शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘बजेटले निजी क्षेत्रलाई निराश बनायो’

शनिबार, १७ जेठ २०७७, १६ : ०९
शनिबार, १७ जेठ २०७७

काठमाण्डांै, १७ जेठ– उद्योगी व्यवसायीहरुले अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा बिहीबार संघीय संसदमा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को बजेटले निजी क्षेत्रलाई निराश बनाएको बताएका छन् । 

उद्योगी–व्यवसायीहरुको संस्था नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले बजेट कार्यान्वयन हुने आधार नदेखिएको भन्दै विरोध जनाएको हो । 

आंशिक रुपमा बजेट परम्परागत भन्दा फरक देखिन खोजेको भए पनि पम्परागत शैलीलाई क्रमभंग गर्दै युगान्तकारी बजेट ल्याउने दृष्टिकोण नदेखिएको संगठनको भनाइ छ । ‘विगतका सबै बजेटहरु कार्यान्वयन भएको भए आजसम्म देशको कायापलट भइसक्थ्यो । कहिले महत्वाकांक्षी, कहिले कर्णप्रियताका लागि कनिका छरेजस्तै, कहिले न्यून आयश्रोतमा ठूलो बजेट त कहिले स्रोत भएर पनि खर्च गर्न नसक्ने बजेटको निरन्तरताको झल्को यो बजेटले पनि देखाउँछ’, संगठनका वरिष्ठ उपाध्यक्ष डम्बरदेव अर्यालद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ ।

राजश्वको अनुमान र चालु खर्चको वास्तविकताको अंक करिब समान भएको बजेटले निर्धारण गरेका प्राथमिकता कार्यान्वयन हुन नसक्ने ठहर उनीहरुको छ । बजेटमा लक्ष्य गरिजस्तो अहिलेको अवस्थामा वैदेशिक ऋण आउने अपेक्षा गर्न नसकिने भएकाले सरकारले दाबी गरेजस्तो श्रोत नजुट्ने दाबी पनि उद्योगी–व्यवसायीको छ ।

भ्याटमा दिइएको थ्रेसहोल्ड खारेज गरी शून्य बिन्दुबाट बहुदरका आधारमा भ्याट लगाउन आफूहरुले पटकपटक दिँदै आएको सुझाव यसपटक पनि सुनुवाई नगरिएकामा उद्योगीको असन्तुष्टि छ । थेसहोल्ड नहटाइएसम्म राजश्व छली र चुहावट कहिल्यै न्यूनीकरण हुन नसक्ने र उद्योगी व्यवसायीले सधैं झण्झट व्यहोर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा स्वदेशमै बेरोजगार भएका र रोजगारी गुमाएर विदेशबाट फर्किने युवाहरुलाई रोजगार दिने कार्यक्रम पनि बजेटले दिन नसकेको भन्दै निशारा व्यक्त गरेको छ । 

यस्तै संगठनले सामुदायिक विद्यालयहरुको व्यवस्थापकीय जिम्मा निजी क्षेत्रमा विद्यालयहरुलाई सुम्पिएर शिक्षाको व्यापारीकरण गर्न खोजिएको आरोप लगाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप