शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीका दलित संगठनद्वारा रुकुम काण्डको भर्त्सना

बिहीबार, १५ जेठ २०७७, १७ : २८
बिहीबार, १५ जेठ २०७७

गुल्मी । गुल्मी जिल्लाका विभिन्न संघ-संस्थाहरुले रुकुम हत्याकाण्डको निन्दा गर्दै दोषी उपर कडाभन्दा कडा कार्वाहीको माग गरेका छन् । दलित साझमञ्च गुल्मीका अध्यक्ष गणेश विश्वकर्मा, नेपाली काँग्रेस दलित विभाग प्रमुख झविन्द्र विश्वकर्मा, नेपाल दलित मुक्ति संगठनको तर्फबाट सचिवालय सदस्य कृष्ण विश्वकर्मा, दलित पत्रकार संघका अध्यक्ष प्रेम सुनार, दलित महिला संघबाट अध्यक्ष कमला बराल र परियार सेवा समाजबाट लक्ष्मण परियारले आज संयुक्त विज्ञप्ती जारी गरी सो हत्याकाण्डमा संलग्नहरुलाई कडाभन्दा कडा कार्वाहीको माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ ‘अन्तरजातिय प्रेम सम्बन्धका कारण नवराज विक र उनका साथीहरु टिकाराम सुनार, लोकन्द्र सुनार, गणेश बुढामगर गरि ४ युवकहरुले ज्यान गुमाएको यस घटनाको र अरु दुईजना सञ्जु विक र गोविन्द शाही अहिलेसम्म बेपत्ता गरिएको छ भने अन्य १२ जना माथि साघातिक आक्रमण गरिएको यस घटनाले नेपालको संविधान, छुवाछुत मुक्त राष्ट्र  र नेपाल सरकार पक्ष राष्ट्र भएर हस्ताक्षर गरेको सबै प्रकारका जातिय विभेद सम्वन्धि अन्तर्राष्ट्रिय महासन्धि लगायतको उपहास भएको छ । ’

विज्ञप्तिमा रुकुमको घटनाले कानुनी राज्यमाथि प्रश्न चिन्ह खडा गरेको उल्लेख गरिएको छ । यो घटनाले मजबूत बन्दै गएको भनिएको लोकतान्त्रिक गणतन्त्रको धज्जी उडाइएको आरोप लगाउँदै समाजमा शान्ति  सुव्यवस्था, सामाजिक सहिष्णु सद्भाव र मानवअधिकारको गम्भीर उल्ङ्घघन भएको दलित संघ-संगठनहरुको ठम्याई छ ।

‘चौरजाहरी नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष डम्वरबहादुर मल्लको प्रत्यक्ष नेतृत्वमा ती युवतीका आमाबाबुसहित गाउँ नै उठाई नियोजित रुपमै घरेलु हातहतियार ढुंगामुढा गरि क्रुर तरिकाले लखेटी लेखेटी चारैतिरबाट घेरा हाली सांघातिक आक्रमण गरि केहिलाई मारेर भेरी नदिमा फालिएको र अन्यलाई भेरी नदिमा हाम्फाल्न बाध्य पारिएको र नदीभित्र पसरे पनि ढुङ्गा मुढा गरिएको यस नरसंहारमा संग्लग्नहरुलाई कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछौं’ –विज्ञप्तिमा भनिएको छ । उनीहरुले यथासक्य सत्यतत्य सार्वजनिक गर्न सरकारसँग माग गर्दै अन्यथा कडा आन्दोलनमा उत्रिने चेतावानी समेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप