बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रङ्गभेदको आगोमा जल्दैछ अमेरिका...(फोटोफिचर)

शनिबार, १७ जेठ २०७७, १७ : १६
शनिबार, १७ जेठ २०७७

अमेरिकी राज्य मिनेसोटामा प्रहरीले घाँटी थिचेर एक निहत्था अश्वेत अफ्रिकी अमेरिकी युवक जर्ज फ्लोयडको मृत्यु भएपछि भड्किएको हिंसा देशव्यापी बनेको छ । प्रत्यक्षदर्शीका अनुसार हतकडी लगाइएका ती युवकको घाँटीमा घुँडाले बेस्सरी धेरैबेर थिचिएको थियो । शास फेर्न मुश्किल भएको भन्दै उनले याचिका गरे पनि प्रहरीले उनको कुरा सुनेका थिएनन् । ती युवक एउटा पसलमा झुटो बिल देखाएको आशंकामा पक्राउ परेका थिए ।

प्रहरी क्रुरताको नजिकैबाट एकजना बटुवाले खिचेको भिडियोमा प्रहरीले फ्लोयडको घाँटीमा घुँडा टेकेको देखाइएको छ । फ्लोयडको प्रहरी चोटपटकका कारण उपचारकै क्रममा मृत्यु भएको थियो । घाँटी थिच्ने प्रहरी अधिकृत डेरेक चौविन पक्राउ परेका छन् भने उनलाई शुक्रबार व्यक्ति हत्याको आरोप लगाइएको छ ।

अनुसन्धानका क्रममा ती प्रहरीले फ्लोयडको घाँटी करिब ८ मिनेटसम्म थिचेको देखिएको छ ।  प्रहरीको उक्त क्रुरतासँगै शुरु भएको विरोध प्रदर्शनले देशव्यापी हिंसात्मक रुप लिएको छ । बिहीबार प्रदर्शनकारीहरुले फ्योयडलाई गिरफ्तार गरेर राखिएको मिनियापोलिसको एउटा प्रहरी चौकीमा आगो लगाइदिएका छन् । प्रहरीले हिंसा नियन्त्रणमा ल्याउन हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ ।

हिंसाले उग्र रुप लिएपछि नगर प्रमुख जेकब फ्रेले स्थानीय समयानुसार शुक्रबार राति ८ बजेदेखि लागू हुनेगरी शहरभर कफ्र्यु लगाएको घोषणा गरेका थिए । तर शहरको दक्षिणी भागमा हजारौं मानिस निषेधाज्ञाको अवज्ञा गर्दै सडकमा भेला भएका थिए । शुरुमा प्रदर्शन शान्त देखिएपनि केही समयपछि उनीहरुले कारहरुमा आगो लगाइदिनुका साथै पसलहरु तोडफोड गरियो । अन्ततः भीडले शहरका धेरै ठाउँका निजी तथा सार्वजनिक सम्पत्तिमा आगो लगायो ।

यो अस्थिरता र विरोध प्रदर्शन देशव्यापी हुने क्रममा छ । वासिङ्टन डिसी, एटलान्टा, फिनिक्स, डेनभर र लस एन्जलस लगायतका ठूला अमेरिकी शहरहरूमा परिस्थिति विस्फोटक बनेको छ । प्रदर्शनमा सहभागी मिनेसोटाका २६ वर्षीय युवक बेन हुबर्टले प्रदर्शनकारीले निषेधाज्ञाको अवज्ञा गर्नु र आगजनी गर्नु सामान्य रहेको प्रतिक्रिया दिए । फ्लोएडमाथि भएको बर्बर अन्यायका बारेमा उनी भन्छन्, ‘म पनि क्रुद्ध भएको छु । म आज धेरै दुःखित छु । यति लामो समयदेखि हामीमाथि अन्याय भइरहेको थियो । यो वर्षौंदेखि जारी थियो ।’ प्रहरी चौकी घेर्न पुगेका कतिपय ‘प्रहरीलाई कारबाही गर’ भन्दै नारा लगाउँदै थिए ।

उत्तरी क्यारोलिनाको फोर्ट ब्राग र न्यू योर्कको फोर्ट ड्रमका ब्यारेकका सैनिकलाई तत्मयार रहन आदेश दिइएको छ । सेना परिचालनको आदेश जारी भएको खण्डमा चार घण्टाभित्र कार्यस्थलमा तैनाथ भइसक्ने गरी तयार रहन रक्षा मन्त्रालयले निर्देश गरेको छ ।

ट्रम्पले बिहीबार राति ओभल अफिसबाट रक्षामन्त्री एस्पर, राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायन र अन्य उच्च पदाधिकारीलाई फोन गरेका थिए । त्यसक्रममा राष्ट्रपति ट्रम्पले रक्षामन्त्री एस्परलाई मिनेसोटाको विरोध प्रदर्शन नियन्त्रण बाहिर गएको स्थितिमा द्रुत सेना परिचालनको विकल्पमाथि विचार गर्न आग्रह गर्नु भएको रक्षास्रोतले जनाएको छ । रक्षामन्त्रालय स्रोतका अनुसार राष्ट्रपतिको आदेशमा विद्रोह नियन्त्रण ऐन १८०७ अन्तर्गत सेना परिचालन हुनेछ । यसअघि यो ऐन सन् १९९२ मा रड्नी किङको सुनुवाईका क्रममा लस एन्जलसमा हिंसा भड्किएपछि लगाइएको थियो ।

मिनेसोटाका गभर्नर टिम वाल्जले राज्यका करिब ५०० राष्ट्रिय गार्ड सैनिकलाई मिनियापोलिस, सेन्ट पल र वरपरका समुदायहरूको सुरक्षाका लागि खटाएका छन् । तर पेन्टागनका एक प्रवक्ताले वाल्जले सैनिक परिचालनका लागि आदेश नदिएको दाबी गरेका छन् ।

शुक्रबार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोयडका परिवारजनलाई टेलिफोन गरी आफ्ना तर्फबाट दुःख प्रकट गरेको बताए । उनले आफूले फ्लोयडमाथि भएको प्रहरी कारबाहीको भिडियो हेरेको र त्यसमा कुनै क्षमा दिन नसकिने बताए ।  फ्लोयडको मृत्युका बारेमा राज्य र संघीय निकायहरुले विस्तृत अनुसन्धान शुरु गरेका छन् ।

सबै तस्विरहरु रोयटर्सबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप