शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समयमै कोरोना परीक्षण र उपचार नपाउँदा संक्रमितको क्वारेन्टाइनमै गयो प्राण

आइतबार, १८ जेठ २०७७, ०७ : ०३
आइतबार, १८ जेठ २०७७

सुर्खेत/दैलेख – कर्णालीमा कोरोनाबाट पहिलो मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका– ११ खागीतडाका ३५ वर्षीय युवाको शनिबार बिहान मृत्यु भएको हो। समयमै कोरोना परीक्षण र उपचार नपाउँदा उनको मृत्यु भएको छ।

नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका १० दिनसम्म पनि ती युवाको कोरोना परीक्षण हुन सकेको थिएन। समयमै परीक्षण नहुँदा उनलाई आइसोलेसनको साटो गाउँमै रहेको क्वारेन्टाइनमा अरू ७९ जनासँगै राखिएको थियो। त्यही क्रममा शनिबार बिहान चिया खाएर सुतेका उनी ओछ्यानमै मृत भेटिएका हुन्।

समयमै पीसीआर परीक्षण नभएका कारण उनले आवश्यक उपचार नै पाउन सकेनन्। कोरोना आशंकामा उनलाई क्वारेन्टाइनबाहिर जाने अनुमति पनि दिइएको थिएन। परीक्षणमा भएको ढिलाइ र उपचारमा भएको लापरबाहीका कारण ती युवाले क्वारेन्टाइनमा प्राण त्यागेको आफन्तले गुनासो गरेका छन्। 

उनको मृत्यु भएपछि मात्र शनिबार नै स्वाब परीक्षण गरिएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा ललितबहादुर बुढा र हिक्मतबहादुर नेपालीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप