शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गरिबमारा लकडाउन : होटलबाट सडकको बास

आइतबार, १८ जेठ २०७७, १० : ५७
आइतबार, १८ जेठ २०७७

बुटवल । कोरोनाभाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि सरकारले बन्दाबन्दी (लकडाउन) को घोषणा ग¥यो । लकडाउन सुरु भएयता मुलुक नै ठप्प अवस्थामा छ ।

लकडाउनको पालना गर्ने क्रममा खासगरी विपन्न परिवार त्यसको प्रत्यक्ष मारमा परेका छन् । दैनिक ज्यालादारी गरेर साँझ–बिहान छाक टार्ने वर्ग यसको चपेटामा परेका छन् । केहीलाई लकडाउनले सडकमै पुर्याएको छ ।

सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया क्षेत्रको होटलमा काम गर्दै आएका पोखराका ५८ वषीय जीतबहादुर खत्रीको कथा यस्तै छ । उनी पोखराबाट बेलहियामा आएर होलटमा काम गर्न थालेको १ वर्ष जति पुगेको छ । पोखराबाट बेलहियाका स–साना होटलमा सरसफाइ गर्ने, भाँडा माझ्ने काम गर्दै पेट पाल्दै आएका थिए ।

यही बीचमा लागू गरिएको लकडाउनले खत्रीको पेटमा सिधै लात हान्यो । लकडाउन सुरु भएको केही दिनसम्म होटल साहुले होटलमा नै राखेर खान खुवाए । लकडाउन लम्बिने देखेपछि साहुले आफ्नो होटल बन्द गरेर घरतिर लागे ।

केही दिन त जसो तसो उनले आफ्नो पेट पाले । तर बिस्तारै लकडाउनले बेलहियाका सबै होटल बन्द भए । गाडी चल्न छाडे, बजारको चहल पहल हरायो ।

गोजी रित्तन थालेपछि के काम गर्ने ? कहाँ बस्ने ? के खाने ? केही अत्तोपत्तो थिएन । त्यसपछि खत्रीको बास सार्वजनिक पाटीमा हुन थाल्यो । दिनभर यताउती मागेर खाने, अनि राति पाटीमा सुत्ने । खत्रीको पछिल्लो दैनिकी यस्तै बनेको थियो ।

वृद्ध शरीरले यसरी कति दिन मागेर खान सकोस् । गत हप्तादेखि उनी बिरामीले परे । बिरामी परेपछि मागेर खानको लागि पनि निस्कन सकेनन् ।

सडक छेउमा नै ढलेका उनलाई बाटो हिँड्नेले नदेखेका होइनन् । तर, म¥यो कि बाँच्यो, कसैले वास्ता गरेनन् ।

बिरामी भएको र हिँडडुल गर्ने अवस्थामा समेत नरहेको देखेपछि स्थानीय मनिषा कहारले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य सरोज ठकुरीलाई खबर गरे । त्यसपछि बल्ल उनको उद्धार गरेर उपचार भएको छ । अझै पनि उनलाई एउटै चिन्ता छ, निको भएपछि के गर्ने ? मरिन्छ कि बाँचिन्छ भन्ने अझै ठेगान नभएको खत्रीले बताउँछन् ।

यसरी गरियो उद्धार

कहारले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य सरोज ठकुरीलाई जेठ १३ गते फोन सम्पर्क गरेर वृद्धको अवस्थाबारे जानकारी दिएकी थिइन् । अवस्थाबारे बुझेपछि ठकुरीले सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीलाई घटनाबारे जानकारी गराउँदै तत्काल गाडी पठाउन आग्रह गरेका थिए । यता, वृद्धको अवस्थाबारे जानकारी पाएपछि सपोर्टिङ हयाण्ड नामक संस्थाका निरज बराल, अनुप भट्टराई, सुदीप पाण्डे, रोशन सिंह, असिम सैजुसँगै वृद्ध भएको ठाउँमा पुगे ।

ठकुरीका अनुसार नगरप्रमुख अधिकारी र प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीको सहयोगमा तुरुन्तै गाडी आएपछि त्यहाँबाट वृद्धलाई युनिभर्सल मेडिकल कलेज लगियो ।

त्यसपछि मेडिकल कलेजका प्रशासकीय अधिकृत तेज कुमार के.सी.को सहयोगमा वृद्धलाई अस्पताल भर्ना गरियो । अस्पतालमा उनलाई जण्डिस रोग भएको पत्ता लाग्यो । अस्पतालमा उपचार पाएपछि अहिले उनी निको भएका छन् ।

उपचार पश्चात वृद्धलाई अहिले भैरहवा भन्सार कार्यालय नजिकै राखिएको छ । सिद्धार्थनगर नगरपालिकाको सहयोगमा आर.डि.टी. परीक्षण गराइ उनको रिपोर्ट नेगेटिभ आइसकेको छ । केही दिन क्वारेन्टाइनमा राखेर बुटवल मानवसेवा आश्रममा राख्ने योजना बनाए पनि क्वारेन्टाइनका मान्छेले होहल्ला गरेर राख्न नदिएपछि बाध्यताले वृद्ध बसेकै पुरानो स्थानमा राख्नुपरेको ठकुरीको भनाइ छ । अब खत्रीको पीसीआर टेस्ट गरेपछि मानवसेवामा आश्रम लैजाने विषयमा छलफल भइरहेको ठकुरीले जानकारी दिए ।

अहिले पुरानै ठाउँमा राखेर आवश्यक हेरचारको काम भइरेहको छ । पीसीआरको रिपोर्ट आएपछि उनलाई कहाँ लैजाने तय हुनेछ । यदि पीसीआरमा कोरोना नदेखिए मानव सेवा आश्रम लगिनेछ भने कोरोना देखिए कोरोना अस्पताल लगिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप