शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बार्यनको गोल वर्षा, लगातार आठौँ उपाधि नजिक

आइतबार, १८ जेठ २०७७, ०७ : १९
आइतबार, १८ जेठ २०७७

रोबर्ट लेवान्डोस्कीको दुई गोलको मद्दतले बायर्न म्युनिखले फोर्चुना डुसेलडोर्फलाई हराउँदै शीर्ष स्थानमा १० अंकको अग्रता बनाउन सफल भएको छ । शनिबार भएको खेलमा बायर्न ५–० गोलले विजयी बनेको हो ।

बायर्नले पहिलो हाफमा नै ३–० को अग्रता बनाएको थियो । माथियास जोर्गेन्सनको आत्मघाती गोलबाट अग्रता बनाएको बायर्नका लागि बेन्जामिन पाभार्ड र लेवान्डोस्कीले एक–एक गोल गरे ।

दोस्रो हाफको सुरुवातमा लेवान्डोस्कीले थप एक गोल गर्दै आफ्नो सफल सिजनको कीर्तिमान बराबरी गरे । यो सिजन सबै प्रतियोगितामा पोल्यान्डका फरवार्डले ४३ गोल गरेका छन् । युवा खेलाडी अल्फोन्डो डेभिसले पाँचौ गोल गरे ।

अब जुनको अन्त्य सम्ममा बायर्नलाई लगातार आठौँ लिग उपाधि दिलाउनबाट रोक्न असम्भव जस्तै देखिएको छ । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डले आइतबार पुछारमा रहेको पाडेरबोर्नलाई हराए बायर्नको अग्रता सात अंकमा झार्नेछ ।

लिगमा पाँच खेल बाँकी छँदा बायर्न निकै आक्रामक देखिएको छ । सिजन पुनः सुचारु भए यता बायर्नले लगातार चौथो खेलमा जीत निकालेको छ । यसक्रममा क्लबले १३ गोल गर्दै मात्र २ गोल खाएको छ ।

२९ खेलबाट बायर्नको ६७ अंक रहेको छ । एक खेल कम खेलेको बोरुसिया डर्टमण्डको ५७ अंक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप