बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चीन आक्रामक बन्दै जाँदा संकटमा हङकङ आन्दोलन

आइतबार, १८ जेठ २०७७, ११ : ५५
आइतबार, १८ जेठ २०७७

चीनको संसदबाट पास भएको राष्ट्रिय सुरक्षा कानूनले हङकङका एक तप्कामा आतंक सिर्जना गरेको छ । चिनियाँ भनाइलाईआधार मान्दा उसले कानून विभाजनलाई रोक्न तथा राज्य शक्ति, आतंककारी गतिविधि र विदेशी हस्तक्षेपलाई निगरानी गर्न ल्याइएको हो । यस कानूनबारे बिस्तृत विवरण सार्वजनिक भइसकेको छैन । तर, अमेरिकाले यस कानून लागु भएसँगै ‘हङकङको स्वायत्तता कायम नरहने’ घोषणा गरेको छ । अहिलेसम्म हङकङ १९९७ को सम्झौताअनुसार चीनअन्तर्गत ‘एक देश, दुई प्रणाली’ मा चलिरहेको छ र चीनमा कम्युनिष्ट पार्टीको एकाधिकार भएपनि यहाँ प्रजातन्त्र छ । तर, चिनियाँ सरकारले नियन्त्रण कडा गरेसँगै अहिले हङकङका प्रदर्शनकारी कसरी र केका लागि संघर्ष कायम राख्ने, प्रतिरोध संभव छ या छैन भन्ने विषयमा बहस गरिरहेका छन् । भिभियन वाङ, टिफयनी मेइ र अस्टिन राम्जीले न्युर्योक टाइम्सका लागि तयार गरेको रिपोर्ट –

हङकङका आन्दोलनकारीहरुले आफ्नो सामाजिक सञ्जालको एकाउन्ट डिलिट गर्न थालेका छन् । चीनको नयाँ नेशनल सेक्युरिटी कानूनअन्तर्गत आफ्नो म्यासेज आफूविरुद्ध प्रयोग हुनसक्छ भन्ने भय उनीहरुलाई छ । सामुहिक बहिर्गमनबारे जानकारी लिन युवा अभिभावकले इन्टरनेट प्रयोग गरिरहेका छन् ।

आयोजकहरुले र्‍यालीको योजना बनाएका थिए, तर प्रहरी अवरोध चिर्न नसक्ने देखिएपछि उनीहरुले अन्तिम समयमा यो स्थगित गरे । गत वर्ष स्थानीय सरकारको सातो लिएको तथा बेइजिङका अधिकारीहरुलाई हैरान बनाएको हङकङको आन्दोलन अहिले संकटमा छ । जुन रणनीतिले अधिकारीहरुलाई पछाडि हट्न बाध्य गरेको थियो, अहिले अचानक आक्रामक प्रहरी बल, कोरोना भाइरस महामारी र धैर्यता गुमाएर अघि बढेको चिनियाँ कम्युनिष्ट पार्टीसामु यो अपर्याप्त देखिएको छ ।

धेरै आन्दोलनकारी आफ्नो विकल्प समाप्त भएको महसुस गर्छन् । ‘यो समाप्तीको सुरुवात हो,’ स्थानीय अधिकारी तथा आन्दोलनकारी माइकल मो भन्छन् ।

हङकङमा जनअधिकार सीमित गर्नसक्ने सेक्युरिटी कानून लागु गर्ने चिनियाँ सरकारको योजनाले विकेन्द्रिकृत विपक्षी अभियानलाई आगामी कदममात्रै होइन, नयाँ भिजन नै खोज्नुपर्ने अवस्थामा पुर्‍याइदिएको छ ।

बेइजिङप्रति मात्रै जवाफदेही रहने स्थानीय सरकारको नेतृत्वलाई निशाना बनाइरहेको यस अभियानका लागि प्रजातन्त्र प्राप्ति टाढाको विषय थियो ।

तर चीनको प्रत्यक्ष हस्तक्षेपले चुनौतीहरुलाई अझै स्पष्ट बनाइदिएको छ, कसरी प्रतिरोध गर्ने,  लक्ष्य के हो र यसका लागि प्रयास गर्न सकिन्छ कि सकिदैं भन्नेसम्म भन्नेबारे थप आधारभूत हिसाब निकाल्न बाध्य बनाएको छ ।

उनीहरुको यो गणित थप कठिन बन्नेगरी आन्दोलनकारी, विद्यार्थी, शिक्षक, राजनीतिज्ञ र अभियन्ताले आफूलाई  चीन र अमेरिकाबीचको युद्धको केन्द्रमा भेटेका छन् । चीनका नेता सी जिनपिङले यस सुरक्षा कानूनलाई देशको सार्वभौमसत्ता रक्षाका लागि आवश्यक देखेका छन्, यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई जनअधिकारमाथिको उल्लंघन भन्दै हङकङलाई अमेरिकाले दिएको विशेषाधिकार शुक्रबार उनले खोसेका छन् ।

केही आन्दोलनकारहिरुले उनीहरु निरन्तर मार्च गर्ने बताएका छन्, चाहे यो काम नलाग्ने नै किन नहोस् । यद्यपी, अन्यले अब बहिस्कार वा बन्द गर्न रुचाउने बताएका छन् । केहीले चीनबाट हङकङको स्वायत्तता रक्ष ागर्न चाहेका छन्, अन्य भने पूर्ण स्वतन्त्रताका पक्षमा छन् ।

अमेरिकाले चीनमाथि दबाब सिर्जना गर्नेछ भन्ने आशा धेरलाई छ, केहीलाई उनीहरुबीचको लडाँइमा आफू गोटी भइन्छ भन्ने भय पनि छ ।

धेरै आन्दोलनकारीलाई एकै ठाउँमा जोड्ने सबैभन्दा ठूलो कुरा थकान र अपेक्षित भयावह अवस्था हो ।

आम निर्वाचनका (जसले हङकङका प्रमुख कार्यकारी र सबै कानून निर्माताका लागि प्रत्यक्ष निर्वाचनको अनुमति दिन्छ) र जवाफदेही प्रहरी फौजका लागि उनीहरुले गरेको माग महिनौंसम्मको प्रदर्शनका बाबजुद अझै पूरा भएको छैन ।

अब बेइजिङले लडाँइ सुरु गरेका बेला धेरै प्रदर्शनकारीले फेरि त्यसरी नै आन्दोलन गर्न सकिदैंन भन्ने महसुस गरेका छन् । ‘गत वर्ष हामीले सोच्नसक्ने जति सबै प्रयास गर्‍यौं,’ मजदुर संघका ३२ वर्षीय अलेक्स ट्याङले भने, ‘सायद हामी केही समयपछि केही राम्रोसँग आउनेछौं । तर यो क्षणमा मानिसहरु थाकेका छन् ।’

त्यो स्थानमा घायल अवस्थाको स्पष्ट प्रमाण देखिन्छ, जहाँ पहिले यसको शक्ति देखिन्थ्यो– सडक ।

केही साताअघिसम्म राष्ट्रिय सुरक्षा कानूनविरुद्ध सडक प्रदर्शनमा हजारौं सहभागी भए, जसले महिनौंसम्म महामारीले आक्रान्त हुँदा पनि आक्रोश कम नभएको देखिन्थ्यों । तर, सयौं हजारौंको संख्यामा प्रदर्शनकारी कम हुँदै गए । गत वर्षको मार्चपासमा सहभागी भएका झन्डै १० लाखभन्दा धेरै प्रदर्शनकारी अहिले आएका छैनन् । 

धेरै प्रदर्शनकारीहरु प्रहरीको बढ्दो दमनकारी प्रतिक्रियापछि निरुत्साहित बनेका छन् । 

गत वर्ष शान्तिपूर्ण प्रदर्शनकारीहरुलाई धेरै स्वतन्त्रता दिइएको थियो र जब दंगा सुरु हुन्थ्यो, उनीहरु घण्टौंसम्म आक्रान्त हुन्थे । प्रदर्शनकारीले ढुंगामुडा र ग्याँसओलाईन बम फालेका थिए भने प्रहरीले टियर ग्याँस र रबर बुलेटले प्रतिक्रिया दिन्थ्यो ।

अहिले, बेइजिङले नियुक्त गरेका नयाँ प्रहरी प्रमुखको कमाण्डमा रहेका दंगा नियन्त्रण अधिकारीहरुले शान्तिपूर्ण प्रदर्शनकारीमाथि पनि पानीको फोहोरा र खुर्सानीको स्प्रे हान्छन् । बुधबार संसद् भवनमा सयौं प्रहरी परिचालित भएपछि प्रदर्शनकारीले र्‍याली नै स्थगित गरे ।

बरु, उनीहरु त्यसपछि सडकमा पोखिए, त्यसपछि उनीहरुलाई प्रहरीले समुहमै नियन्त्रण लियो र केहीलाई झन्डै एक घण्टासम्म हिरासतमा राख्यो । बुधबार ३ सय ६० जनाभन्दा धेरै पक्राउ परे, अघिल्लो साता १ सय ८० जना पक्राउ परेका थिए ।

आयोजकहरुले बुझेका छन् कि केही समयका लागि आन्दोलनको मुल्य निकै चर्कौ पर्नसक्छ । ‘मेरो भित्री बुझाइमा यसले वास्तविक शान्तिपूर्ण प्रदर्शनकारीलाई आन्दोलनको अनुमति दिनसक्छ, आम मानिस बरु घरमै बस्छन्,’  कार्यान्वयनमा आउन लागेको सुरक्षा कानूनबारे मिस्टर मोले भने, ‘उनीहरु पक्राउ पर्ने र प्रहरीले दमन गर्ने भयमा हुन्छन् ।’

राष्ट्रिय सुरक्षा कानून घोषणापछि हङकङमा गुगल गर्नेहरुमाझ ‘इमिग्रेसन’ शब्दको खोजी आकाशिएको छ,  यसको अर्थ केही व्यक्ति देशै छाड्ने रणनीति खोजिरहेका हुनसक्छन् भन्ने हो ।

भविष्यमा पक्राउ पर्न सकिने डरले धेरै प्रदर्शनकारीहरुले आफ्नो टेलिग्राम (म्यासेजिङ एप जसमार्फत अन्य व्यक्तिलाई अनलाईनमा रहन प्रेरित गरियो ) एकाउन्ट डिलिट गरेका छन् ।

‘तपाईं डराउनुभयो भने तपाईले आफ्नो पूरै जीवन गुमाउनुहुनेछ,’ अत्याधिक फैलाइएको म्यासेजमा भनिएको छ,‘ तपाईंले बहादुर भएर सबैकुरा सामना गर्नुभयो भने मात्रै त्यहाँ कुनै टर्निङ प्वाइन्ट हुनेछ ।’

तर, सडक आन्दोलनको विकल्पमा जोखिम बढ्दो देखिन्छ । अभियन्ताहरुले मजदूरबीचको एकता र बेइजिङ पक्षधर उद्योग र उत्पादन बहिस्कार गर्नु प्रतिरोधको नयाँ आयाम हुनसक्ने सुझाव दिएका छन् ।

यो दृष्टिकोणलवे अगस्टमा काम गरेको थियो, जब २ सय भन्दा ठूलो संख्यामा फ्लाईटहरु स्थगित भए, ठूलो संख्यामा हवाई ट्राफिक कन्ट्रोलर्स थला परे । 

फेब्रुअरीमा कोरोना भाइरसका कारण ठूला भेला गर्न असंभव भएपनि स्वास्थकर्मीको आन्दोलनपछि मेनल्यान्ड चीनसँगका केही सीमा बन्द गर्न सरकार बाध्य भयो । केही आन्दोलनकारीहरुलाई ठूलो सामर्थ्यको सुरक्षा कानूनले युनियन र गैरसरकारी संस्थालाई निशाना बनाउँछ भन्ने भय पनि छ, अधिकांश त्यस्ता संस्थाले गत वर्ष आन्दोलन निम्त्याएका थिए । 

बिहीबार चीनको संसद्ले पारित गरेको सुरक्षा योजनामा प्रयोग गरिएको भाषा निकै फराकिलो छ, सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रिय सुरक्षामा खतरा सिर्जना गर्ने कुनै पनि काम र गतिविधिलाई दण्डित गर्नेगरी चीनले कानून लागु गर्नसक्छ । राज्य नियन्त्रित ट्याबलोइड ग्लोबल टाइम्सका अनुसार बेइजिङबारे गरिने गम्भिर ट्वीटमा पनि यो नियमले समस्या सिर्जन गर्नसक्छ ।

हङकङ र बेइजिङका अधिकारीहरुले यो नियम सीमितताभन्दा बाहिर जाने त्रासलाई खारेज गरेका छन्,  उनीहरुले हङकङको स्वायत्ततालाई समर्थन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

तर मेनल्यान्डमा कम्युनिष्ट पार्टीले चर्चका नेता, युनियनका नेता र अन्य आयोजकले राज्यको सुरक्षालाई अवमूल्यन गरेको आरोप लगाएका छन् । 

समय पनि युनियनको पक्षमा छैन । महामारीले हङकङको अर्थतन्त्रलाई थप कमजोर बनाएको छ, भर्खरै गठन गरिएका धेरै समहुमध्ये आईटीसँग सम्बन्धित कामदारको समुहका मिस्ट ताङका अनुसार बेरोजगारी उच्च भएका बेला केही कामदार बन्द–हड्ताल गर्ने इच्छामा छैनन् । विश्वव्यापी मन्दीले आयको असमानतालाई गहिरोसँग थप खराब बनायो भने आफूसँग गुमाउनका लागि थोरैमात्र छ भनेर बुझ्ने युवाहरुले यो अवस्था परिवर्तन गर्नसक्छन् ।

‘ वातावरण थप खराब हुँदै गर्दा तपाईंले उनीहरुलाई केही समय दिनुभयो भने उनीहरुले भन्नेछन्,  म कुनै हालतमा बाहिर जान्छु, यसलाई परिवर्तन गरौं,’ ताङले भने ।

स्पष्ट संकेत, बेइजिङको पछिल्लो कदमले कसरी धेरै प्रदर्शनकारीलाई आफ्नो रणनीतिबारे सोच्न बाध्य बनायो र कुनै समय अतिवादी योजना ठानिएको स्वतन्त्र हङकङ कसरी पछिल्लो प्रदर्शनमा आम बन्यो भन्ने हो ।

चीनसँगको हङकङको सांस्कृतिक र आर्थिक सम्बन्धलाई औल्याउँदै अधिकांश प्रजातन्त्र पक्षधरले स्वतन्त्रताको योजना खारेज गरेका थिए । यसको साटो १९९७ मा बेलायतले चीनलाई हङकङ फिर्ता गर्दा पारित गरिएको राजनीतिक फर्मुला ‘एक देश, दुई प्रणाली’ ले संरक्षण गरेको शहरको उच्च स्तरको स्वायत्तताको जर्गेना गर्नुपर्ने जोड उनीहरुले दिएका थिए ।

तर, अभियन्ताहरुका अनुसार बेइजिङको नयाँ धक्काले यो हैसियत कमजोर रहेछ भन्ने प्रमाणित गरिदिएको छ र यसले प्रणालीभित्रै रहेर काम गर्न सकिन्छ भन्ने सोच राखेका प्रदर्शनकारीलाई पनि जगाइदिएको छ । ‘पक्कै पनि उनीहरुमा अझै आगामी निर्वाचनमा केही आशा हुनसक्छ वा उनीहरुमा आन्दोलनको भविष्यबारे अझै आशा हुनसक्छ,’ सेप्टेम्बरमा हुने संसदीय चुनावबारे २६ वर्षीय भेन्तुस लाउले भने । यी जल्दाबल्दा आयोजक आफूलाई प्रोटेस्ट र्‍याडिकल विङ्सको सदस्य रहेको बताउँछन् ।

‘हङकङ सरकारलाई बाइपास गर्नेगरी ल्याइएको निर्लज सुरक्षा कानून ती जनताका लागि निकै राम्रो स्मरण हुनेछ । हामी अहिल्यै सर्वाधिक अँध्यारो क्षणमा छौं,’ लाउले भने, ‘ र हामी निरन्तर लड्नेछौं ।’

अझै पनि स्वतन्त्रता गह्रौं भारी र जोखिमको विषयका रुपमा कायम छ । बेइजिङले राष्ट्रिय सुरक्षा कानूनले विभाजनकारीलाई निशाना बनाउनसक्ने भनेको छ । स्वतन्त्रताको समर्थन गर्दा पदमा  निर्वाचित भएका व्यक्ति अयोग्य ठहर हुनसक्छन् । पछिल्लो समय स्वतन्त्रताको पक्षमा नारा लगााएका धेरै प्रदर्शनकारीहरु यी माग ठूलो रुपमा सांकेतिक रहेको बताउँछन् ।

‘जब म स्वतन्त्रताको माग गर्छु । मैले सामान्य रुपमा मानवअधिकार र अभिव्यक्ती स्वतन्त्रताजस्ता आफ्ना चाहना अभिव्यक्त गरिरहेको हुन्छु,’ आइतबारको प्रदर्शनमा सहभागी भएका ५० वर्षीय विन क्वानले भने, ‘हामी मार्च र प्रदर्शनमा आइरहन्छौं, तर यस्तो लाग्छ हामीले केही पाएका छैनौं ।’

धेरै आन्दोलनकारीले बताएअनुसार उनीहरुको साँचो आशा अन्तर्राष्ट्रिय समुदायमा अडिएको छ । उनीहरुलाई हङकङका जनता आफैंले चाल्ने कदमबाट बेइजिङलाई कुनै असर पर्छ भन्नेमा अब विश्वास छैन । अमेरिका र बेलायतसँग अपिल गर्नुका अलावा अन्य प्रदर्शनकारीहरुले संयुक्त राष्ट्रसंघ र युरोपेली युनियनसँग पनि कम्युनिष्ट पार्टीको निन्दा गर्न लबिङ गरेका छन् ।

यसै साता अमेरिकाले ‘हङकङलाई चीनबाट स्वायत्त क्षेत्रका रुपमा अब नहेर्ने ’ घोषणा गर्‍यो र हङकङमा धेरै आन्दोलनकारीले यसको समर्थन गरे, जबकी मेनल्यान्ड चीनलाई दण्डित गर्ने मनसायले गरिएइको यस्तो घोषणाले विश्वव्यापी कमर्सियल हबका रुपमा रहेको हङकङ शहरको अवस्थामै जोखिम सिर्जना गरिदिएको छ ।

शुक्रबार अझै अघि बढेर ट्रम्पले अमेरिकासँगको हङकङको विशेष सम्बन्ध स्थगित गर्ने तथा अर्ध–स्वायत्त क्षेत्रको स्वतन्त्रतालाई मेटाउन जिम्मेवार देखिएका चिनियाँ र हङकङका अधिकारीमाथि प्रतिबन्ध लगाउने योजना ल्याए ।

यस्तो निर्णय कम्युनिष्ट पार्टीलाई कुनै असर गर्ने देखिन्न ।

अभियन्ताले विदेशी शत्रुसँग मिलेर मेनल्यान्ड चीनविरुद्ध हङकङलाई प्रयोग गर्ने योजना बनाएको बेइजिङले देख्छ । सुरक्षा कानूनले विशेषगरी यही खतरालाई निवारण गर्न खोजेको छ ।

आन्दोलनकारीलाई थाहा छ कि उनीहरु लामो युद्धमा छन् । ‘हामीले हाम्रो जीवनकालमा नतिजा देख्न सक्दैंनौं भन्नुको अर्थ हाम्रो प्रयास गायब हुन्छ भन्ने होइन,’ आइतबारको प्रदर्शनमा सहभागी भएकी ३५ वर्षीया हाईस्कुल टिचर एलिस चानले भनिन्, ‘हामीले अहिले गर्ने सबैकुरा आउने पुस्ताका लागि आधार हो ।’

स्रोत: न्यूयोर्कटाइम्स अनुवाद : अन्वेषण अधिकारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप