बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश सरकारले देखेको सपना साकार हुने चरणमा छ : मुख्यमन्त्री पौडेल

शुक्रबार, १६ जेठ २०७७, २१ : ०९
शुक्रबार, १६ जेठ २०७७

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले देखेको सपना साकार हुने चरणमा प्रवेश गरेको बताएका छन् । भीमफेदी–कुलेखानी सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदनको प्रस्तुतीकरण तथा बोलपत्र आह्वानसम्बन्धी भएको छलफलमा बोल्दै मुख्यमन्त्री पौडेलले सङ्घीय सरकारले सुरुङमार्गमा सहलगानी गर्न सहमती जनाएको विषयले आफूलाई उत्साहित बनाएको उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले परियोजनाको टेण्डर प्रक्रिया अघिका सम्पूर्ण प्रक्रिया सम्पन्न भएर टेण्डर आह्वानको चरणमा प्रवेश गरेकोमा खुशी व्यक्त गर्दै यस कार्यमा सहभागीलाई धन्यवाद ज्ञापन गरे । छलफलमा मुख्यमन्त्री पौडेलले सुरुङ निर्माणमा केन्द्र सरकारसमेत सहभागी हुने भएपछि बोलपत्र आह्वानको कामलाई दुईतीन दिन पर सार्न निर्देशनसमेत दिए । सुरुङमार्गमा सङ्घको लगानी कस्तो र कसरी हुने हो त्यसको विषयमा छलफल गरेर मात्रै टेण्डर प्रक्रियामा जाँदा उत्तम हुने उनको भनाइ थियो । 

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयालले अबको ४२ महिनाभित्र सुरुङमार्ग तयार हुने बताए । उनले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धतासहित आफूहरु क्रियाशील रहेको उल्लेख गरे । 

छलफलमा मुख्यमन्त्री पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलियाले बोलपत्र आह्वानको चरणमा पुगेकोमा खुशी व्यक्त गरे । 

त्यस्तै प्रदेशका प्रमुख सचिव तोयम रायाले काम शुरु गर्नुपूर्व नै सम्भावित जोखिमको आँकलन गरिनुपर्ने धारणा राखे । उनले सुरुङमार्ग हेर्ने छुट्टै समूह बनाएर काम गर्न तथा अन्तिम अवस्था सम्म काममा रहने प्रतिबद्धता जनाउन कर्मचारीलाई निर्देशन दिए । 

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले सुरुङमार्गको टेण्डर प्रक्रिया शुरु गर्न आफूहरु तयार भएको बताए । आजभोलि नै बोलपत्र आह्वान गर्न सकिने उनको भनाइ थियो । कार्यक्रममा सचिव भट्टले परियोजनाको बारेमा जानकारी गराएका थिए । 

कूल रु १९ अर्ब ३२ करोडको लगानीको अनुमान गरिएको सुरुङमर्गको लम्बाइ ३.२ किलोमिटरको हुने जनाइएको छ । 

उक्त परियोजनाभित्र भीमफेदीदेखि नै बाटो फराकिलो बनाएर दुईवटा सुरुङ, भीमफेदी खोलामा ५२ मिटरको र कुलेखानी खोलामा ३६ मिटरको पुल समेत बनिने जानाइएको छ । 

त्यस्तै सुरुङको कुलेखानी पट्टीको खण्डमा व्यवस्थित पार्किङ तथा मनोरम उद्यानसमेत निर्माण हुने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप