शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूरा नहुन सक्छ घरमा उपाधि जित्ने लिभरपुलको सपना

शनिबार, १७ जेठ २०७७, ०९ : ४८
शनिबार, १७ जेठ २०७७

लिभरपुल फुटबल क्लब ३० वर्षपछि इंलिस प्रिमियर लिग जित्ने संघारमा छ । उपाधि रक्षाका लागि उ केवल २ जितबाट टाढा छ । 

तर घरेलु मैदान एनफिल्डमै उपाधि उचाल्ने लिभरपुलको आशा पूरा नहुनसक्छ ।  इंलिस प्रिमियर लिग १७ जुनबाट सुचारु हुने तय भइसकेको छ । यता, सुरक्षाको कारण देखाउँदै प्रहरीले कम्तिमा प्रिमियर लिगका ५ महत्वपूर्ण खेलसहित लिभरपुलको लिग उपाधि सुनिश्चित हुनसक्ने निर्णायक खेल न्युट्रल भेन्युमा खेलाउने प्रस्ताव ल्याएको छ । 

कोरोना भाइरस महामारीका कारण इंलिस फुटबलका बाँकी खेल खाली रंगशालामा हुने तय भइसकेको छ । तर रंगशालाबाहिर जम्मा हुने समर्थकहरुले खुसीयाली मनाउने क्रममा समस्या सिर्जना हुनसक्ने र सामाजिक दूरीको नियम तोडिनसक्ने प्रहरीको विश्लेषण छ ।
 
विशेषगरी लिभरपुल समर्थकबाट यस्तो भय छ किनकी लिभरपुल ३० वर्षपछि उपाधि नजिक पुगेको छ । २९ खेलबाट ८२ अंक जोडेको लिभरपुल एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २५ अंकले अघि छ । लिगमा अब लिभरपुलले ९ खेल खेल्न बाँकी छ । यस्तोमा, लिभरपुलका समर्थकहरुले अहिल्यै खुसीयाली मनाउने योजना बनाइसकेका छन् र यसबाट  सामाजिक दूरीको नियम तोडिनसक्छ भन्ने प्रहरीको ठम्याई छ । 

प्रहरीले म्यानचेस्टर सिटी विरुद्ध लिभरपुल, न्युक्यासल विरुद्ध लिभरपुल तथा एभर्टन विरुद्ध लिभरपुलको खेल न्युट्रल भेन्युमा खेलाउने इच्छा देखाएको छ । यसबाहेक जुन खेलबाट लिभरपुलले लिग उपाधि सुनिश्चित गर्नसक्छ, त्यस खेललाई पनि न्युट्रल भेन्युमा खेलाइनुपर्ने प्रस्ताव गरिएको छ । 

प्रेस एशोसियसनको रिपोर्टअनुसार म्यानचेस्टर सिटी विरुद्ध न्युक्यासल र म्यानचेस्टरविरुद्ध सेफिल्ड युनाइटेडको खेल पनि न्युट्रल भेन्युमा खेलाउन प्रस्ताव गरिएको छ । 

बेलायतमा फुटबलको सुरक्षा नेतृत्व गर्ने साउथ योर्कस्राइन प्रहरीका सहायक प्रमुख कन्स्टेवल मार्क रोबर्टसले प्रेस एशोसियनमार्फत जारी गरेको विज्ञप्तीमा भनेका छन्,‘जनस्वास्थ्यको प्राथमिकतालाई समेत ध्यानमा राख्दै यस प्रक्रियाबारे प्रिमियर लिगसँगको हाम्रो छलफल सकारात्मक छ । 

यस्तोमा, हामी फुटबलको आवश्यकता र प्रहरी परिचालनको माग कम गर्ने विषयमा सन्तुलन बनाउनेगरी सहमतिमा पुगेका छौं । बाँकी खेलमध्ये अधिकांश खेल होम एन्ड अवेकै आधारमा तय हुनेछ । सानो संख्याका केही खेल न्युट्रल भेन्युमा हुनेछ । यसमा केही विपक्षमा पनि छन् र सहमति बाँकी छ ।’

प्रिमियर लिगले पनि विज्ञप्ती जारी गर्दै सबै खेल होम एन्ड अवे प्रणालीमै गर्ने चाहना भएपनि केही खेलका लागि न्युट्रल भेन्युको संभावना रहने जनाएको छ । 

विज्ञप्तीमा भनिएको छ,‘प्रिमियर लिगको लक्ष्य संभव भएसम्म बाँकी सबै खेल होम एन्ड अवेकै आधारमा गर्ने हो । प्रहरीसँग स्थानीय र राष्ट्रिय स्तरमा सहकार्य गर्दै जोखिम मुल्याङ्कन गर्ने र कम गर्ने विषयमा हामी क्लबसँग मिलेर काम गर्दैछौं । नेशनल पुलिस चिफ काउन्सिल र युके फुटबल पुलिस युनिसँगको छलफल सकारात्मक छ र जारी छ । हामी सबै नतिजाका लागि तयार छौं र न्युट्रल भेन्यु हुनसक्ने संभावना पनि छ ।’

लिभरपुलले सम्बन्धित निकायले गर्ने निर्णय आफुलाई मान्य हुने जनाएको छ । केही प्रिमियर लिग क्लब विशेषगरी रेलिगेसनबाट बच्नका लागि संघर्षरत ब्रिगटनजस्ता क्लबले यस विषयमा आपत्ति जनाइरहेका छन् । उनीहरुलाई घरेलु मैदानको लाभ नपाउँदा रेलिगेसनबाट बाँच्ने प्रयासमा असर पर्ने चिन्ता छ । प्रिमियर लिगमा २० टोलीले कुल ९२ खेल खेल्न बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप