शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा एकैदिन १२९ जनामा कोरोना संक्रमण देखियो

बुधबार, १४ जेठ २०७७, २२ : ३६
बुधबार, १४ जेठ २०७७

काठमाडौं । नेपालमा बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा  कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । कर्णाली प्रदेशको सुर्खेतका थप १५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै बुधबार एकैदिन १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 
यसअघि बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ११४ जनामा कोरोनाको संक्रमण पुष्टि गरेका थिए । केन्द्रीय स्वास्थ्य मन्त्रालयले थप १५ जना संक्रमितको बारेमा जानकारी दिन बाँकी भएपनि कर्णाली प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले पुष्टि गरिसकेका छन् । 

भारतबाट केहि दिनअघि आइ क्वारेन्टाइनमा बसेकाहरूबाट स्वाब संकलन गरेर परीक्षण गर्दा उनीहरुमा पोजेटिभ देखिएको खड्काले जानकारी दिए । उनीहरुमध्ये १३ जना सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका र २ जना चौकुने गाउँपालिकाका रहेको उनले बताए । 

उनीहरू १५ जनाकै स्वाव प्रदेश अस्पताल सुर्खेतमै जाँच गरिएको खड्काले बताए । योसँगै सुर्खेतमा कूल ३० जनामा कोरोना संक्रमण देखिएको छ । 

यसअघि बुधबारको नियमित प्रेस ब्रिफिङमा देवकोटाले दिएको जानकारीअनुसार धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै सप्तरीका हुन् । 

यसैगरी कोसी प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै झापाका हुन् । 

यसैगरी हेटौडा स्थित प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको छ । जसमा  मकवानपुरका १ र रौतहटका ७  जना  रहेका छन् । 

यसैगरी पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङका ६ जनामा संक्रमण पुष्टि भएको छ । 

यसैगरी दाङको राप्तीमा गरिएको परीक्षणमा १८ जनामा पुष्टि भएको छ । जसमा रुकुम पूर्वका ३ जना र दाङका १५ जना रहेका छन् । 

भेरी अस्पतालमा गरिएको परीक्षणमा पनि १६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै बाँकेका हुन् । 

यसैबीच आजै राष्ट्रिय जनस्वास्थ प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा सिरहाका १ जना, सिरहा घर भइ सप्तरी बस्दै आएका १ जना,  बाराका ७ जना, रौतहट घर भइ बारामा रहेका १ जना र  रौतहटका २८ जना रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप