शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बजेटमाथि प्रचण्ड र माधवसहितका नेताको यस्तो छ प्रतिक्रिया

बिहीबार, १५ जेठ २०७७, २२ : ०९
बिहीबार, १५ जेठ २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना महामारीको विषयम परिस्थितिमा सन्तुलित र जनतालाई राहत दिने ढंगले बजेट आएको बताका छन् । 

बजेट सिर्जनात्मक, प्रगतिशिल, जनपक्षिय र समाजवादउन्मुख ढंगले आएको उनले बताए । बजेटले सबै जनता र खासगरी निम्न वर्गका जनतालाई राहत दिने गरी आएको उनले बताए  । आन्तरिक र बाह्य ऋण सहयोग र राजस्वको अनुमान वस्तुवादी भएकाले बजेटको स्रोतहरु त्यसैबाट जुट्ने उनले बताए ।

नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले बजेटले अहिलेको आवश्यकतालाई सम्बोधन गरेको बताए । व्यापक रुपमा कोरोना फैलिरहेको बेला यसको सामना कसरी गर्ने, स्वास्थ्य समस्या कसरी सम्बोधन गर्ने, रोजारीको समस्या कसरी सम्बोधन गर्ने र कृषि क्षेत्रलाई कसरी गर्ने भन्ने कुराहरु बजेटमा सम्बोधन भएको उनले बताए । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बजेट परम्परागत रुपमा आएकाले वर्तमान समस्याको समाधान नगर्ने बताए ।

वित्तीय व्यवस्थापनको क्षेत्रमा सिद्धान्तको रुपमा ठिक रहेको उल्ले गर्दै उनले  कोरोना महामारीबाट न्यूनिकरणको लागि गरिएको व्यवस्था, व्यवसायीलाई राहत दिने, रोजगारी सिर्जना गर्ने, कृषि क्षेत्रमा प्राथमिकता दिने कुरा कार्यान्वयनमा जान कठिन हुने गरी बजेट ल्याइएको बताए । बजेट चालु आर्थिक वर्षको भन्दा कम भएको र राजस्व समेत घटेको अवस्थामा विशेष क्षेत्रलाई बढी लक्षित गरेर बजेट ल्याउनुपर्ने बताए ।

स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट ९० अर्ब मात्र रहेकोले अहिलेको परिस्थितिसँग जुध्न कठिन हुने बताए । 

पूर्व अर्थमन्त्री समेत रहनुभएका कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बजेटमा धेरै कुरा आएको भएपनि प्राथमिकतामा कुनै पनि क्षेत्र नपरेको टिप्पणी गरे  । स्वास्थ्य, रोजगारी तथा शिक्षामा आएका विषयहरु पुरानै प्रकृतिको भएको उनले बताए । कृषि क्षेत्रको विकासमा पनि खासै योजना आउन नसकेको उल्लेख गर्दै उनले प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम बढाइएको र उक्त रकम फेरी दुरुपयोग हुनेगरी ल्याइएको बताए ।

समग्रमा बजेट आश्वासन मुखि भएपनि कार्यान्वयनको दिशामा विगतको निरन्तरतालाई जोड दिएको बताए । कोरोना भाइरसबाट प्रभावित भएका क्षेत्रमा पनि राम्रोसँग, उत्साहित रुपमा काम गर्ने गरी कार्यक्रम बजेटमा समावेस नभएको उहााले बताए ।

जनता समाजवादी पार्टीका सांसद लक्ष्मण लाल कर्णले बजेटमा पुरा हुने कुनै पनि योजनाहरु नआएको बताए । कनिका छरेजस्तो बजेटमा उल्लेख भएका कुराहरु केही पनि पुरा हुने अवस्था नरहेको उहाँले बताउनुभयो । बजेटको स्रोतको मुल आधार वैदेशिक ऋण र सहयोग हुने भनेर काल्पनीक बजेट आएको उनले बताए ।

नेपाली काँग्रेसका सांसद गगन थापाले सरकारले अहिलको परिस्थितिलाई ख्याल नगरी बजेट ल्याइएको बताए । सरकारले अबको २, ३ महिनाभित्रै कोरोना पूर्ण रुपमा नियन्त्रणमा आउने विश्वासका साथ खर्च जुटाउने र खर्च गर्ने संकल्प लिएको बताए ।

कोरोनाबाट नेपाल मुक्त हुने र यसबाट हामी कही पनि प्रभावित हुँदैनौ भन्ने आत्मविश्वास राखेको बताए । कोरोना महामारीको भविष्य अहिले किटान नभएको अवस्थामा अहिलेको बजेटबाट ठूलो अपेक्षा गर्न नसकिने उनले बताए ।

नेकपा सांसद गोकुल बास्कोटाले स्वास्थ्य क्षेत्रका कर्मचारी बाहेक अन्य कर्मचारीहरु र विलासिताका क्षेत्रहरु कटौती गरिनु सकारात्मक भएको बताए । अहिलेको परिस्थितिको अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यर्कीहरुलाई प्रोत्साहन गर्दै सरकारले बजेट ल्याउनु सकारात्मक भएको उनले बताए । अन्य क्षेत्रका कर्मचारीहरुलाई केही असन्तुष्ट बनाए पनि स्वभाविक रुपमा लिनुपर्ने उनको भनाइ छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना भाइरसको महामारीबाट अर्थतन्त्रमा पारेको असरलाई कम गर्ने र नागरिकको जीवन रक्षासँग केन्द्रीत भएर बजेट आएको बताए ।

स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा झण्डै २२ अर्ब बढी बजेट विनियोजन हुनुले स्वास्थ्य क्षेत्र बढी प्राथमिकतामा परेको उनले बताए । कृषि क्षेत्रलाई आधुनिक बनाउने र ठूलो संख्यामा जनशक्ति परिचालन गर्दै रोजगारी सिर्जना गर्ने तर्फब जेट केन्द्रीत भएको उनको भनाई छ ।

मन्त्री भट्टराईले विदेशबाट फर्केका नेपालीको सीपलाई प्रयोग गरी स्वरोजगार बनाउने तर्फ बजेट उन्मुख भएको समेत बताए । सबैभन्दा धेरै धक्का परेको पर्यटन व्यवसायमा कर छुट, सस्तो ब्याजमा ऋण दिने व्यवस्था, त्यस्तै कर्मचरीको सुरक्षाका लागि कोषको व्यवस्था गरेकोले बजेट सन्तुलित रहेको भट्टराईको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप