शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाका मन्त्री र मुख्यमन्त्रीलाई काँग्रेसको ‘सहायक प्रवक्ता’ नबन्न चेतावनी

बिहीबार, १५ जेठ २०७७, १७ : ०९
बिहीबार, १५ जेठ २०७७

काठमाडौँ । नेपाली काँग्रेसले आफूहरुले ‘समय माग’ गरेका कारण संसदको कार्यसूचीबाट संविधान संशोधन फिर्ता नभएको स्पष्ट पारेको छ । नेपाली काँग्रेसले केन्द्रीय समितिबाटै निर्णय गर्न चाहँदा संसदको प्रक्रियालाई असर पर्नु पर्ने कुनै कारण नरहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् ।

‘महत्त्वपूर्ण राष्ट्रिय विषयमा साझा स्वामित्वबोध साथ नेपाली काँग्रेसले केन्द्रीय समितिबाटै निर्णय गर्न चाहँदा त्यसले संसदको प्रक्रियालाई असर पर्नु पर्ने कुनै कारण थिएन,’ शर्माले भनेका छन्, ‘एकातर्फ नेपाली कांग्रेसले ‘समय मागेको’ झुठको अभिव्यक्ति र अर्कातर्फ कांग्रेसको अनुरोधमा संशोधन प्रस्तावलाई कार्यसूचीबाट हटाइएको गोयबल्स शैलिको प्रोपोगन्डा प्रति हाम्रो गम्भीर आपत्ति छ ।’

उनले यस्तो गतिविधिमा सामेल कम्युनिष्ट सरकारका केही मन्त्री र एक मुख्य मन्त्रीलाई नेपाली कांग्रेसको ‘सहायक प्रवक्ता’ नबन्न चेतावनी पनि दिएका छन् ।

कोरोनाको महामारी नियन्त्रण तथा राष्ट्रियताको मुद्दामा नेपाल सरकारको भूमिका गम्भीर प्रश्नको घेरामा देखिनु दुःखद रहेको काँग्रेसले जनाएको छ । ‘बितेको डेढ साताको अवधिमा सरकारको कमजोर तयारीका कारण कोरोनाको संक्रमण तीब्र विस्तार भएको छ भने अर्कातर्फ सिमा सम्बन्धि प्रश्नमा अनुचित राजनैतिक प्रोपोगन्डाको बाटोमा सत्ता पक्ष संलग्न रहनु दुःखद छ,’ शर्माले भनेका छन् ।

उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको भूगोल नेपालको भू–भाग हुन् अतः कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ र  नेपालको निर्वाध हक ती भू–भागमा कायम हुनुपर्छ भनेर नेपाली कांग्रेसले विगत देखिनै प्रष्ट धारणा राख्दै आएको जिकिर गरे ।

ती भू–भागलाई समेटेर सरकारले सार्वजनिक गरेको नक्साका पक्षमा नेपाली काँग्रेस रहेको जानकारी सर्वदलीय बैठक मार्फत दिइ सकेको र यसबारे पार्टीले केन्द्रीय समितिको बैठकबाटै संस्थागत निर्णय गर्ने सार्वजनिक उद्घोष अनुरुप केन्द्रीय समितिको बैठक १७ जेठको अपरान्ह १ः०० बजेलाई बोलाइएको पनि शर्माले बताए  ।

राष्ट्रिय एकताको बलमा नै सिमा सम्बन्धि प्रश्नको हल गर्न हाम्रो कुटनैतिक र राजनैतिक पहलकदमिलाई सबल बनाउन सकिन्छ भन्ने नेपाली कांग्रेसको प्रष्ट धारणा रहेकोे शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप