा समेतका दुई दर्जन शहरमा मानिसहरूलाई स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरी रातभरि घरमै बस्न आदेश दिएको थियो । यहाँ नेसनल गार्डका सैनिकलाई पनि तैनाथ गरिएको थियो जुन अमेरिकी इतिहासमा बिरलै देख्न सकिने घटना हो । 

सियाटलदेखि न्यूयोर्कसम्म दशौं हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए । उनीहरुको एकमात्र माग थियो, अश्वेत युवा जर्ज फ्लोएडका हत्या आरोपी प्रहरीलाई कडाभन्दा कडा सजाय होस् र घटनामा संलग्न अरु प्रहरीलाई पनि गिरफ्तार गरियोस् । 

मिनियापोलिसका पुलिस अधिकृत डेरेक चौभिनले जर्ज फ्लोएडलाई ८ मिनेटसम्म घाँटीमा घुँडाले थिचेको हृदयबिदारक दृश्य सार्वजनिक भएपछि हिंसा भड्किएको हो । सास फेर्न छाडेपछि पनि चौभिनले झण्डै ३ मिनेटसम्म फ्लोएडको घाँटी थिचेको आरोप छ । 

लस एन्जलसमा उग्र प्रदर्शनकारीले प्रहरीको गाडीमा आगो लगाएपछि प्रहरीले उनीहरुलाई तितरबितर गर्न रबरको गोली र लाठीचार्ज गरेका थिए ।  शिकागो र न्यूयोर्क लगायतका धेरैवटा शहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका थिए । फिलाडेल्फियामा प्रदर्शनकारीले पसलका झ्यालहरुमा ढुंगामुडा गरेर तोडफोड गरेका थिए । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनियापोलिसमा भएका लुटपाट र आगजनीका लागि अति दक्षिणपन्थी समूह सक्रिय रहेको आरोप लगाएका छन् । प्रदर्शनकारीहरुले फ्लोयडको स्मृतिलाई पनि अनादर गरेको ट्रम्पले बताए । 

राष्ट्रपतिले भने, ‘हामीले एउटा अराजक सानो समूहलाई हाम्रा शहरहरू तोडफोड गर्ने छुट दिनु हुँदैन । मेरो प्रशासनले भीडको हिंसा रोक्नेछ । र हामीले यसलाई निर्मम ढंगबाट रोक्नुको विकल्प छैन ।’ 

अमेरिकी सीमा नाघेर प्रदर्शन क्यानाडाको टोरन्टो पनि पुगेको छ ।  प्रदर्शनकारीहरूले ‘अश्वेतको जीवनको महत्व छ’, ‘म सास फेर्न सक्दिन’ भन्ने जस्ता नारा अमेरिकादेखि क्यानाडासम्म लागेको छ । जर्ज फ्लोयडका भनाईहरु अहिले प्रहरी क्रुरताको नयाँ प्रतीक बनेका छन् । 

मिनेसोटाका गभर्नर टिम वाल्जले मिनियापोलिस सेन्टपल क्षेत्रमा प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन १३,००० शक्तिशाली राष्ट्रिय गार्ड (अर्धसैनिक प्रहरी) परिचालन गरिएको बताएका छन् ।  मिनियापोलिसतर्फ जाने सबै प्रमुख राजमार्गहरुमा शनिबार राति सैनिक हेलिकप्टरहरूले आकाशबाट गस्ती गरेका थिए । 

यसैबीच, अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनले संयुक्तराज्य अमेरिकाभर जारी जातीय प्रदर्शनसँगै भएको हिंसात्मक घटनाको निन्दा एवं भत्र्सना गरेका छन् । तर उनले अन्यायका विरुद्धमा आवाज उठाउने अमेरिकीहरुको अधिकार भएको बताएका छन् ।

‘यस्तो क्रुरताको विरुद्धमा प्रदर्शन गर्न अधिकार र आवश्यक दुबै हो । तर आगजनी र अनावश्यक तोडफोड जरुरी होइन । मानिसको जीवनलाई खतरामा लैजाने हिंसा हामीले चाहेको होइन । मानिसको जीवनमा अत्यावश्यक व्यवसाय बन्द हुने हिंसा अक्षम्य हो ।’ उनले एक विज्ञप्ति प्रकाशित गरी भनेका छन् । –एएफपी/Photo:AP
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप