शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हतियारविहीन एक अश्वेत युवकको मृत्युपछि अमेरिकामा सडक प्रदर्शन जारी

शुक्रबार, १६ जेठ २०७७, ०९ : २१
शुक्रबार, १६ जेठ २०७७

हतियारविहीन एक अश्वेत युवकको मृत्युपछि अमेरिकामा आक्रोश चर्किएको छ । बिहीबार राति अमेरिकाका धेरै शहरमा विरोध प्रदर्शनका क्रममा तोडफोड भयो । जर्ज फ्लोइड नामका यी अश्वेत व्यक्तिको सोमबार मृत्यु भएको थियो,उनी प्रहरी नियन्त्रणमा थिए । मिन्नेसोता, मिन्नियपोलिस सडकमा भुइँमा लडेका यी व्यक्तिको घाँटीमा एक स्वेत प्रहरी अधिकारीले केही मिनेटसम्म आफ्नो घुँडाले थिचेको भिडियो अहिले भाइरल भएको छ । अन्य तीन प्रहरी अधिकारी पनि भिडियोमा देखिएका छन् ।

भिडियोमा फ्लोइडले अधिकारीहरुसँग याचना गरिरहेको देख्न सकिन्छ । आफ्नो शरीर चल्न छाड्नुअघि उनले ‘मैले सास फेर्न सकिनँ’ भन्दै चिच्याएका छन् । यस घटनापछि फ्लोइडलाई अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषणा गरियो ।

घटनामा संलग्न चार प्रहरी अधिकारीहरुलाई तत्कालै बर्खास्त गरियो । तर, फ्लोइडको परिवार, छिमेकी र अश्वेत समुदायका अगुवाहरुले उनीहरुलाई पक्राउ गर्नुपर्ने माग राखेका थिए । ‘ती अधिकारीहरुलाई तत्कालै पक्राउ गर्नुपर्छ र मानिसले तत्कालै न्याय चाहेका छन्,’ जर्जका भाई फिलोनेस फ्लाइडले सिएनएनसँग बिहीबार बिहान भनेका थिए,‘उनीहरुमाथि अभियोग चलाउनुपर्छ र मृत्युदण्डको सजाय हुनुपर्छ ।’

लगातार तेस्रो रात बिहीबार हजारौँले मिन्नियपोलिसमा न्यायको माग गर्दै प्रदर्शन गरे । उनीहरुले प्रहरी दमन र रंगभेद अन्त्य हुनुपर्ने माग गरे । प्रदर्शनकारीले जर्ज फ्लाइडको नाम लिदै ‘मैले सास फेर्न सकिँन’ भन्दै नारा लगाएका थिए  ।

यसअघि बिहीबार दिउँसो केही प्रदर्शनकारीले फ्लोइडको घटना हेरिरहेका सरकारी अधिवक्ता माइक फ्रिम्यानको हेन्नीपिन काउन्टीस्थित घरबाहिर प्रदर्शन गरेका थिए । उनीहरुले चारैजना प्रहरी अधिकारीमाथि आपराधिक मुद्दा दायर गर्न माग गरेका थिए । उनीहरुले मु्द्दा दायर नभएसम्म प्रदर्शन जारी रहने जनाएका थिए ।

फ्रिम्यानको कार्यालयले बिहीबार विज्ञप्ती जारी गर्दै ‘पछिल्लो भिडियोमा जे देखियो, त्यसबाट स्तब्ध र दुखित भएको’ जनाएको थियो । यस कार्यालयले मिन्नेसोटा अपराधी ब्युरो र एफबीआईको छानविन पूर्ण भएपछि  मुद्दा अघि बढाउनेबारे निर्णय लिने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप